१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सचिव सरुवाले उच्चस्तरीय बैठक प्रभावित, ओली बैठक छोडेर नेपाल फर्किंदै

अब्दुल्लाह मियाँ

बोन (जर्मनी) — जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष मुलुकहरुको बैठकमा भाग लिइरहेका वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको सरुवाले नेपालको प्रतिनिधित्व प्रभावित बनेको छ ।

सचिव सरुवाले उच्चस्तरीय बैठक प्रभावित, ओली बैठक छोडेर नेपाल फर्किंदै

गत सातादेखि बोनमा जारी जलवायु परिवर्तनसम्बन्धी बैठकमा नेपालका तर्फबाट भाग लिइरहेका बेला सोमबारको मन्त्रिपरिषद् बैठकले सचिव ओलीको पशुपंक्षी विकास मन्त्रालयमा सरुवा गरेको थियो ।

सरकारकै तर्फबाट बैठकमा भाग लिइरहेका बेला सचिवको सरुवा गरिएपछि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक प्रभावित बनेको हो । सचिव ओलीले उच्चस्तरीय बैठकमा भाग लिँदा नैतिक प्रश्न उठ्ने भएकाले बुधबारदेखि कुनै पनि बैठकमा भाग नलिने बताएका छन् । जलवायु सम्मेलनमा बुधबारदेखि उच्चस्तरीय बैठक सुरु भएको छ । बैठकमा भाग लिन वातावरणमन्त्री मिथिला चौधरी पनि यहाँ आएकी छन् । सचिव ओलीले भने अन्यायपूर्वक सरुवा गरिएको भन्दै बिहीबार नेपाल फर्किन लागेको जानकारी गराएका छन् । ‘कुनै बैठकमा भाग लिन्न भनेर मैले मन्त्रीज्यूलाई जानकारी दिइसकें,’ सचिव ओलीले कान्तिपुरसित भने, ‘राष्ट्रसंघीय बैठकमा भाग लिइरहेका बेला भएको सरुवाले अन्याय भएको छ, यो इथिकल होइन ।’

बुधबार बिहान नेपालसमेत सदस्य रहेको अति कम विकसित मुलुकहरुको समुह (एलडीसी)को उच्चस्तरीय बैठक भएको थियो । बैठकमा सचिव ओलीले भाग लिएनन् । बैठकमा मन्त्री चौधरीसहित योजना आयोगमा वन र वातावरण हेर्ने सदस्य डा.प्रभु बुढाथोकी र मन्त्रालयका सहसचिव डा.रामप्रसाद लम्साललगायतले भाग लिए । राष्टसंघीय बैठकमै भाग लिइरहेका बेला भएको सचिव सरुवाले जलवायु परिवर्तनसम्बन्धी वार्तामै ठेस पुगेको बैठकमा सहभागी नेपाली वार्ताकारहरुले टिप्पणी गरेका छन् । 'सरुवा गर्ने हो भने बैठकमै भाग लिन पठाउनु हुन्थेन', एक सहभागीले भने, 'यसले मुलुककै बेइज्जत भएको छ, वार्ता प्रभावित बनेको छ ।'

प्रकाशित : कार्तिक २९, २०७४ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?