२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सरकारको संरक्षणमा उम्मेदवारमाथि आक्रमण : एमाले

उम्मेदवारलाई सुरक्षा दिन माग
कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा (एमाले)ले उम्मेदवारहरुमाथि आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै सुरक्षा दिन सरकारसँग माग गरेको छ ।

सरकारको संरक्षणमा उम्मेदवारमाथि आक्रमण : एमाले

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेको भन्दै सुरक्षा माग गरेको हो । कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार निकालेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर–१ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि मंगलबार बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी–३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

एमालेले सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू भइरहेको समेत आरोप लगाएको छ । 'वामपक्षीय गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेसले अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ, हाम्रो पार्टीका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको छ' विज्ञप्तिमा भनिएको छ 'सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छौं ।'

'चुनावी अभियानमा अवरोध पुर्‍याउन भएको आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ', विज्ञप्तिमा भनिएको छ, 'सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो घटना क्रमले देखाएको छ ।'

सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव समूहको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको छ । यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्था सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारसमक्ष आग्रह गरिएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?