कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रुकुम पूर्व : यस्तो छ कान्छो जिल्ला

कान्छो जिल्लाका सिडियोलाई भ्याइनभ्याई
काशीराम डाँगी/हरि गौतम

रुकुमकोट, रुकुम (पूर्व) — मुलुककै ‘कान्छो जिल्ला’ रुकुम पूर्वका लागि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर एक महिनाअघि रुकुमकोट आइपुगेका भुपेन्द्र सोपकोटालाई आजभोलि राजनीतिक दल, अगुवा, समाजसेवी तथा सरकारी अधिकारीसँग भेटेर छलफल चलाउन भ्याइनभ्याई छ । नयाँ जिल्लालाई कस्तो बनाउने भन्ने विषयमा सरकारी कर्मचारीको नेतृत्व सम्हाल्दै उनी दैनिकजसो व्यस्त भइरहन्छन् ।

रुकुम पूर्व : यस्तो छ कान्छो जिल्ला

सरकारले प्रजिअको जिम्मेवारीसहित सिंगो रुकुमबाट अलग पारिएको पूर्वी रुकुमको दुर्गम गाउमा प्रजिअ सापकोटालाई पठाएपछि उनीमाथि अड्डा अदालतसहित सरकारी निकायको स्थापना गर्न र तिनलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारी थपिएको हो । ‘कुनै पनि संरचना नै नभएको ठाउमा प्रजिअका रुपमा आएपछि दैनिक रुपमा खट्नु परेको छ ।’ जिल्लाकै प्रशासनिक संयन्त्र संचालन गर्न जुटेका प्रजिअ सापकोटा भन्छन्, ‘स्थानीयको सहयोग र सरकारी निकायको समन्वयमा नयाँ जिल्ला निर्माण गर्न कस्सिएका छौं ।’

२०७२ असोज ३ मा जारी भएको नेपालको संघीय संविधानको अनुसूचीमा साविकको रुकुमलाई दुई भागमा राखियो । त्यसको दुई बर्षपछि गत असोज १८ गते रुकुम पूर्व नाम दिएर नयाँ जिल्लाको गठन गरियो । सरकारको त्यसै निर्णय अनुसार असोज १९ मा नै जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी कार्यालय राख्नेगरी उद्घाटन समेत गरियो । संविधानमा उल्लेखित उक्त प्रावधान अनुसार साविकको नवलपरासीलाई पनि टुक्र्याएर दुई जिल्लामा विभाजित गरियो । रुकुम र नवलपरासीलाई टुक्र्याएर बनाइएका दुई जिल्लाहरु रुकुम पूर्व र नवलपरासी पूर्व (नवलपुर) सहित मुलुकमा अहिले ७७ वटा जिल्ला कायम गरिएको छ ।

कान्छो जिल्ला रुकुम पूर्वलाई नमुना जिल्ला बनाउनेबारे जनप्रतिनिधि, सैनिक अधिकारीसित छलफल गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटा । तस्विर : काशीराम/कान्तिपुर ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मंसिर १० र २१ मा गरी दुई चरणमा सम्पन्न गर्ने सरकारको निर्णय अनुसार रुकुम पूर्वमा पहिलो चरण अर्थात १० मंसिरमै निर्वाचन हुदैछ । नयाँ जिल्लामा एकातिर निर्वाचनको चटारो छ भने अर्कोतिर नयाँ जिल्ला निर्माण गर्ने हतारो । ‘सबै काम एकैचोटि गर्नुपर्दा खटनपटन बढेको छ’ प्रजिअ सापकोटाले भने, ‘तैपनि सबै काम नगरी नभएको छैन । सबैको साथ पाइएको छ ।’

नयाँ जिल्ला निर्माण गर्ने प्रक्रिया थालेपछि जिल्ला प्रशासनसहितका सरकारी कार्यालय स्थापना गर्ने निर्णय भएको हो । प्रशासनसहित अदालत, प्रहरी, सरकारी वकिल, निर्वाचन, कोष तथा लेखा नियन्त्रणको कार्यालय र जन स्वास्थ्य कार्यालय स्थापना गर्ने सरकारी निर्णय भएको छ । पहिलो चरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला निर्वाचन कार्यालय स्थापना गरिएको छ । प्रजिअ सापकोटाका अनुसार दरबन्दी अनुसार कर्मचारी अपुग भएपनि सरकारी कार्यालय स्थापना गर्नु नै मुख्य काम भएको छ ।

नयाँ जिल्लाको सदरमुकाम राखिएको रुकुमकोट निकै पुरानो वस्ती हो । नयाँ जिल्ला निर्माण गरेर रुकुमकोटमा सदरमुकाम राख्ने सरकारी निर्णयपछि स्थानीय निकै खुशी भएका छन् । ‘यही गाउमा सदरमुकाम पाउदा हामी खुशी भएका छौं ।’ सदरमुकाम रहेको सिस्ने गाउपालिकाकी प्रमुख कुमारी बराल गौतमले भनिन्, ‘तर नयाँ जिल्ला कस्तो र कसरी बनाउने भन्ने चुनौती हाम्रा काँधमाथि थपिएको छ ।’ नयाँ जिल्लालाई नमुना जिल्ला बनाउने योजनासहित जनप्रतिनिधिसँग नियमित छलफलमा रहेको उनी बताउछिन् ।

सदरमुकाम रहेको रुकुमकोट समेत पर्ने सिस्ने ५ का वडा अध्यक्ष शान्तबहादुर विश्वकर्माले नमुना जिल्ला बनाउन सबै क्षेत्रको सुझाव संकलन गर्न लागिपरेको बताउछन् । स्थानीयदेखि केन्द्रीय राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र छलफलमा रहेको बताउदै उनले भने, ‘भूगोलमा सानो भएपनि चिटिक्क र विकसित नमुना जिल्ला बनाउन सबैबाट सुझाव आएको छ ।’ नयाँ जिल्लाका पहिलो प्रजिअ सापकोटाले प्रशासनिक क्षेत्रसहित सबै क्षेत्रको साथ पाए नमुना जिल्ला बनाउन सकिने योजना सुनाए । नयाँ जिल्लामा पर्यटकीय क्षेत्र सिस्ने हिमाल, कमल दह र ढोरपाटन सिकार आरक्षण क्षेत्र समेत पर्छन् । उक्त आरक्षण केन्द्रको ५८ प्रतिशत भूभाग रुकुम पूर्वमा पर्छ । यस जिल्लालाई बीच भाग पार्ने गरी निर्माणाधीन मध्यपहाडी लोकमार्ग पूर्वको बाग्लुङबाट पश्चिमको रुकुम पश्चिम हुदै निर्माण गरिएको छ । जिल्लामा सबै स्थानीय तहमा सडकको पहुँच समेत विस्तार भइसकेको छ ।

नयाँ जिल्ला र त्यसको सदरमुकाम एकैचोटि पाउदा स्थानीय निकै खुशी भएका छन्, त्यो पनि विशेष कारणसहित । पुरै रुकुम जिल्लाकै सदरमुकाम गुमाएको ४३ वर्षपछि पुन: नयाँ जिल्ला र त्यही ठाउमा सदरमुकाम पाउदा स्थानीयको खुशी थामिनसक्नुको छ । ‘उतिबेला हामीले सदरमुकाम मात्रै गुमाएका थियौं, अहिले त नयाँ जिल्ला पनि पाएका छौं’ ती पुराना दिन सम्झदै वडा अध्यक्ष विश्वकर्मा भन्छन्, ‘अब सबै लागिमिली नयाँ जिल्लालाई नमुना बनाउछौं ।’ उनका अनुसार मुसीकोटमा सारिएको सदरमुकाम माग्न गएका बेला प्रहरीको गोली लागेर रुकुमकोटका मनवीर थापाको मृत्यु समेत भएको थियो । ‘दुई क्षेत्रबासीका बीच भएको द्वन्द्वले लामो समयसम्म असर गरिरह्यो । त्यसले विकासमा समेत पछि पार्‍यो ।’ उनले भने, ‘अहिले सरकारले हामीलाई नयाँ जिल्ला दिएपछि न्याय मिलेको अनुभूति भएको छ ।’

नयाँ जिल्ला रुकुम पूर्व मा पहिलो पटक सेना पुगेको छ । नेपाली सेनाको रोल्पास्थित खड दल गणले १ सय जना सेनाको टोलीलाई मंगलबार हेलिकप्टरबाट रुकुमकोट पठाएको छ । तस्विर : काशीराम/कान्तिपुर ।

खामभाषी मगरको बाक्लो बसोबास रहेको नयाँ जिल्ला रुकुम पूर्वमा तीन वटा स्थानीय तह मात्र पर्छन् । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका गरी तीन स्थानीय तह रहेको रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता छन् । सदरमुकाममा मात्रै १६ हजार बढी जनसंख्या छ । प्रदेश सभा सदस्य तर्फ २ निर्वाचन क्षेत्र छन् । जस अन्तर्गत क निर्वाचन क्षेत्रमा पुथाउत्तरगंगा गाउँपालिका पूरै र भूमेका ५ वटा वडा पर्छन् भने ख निर्वाचन क्षेत्रमा सिस्ने गाउँपालिका पूरै र भूमे गाउँपालिकाका ४ वटा वडा पर्छन् । सिस्नेमा ८ वटा, भुमेमा ९ र पुथाउत्तरगंगामा १४ वटा वडा रहेका छन् । सबै क्षेत्रलाई जोड्नेगरी १ करोड लगानीमा पोदर्नादेखि काजिन्द्रासम्म रिङरोड निर्माण प्रक्रिया थालिएको छ ।
नयाँ जिल्लामा निर्वाचन केन्द्रित खटाइए सुरक्षा अंग
मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि नयाँ जिल्ला रुकुम पूर्वमा पहिलो पटक नेपाली सेनाले स्थायी सुरक्षा बेस स्थापना गरेको छ । नयाँ जिल्लाको सुरक्षा नेतृत्व गर्ने गरी रोल्पास्थित नेपाली सेनाको खडदल गणले सेनानीको नेतृत्वमा नेपाली सेनालाई खटाएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले सेनाले खडदल गणबाट करिब १ सय सेनाको टुकडी स्थापना गरिएको बताए । ‘निर्वाचन सुरक्षा र नयाँ जिल्लामा सुरक्षा संयन्त्र स्थापना गर्ने उद्देश्यले सेनाको टोली आएको हो ।’ प्रजिअ सापकोटाले भने । नेपाली सेनाले खडदलको मुख्यालय रहेको रोल्पाको लिबाङबाट सेनालाई हेलिकप्टर मार्फत् मंगलबार दिनभर रुकुमकोट ओसारेको थियो । नयाँ जिल्लामा पहिलो पटक सेना पुर्‍याउन खडदलका गणपति प्रमुख सेनानी अजय गुरुङसहित ४ नं वाहिनी नेपालगञ्जका वाहिनीपति सहायक रथि अनन्त कार्कीसमेत रुकुमकोट पुगेका थिए । त्यहा पुगेका सैनिक अधिकारीले स्थानीयसँग अन्तरक्रिया एवं छलफल समेत गरेका थिए ।
सदरमुकाम रुकुमकोटमा मुख्य बेस क्याम्प रहने गरी नेपाली सेनालाई स्थानीय सिस्ने गाउपालिकाले करिब ७० रोपनी जग्गा उपलब्ध गराएको छ । गाउपालिकाकी प्रमुख कुमारी बरालले गाउ कार्यपालिकाको निर्णयपछि सेनालाई चाहिएको जग्गा नि:शुल्क उपलब्ध गराइएको बताइन् । सेनानी विकास अधिकारीको नेतृत्वमा रुकुमकोट पुगेको सेनाको टोली हाल स्थानीय स्वास्थ्य चौकीमा बसेको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ सापकोटाका अनुसार यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा सयन्त्रको स्थापना गरिसकिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?