काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

सुरेशराज न्यौपाने

काठमाडौं — वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती सबै हिसाबले सम्पन्न छ— काठमाडौंको ८ नम्बर क्षेत्र ।

तर, राजधानीका अन्य क्षेत्रमा जस्तै यहाँका नागरिकहरूका समस्याका सूची उस्तै छन्, बिग्रे–भत्केका सडक, जीर्ण ढल–निकास र अव्यवस्थित सहरीकरण । खानेपानीको अभाव त भनिसाध्य छैन । वर्षौंदेखि धारामा पानी आएको छैन । 

ट्याकंरबाट पानीको जोहो गर्नु यहाँका बासिन्दाका लागि सामान्य नै बनिसकेको छ । कमजोर सुरक्षा व्यवस्थाप्रति पनि स्थानीयको उत्तिकै चिन्ता छ । तर, स्थानीय प्रशासनले चासो नदेखाएको स्थानीयको गुनासो छ । 
उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताले यिनै समस्यालाई लिएर प्रश्न र जिज्ञासाहरू अगाडि सार्ने गरेका छन् । मंगलबार घरदैलोमा पुगेका कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशीले पनि यिनै प्रश्नको सामना गर्नुपर्‍यो । त्यसको जवाफमा जोशीले पानीको समस्या चाँडो सम्बोधन गर्ने प्रतिबद्धता जनाए । २०७०को संविधानसभामा यसै क्षेत्रबाट निर्वाचिन जोशी सम्बन्धित निकायले काम नगर्दा पानी र सडकको समस्या सिर्जना भएको बताउँछन् ।

मतदाता के भन्छन् ?
‘बाटोघाटोमा धेरै नै धूलो भयो । यहाँको समस्या भनेको बाटो नै हो । भित्री बाटाहरू फोहोर छन् । ढलको व्यवस्था राम्रो छैन । खानेपानीको पनि ठूलै समस्या छ । पाँच छ वर्षदेखि समस्या छ । सातामा मुस्किलले दुई घण्टा आउँछ । चुनावका बेला त ठूला–ठूला कुरा गर्छन् । तर, कामचाहिँ गर्दैनन् । महँगी निकै बढेको छ । अब त युवाहरूलाई भोट दिनुपर्छ जस्तो लाग्छ ।’
– जयराम केसी

‘चुनाव जितेपछि जनतासामु गरेका वाचाहरू फेरि पनि बिर्सन्छन् कि भन्ने शंका छ । यहाँको ठूलो समस्या भनेको पानी हो । मेलम्ची नआएसम्म समस्या रहन्छ भनिएको छ । तर, त्यो मेलम्ची कहिले आउने हो अहिलेसम्म ठेगान छैन । सडकको समस्या पनि उस्तै छ । शान्ति सुरक्षाको अवस्था पनि कमजोर छ । पुराना पार्टीलाई नै फेरि एकपटक अल्टिमेटम दिनेछौं ।’
– देवेश श्रेष्ठ

‘चुनावका बेला मात्र ठूला–ठूला कुरा गर्छन् । त्यसैले यसपटक त भोट नै हाल्न जाने मन नै छैन । चुनावको भोलिपल्टदेखि चटक्कै बिर्सन्छन् । प्रमुख समस्या भनेको पानी, सडक र फोहोर हो । धारो छ पानी आउँदैन । पानी मात्र ल्याइदिए पनि धेरै हुन्थ्यो । अरू शिक्षा, स्वास्थ्य त हामी आफैंले गरिहाल्छौं ।’
– वीरेन्द्र महर्जन

‘पानीको ठूलो समस्या छ । दस दिनमा एक घण्टामा आउँछ । त्यसले नपुगेर ६/७ वर्षदेखि ट्यांकरबाट किनिरहेका छौं । पानी आएन भन्यो भने मेलम्ची आएपछि ठीक हुन्छ भन्छन् । दसैंपछि आउँछ भन्थे । बाटो पनि त्यस्तै छ । चुनावका बेलाचाहिँ नमस्ते गर्न आउँछन् । तर, अरू बेलाचाहिँ केही मतलब गर्दैनन् ।’ 
– मैया शाही

‘मेलम्चीको काम नै समयमा पूरा भइदिएन । सडक खनियो तर त्यसलाई समयमा पुरिएन । अब धेरै ढिलो हुँदैन भन्नेमा मतदाता पनि विश्वस्त हुनुहुन्छ,’ जोशीले थपे । जोशीले पाँच वर्षभित्र सडकको समस्या पूरै सम्बोधन गर्ने, स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सबै नगारिकको पहुँच पुर्‍याउने, महिलाहरूमा उद्यमशीलताको विकास गर्नेलगायतका मुद्दा अघि सारेका छन् । 

खानेपानी र सडकको अवस्थाप्रति स्थानीयहरूले गरेको गुनासोलाई आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा छन् जोशीका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ । त्यसैले उनले पूर्वाधार विकाससँगै क्षेत्रलाई सांस्कृतिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । ‘वाम गठबन्धनको साझा उम्मेदवार भएकाले मूल एजेन्डा भनेको राजनीतिक स्थिरता र मुलुकलाई समृद्ध बनाउने हो,’ श्रेष्ठले भने, ‘त्यसबाहेक यो क्षेत्र सम्पदा र संस्कृतिको क्षेत्र पनि भएकाले त्यसको प्रवद्र्धन गर्नु र खानेपानी, ढल, बिजुली, सामाजिक सुरक्षा र पर्यावरणका विषयलाई सम्बोधन गर्नेछु ।’ 

कांग्रेस र एमाले परम्परागत राजनीतिक शक्ति भए पनि विवेकशील साझा पार्टीले यस क्षेत्रको मतमा हस्तक्षेप गर्न चुनावी अभियानलाई तीव्रता दिएको छ । उक्त पार्टीका उम्मेदवार पुकार बम घरदैलो र अन्तर्क्रियाहरूमार्फत् स्थानीय मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् । 

यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका १३, १५, १९, २०, २३, २४ वडा र नागार्जुन नगरपालिकाका ४ र ५ वडा पर्छन् । यो क्षेत्रमा प्रतिनिधिसभामा ९ उम्मेदवार छन् । यसअन्तर्गतका दुई प्रदेश निर्वाचन क्षेत्रका लागि २१ जना उम्मेदवार मैदानमा छन् । यो क्षेत्रमा कुल मतदाता ५० हजार ८८ छन्, जसमध्ये पुरुष २४ हजार १ सय ३१ र महिलाको संख्या २५ हजार ९ सय ५७ छ । 

 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भक्तपुर २ मा मत जोगाउने दबाबमा कांग्रेस–एमाले

मकर श्रेष्ठ, लीला श्रेष्ठ

भक्तपुर — कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले शनिबार सूर्यविनायक नगरपालिकाको १० नम्बर वडा चित्तापोलबाट घरदैलो सुरु गरे । मंगलबार उनी सिपाडोल क्षेत्रमा घरदैलोमा व्यस्त थिए । उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले सोमबारदेखि सूर्यविनायककै १ नम्बर बालकोटबाट घरदैलो सुरु गरे ।

यो क्षेत्रकी अर्की प्रतिस्पर्धी नेमकिपाकी अनुराधा थापामगर केही दिनदेखि कार्यकर्ता भेलामै व्यस्त छन् । मंगलबार बिहान उनी सिपाडोलमै कार्यकर्ता भेलामा थिइन् । 

वाम गठबन्धनका उम्मेदवार बस्नेतको सूर्यविनायकको वडा नं २/३ स्थित बालकोटको घरदैलोमा मंगलबार एमालेका झन्डा मात्रै थिए । तर, कांग्रेसको घरदैलोमा भने राप्रपाको झन्डा पनि थिए ।  भक्तपुर क्षेत्र नं २ का प्रतिपर्धीमध्ये पूर्वसभामुख ढुंगाना सबैभन्दा पाका छन् । उनका प्रतिस्पर्धी छोरा पुस्ताका छन् । ७५ वर्षीय ढुंगाना उमेरलाई परवाह नगरी बिहानदेखि बेलुकासम्म चुनावी प्रचारमै खटिने गरेका छन् । मंगलबार पनि बिहान साढे सात बजे नै उनी चुनावी प्रचारका लागि जगाती पुगिसकेका थिए । उनी मोटरसाइकलमा अघिअघि थिए भने कार्यकर्ता पछिपछि भोट माग्दै हिँडेका देखिन्थे ।

४३ वर्षीय बस्नेत भने कार्यकर्ताको अघिल्लो पंक्तिबाट आफूले नचिनेको भए पनि हात हल्लाउँदै सम्बोधन गर्थे । ३६ वर्षीया अनुराधा थापामगरले भने भेटघाटको क्रममा आफ्नो पार्टीले क्षेत्र नं २ मा कांग्रेस उम्मेदवारलाई सघाउने हल्ला सुनेपछि त्यसलाई चिर्न मंगलबार दिउसो अध्यक्ष नारायणमान बिजुक्छेलाई साथमै राखेर पत्रकार सम्मेलन गरिन् । ‘हामीले कसैलाई समर्थन गरेका छैनौं, हाम्रो उम्मेदवारलाई सशक्त देखेपछि आत्तिएर यस्तो हल्ला चलाइएको हो,’ बिजुक्छेले भने । 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रमा नेमकिपाले जितेको थियो । ०७० को संविधानसभा निर्वाचनमा भने कांग्रेसका रामेश्वर ढुंगेलले २१ हजार १ सय २१ मत ल्याएर जितेका थिए । १७ हजार ४ सय ११ मत ल्याएर नेमकिपाका सुनील प्रजापती दोस्रो र १६ हजार २९ मत ल्याएर बस्नेत तेस्रो भएका थिए । यसपालि सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका मात्रै भक्तपुर क्षेत्र नम्बर २ मा पर्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने क्षेत्र नम्बर २ को सूर्यविनायक र मध्यपुर नगरपालिकामा एमाले उम्मेदवारले २६ हजार १ सय ३५ मत ल्याए । मध्यपुरमा नेमकिपा र एमालेले तालमेल गरेर १४ हजार मत ल्याएका थियो । दुवै नगरपालिकामा माओवादीको २ हजार ६ सय १६ मत ल्याएका थिए । कांग्रेसले एक्लैले दुवै नगरपालिकामा २१ हजार ११ मत ल्याएको थियो । राप्रपाले २ हजार ५ सय ९७ मत ल्याएको थियो । 

स्थानीय निर्वाचनको मतअनुसार यो क्षेत्रमा वाम गठबन्धन अगाडि देखिन्छ । लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन ५ हजार १ सय ४३ मतले अगाडि छ । मध्यपुरमा स्थानीय निर्वाचनमा एमाले र नेमकिपा गठनबन्धन थियो । मध्यपुरमा नेमकिपाको उपमेयरका उम्मेदवारले ८ हजार १ सय ५७ र सूर्यविनायकमा २ हजार २ सय ८० मत पाएका थिए । यो आधारमा २ नम्बर क्षेत्रमा नेमकिपा अन्यको तुलनामा पछाडि देखिन्छ । सूर्यविनायक नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार विष्णुराज कार्कीले स्थानीय निर्वाचनमा एमाले र नेमकिपाको तालमेलले मतअन्तर देखिएको बताए । ‘स्थानीयमा हामी एक्लै लडेका हौं,’ उनले भने, ‘त्यसैले हाम्रो कम र वाम गठबन्धनको बढी देखिएको हो । स्थानीय र प्रतिनिधिसभाको निर्वाचन फरक भएकाले स्थानीयमा पाएको मतले खासै अर्थ राख्दैन ।’ 

दुई दशकपछि पुन: राजनीतिमा सक्रिय भएका ढुंगानाले उम्मेदवारी दिएसँगै यो क्षेत्र चर्चामा छ । ०४८ को निर्वाचनमा ढुंगानाले काठमाडौं क्षेत्र नम्बर २ बाट मल्ल के सुन्दरलाई पराजित गरेका थिए । वरिष्ठ अधिवक्ता ढुंगाना सभामुखबाट हटेपछि मानव अधिकार क्षेत्रमा सक्रिय भए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिकासमेत निर्वाह गरे । काठमाडौं विश्वविद्यालयका बोर्ड अफ ट्रस्टिजका सदस्यसमेत रहेका उनले जनतालाई विकास पुर्‍याउने प्रजातन्त्रका लागि आफू निर्वाचनको मैदानमा उत्रिएको बताए । ‘सुरक्षित लोकतन्त्र र युवा पुस्तालाई आत्मनिर्भर बनाउन मेरो प्रमुख भूमिका हुनेछ,’ उनले भने । २३ वर्षपछि राजनीतिमा आउनुको मुख्य कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु भएको उनले बताए । उनी ०४७ को संविधान सुझाव आयोगका सदस्य पनि हुन् । 

बस्नेत २०५४ को स्थानीय निर्वाचनमा २३ वर्षको उमेरमा भक्तपुर गुन्डु गाविसको अध्यक्ष निर्वाचित भएपछि देशकै कान्छो गाविस अध्यक्षका रूपमा चर्चामा थिए । भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र कांग्रेसको दबदबाबीच गाविस अध्यक्ष बनेका बस्नेत २०६७ मा युवा संघको केन्द्रीय अध्यक्ष बनेका थिए । सुशील कोइराला सरकारमा उनी उद्योगमन्त्री थिए । ‘यसपालि चुनाव जितें भने भक्तपुरलाई नमुना सांस्कृतिक नगरीमा ढाल्ने थुप्रै योजनाहरू छन्,’ उनले भने । उनले आफू उद्योगमन्त्री भएका बेला भक्तपुरको विकासमा योगदान गरेको भन्दै त्यसकै आधारमा पनि मतदाताले आफूलाई पत्याउने दाबी गरेका छन् । 

नेमकिपाकी थापामगर पनि पार्टीको भ्रातृ संगठनबाटै चर्चामा आएकी हुन् । ०५९ मा नेक्राविसंघ भक्तपुर जिल्ला समिति र ०६३ मा केन्द्रीय समितिमा पुगेकी अनुराधा २०७० मा क्रान्तिकारी महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् । त्यसै वर्ष उनी पार्टीको केन्द्रीय वैकल्पिक सदस्यमा निर्वाचित भइन् भने अर्को वर्ष महिला संघको अध्यक्ष बनिन् । ०७० को संविधानसभामा उनी समानुपातिकबाट सभासद थिइन् । संसद्मा स्पष्ट वक्ताको रूपमा उनी चिनिइन् । महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सदस्य उनले एमाले, कांग्रेस र माओवादीका सांसदहरू स्वार्थका आधारमा कानुन बनाउन चाहँदा चर्को विरोध गर्थिन् । मेडिकल कलेजको स्थलगत अध्ययनपछि बनाएको प्रतिवेदन कलेज सञ्चालकलाई फाइदा हुने गरी सुझाव दिन लागेको भन्दै उनले विमति जनाएर प्रतिवेदनमा हस्ताक्षरसमेत गरिनन् । 

यी तीनसहित भक्तपुर क्षेत्र नं २ मा १३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयका अनुसार मालेबाट वसन्तबहादुर खत्री, जनमोर्चाबाट शिवहरि खनाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ताराकुमारी बास्कोटा, राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ, विवेकशील साझाबाट शशिबिक्रम थापा, नयाँ शक्ति पार्टीबाट राम खाइजू र नेपाल दलित पार्टीबाट कमला बर्देवा उम्मेदवार छन् । त्यसबाहेक सुरेन्द्र था श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, धर्मराज थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

पुरुषभन्दा महिला मतदाता बढी
८३ हजार ९ सय ३२ जना मतदाता रहेको भक्तपुर २ मा ४० हजार ७ सय ६७ जना पुरुष छन् । पुरुषको तुलनामा २ हजार ३ सय ९३ जना बढी महिला मतदाता छन् । त्यस्तै यो क्षेत्रमा ५ जना तेस्रोलिंगी छन् । यो क्षेत्रमा ४० मदतान केन्द्र रहेका छन् । यसमध्ये सबैभन्दा बढी कौशलटारको जनप्रेमी आधारभूत विद्यालय केन्द्रमा ५ हजार ५५ जना मतदाताले मतदान गर्नेछन् । 

भक्तपुर २ नम्बर क्षेत्रमा उमेरको आधारमा विश्लेषण गर्दा २५ देखि ४० वर्ष उमेर समूहका मतदाता बढी पाइएको छ । ८३ हजार मतदातामध्ये यो उमेर समूहका ३७.१८ प्रतिशत अर्थात् ३१ हजार २ सय ८ मतदाता छन् । त्यसमा पुरुष १४ हजार र महिला १६ हजार छन् । १८ देखि २४ उमेर समूहका मतदाता १० हजार ७ सय २९, ४१ देखि ६० उमेर समूहका मतदाता २९ हजार ९ सय ५५ छन् । ६१ देखि ७५ वर्ष उमेर समूहका मतदाता ९ हजार र ७५ भन्दा बढी उमेरका मतदाता सबैभन्दा कम २ हजार ७ सय ३८ जना मात्रै छन् । 

मध्यपुरभन्दा सूर्यविनायकमा ५ हजारभन्दा बढी मतदाता छन् । निर्वाचन कार्यालयका अनुसार सूर्यविनायकमा ४४ हजार ८७ मतदाता छन् भने मध्यपुरमा ३९ हजार ९ सय ३२ मतदाता छन् । 

 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT