२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महाँकालमा राष्ट्रिय पोसाक घोषणा

ललितपुर — महाँकाल गाउँपालिकाको औपचारिक पोसाकमा बिहीबार राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरिएको छ । महाँकाल गाउँपालिका र श्रद्धावान् नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

महाँकालमा राष्ट्रिय पोसाक घोषणा

राष्ट्रिय पोसाक घोषणापछि अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात् गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन् । मुलुकको सिंगो पहिचान र राष्ट्रियता बोकेको पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोलीलाई संरक्षण गर्दै यस गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरूले जाति, धर्म र क्षेत्रभन्दा माथि उठी बिहीबार अनिवार्य रूपमा राष्ट्रिय पोसाक लगाउने तथा संरक्षण गर्ने घोषणा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानसेनापति महारथी रुक्मांगद कटवालले दौरा सुरुवाल, टोपी र गुन्युचोली हराउँदै जानु भनेको 
मुलुकको राष्ट्रियता लोप हुनुसरह भएको बताए । ‘मुलुकको पहिचान गुम्नु भनेको राष्ट्रियता गुम्नु हो,’ उनले भने, ‘राष्ट्रिय पोसाक हाम्रो संस्कृति पनि हो, यसलाई संरक्षण संवद्र्धन गर्नुपर्छ ।’

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले धेरै समयको प्रयासपछि महाँकाललाई राष्ट्रिय पोसाक घोषणा गर्ने अवसर मिलेको बताए । ‘यो कुनै जातीयतासँग सम्बन्धित छैन,’ उनले भने, ‘नितान्त राष्ट्रियतासँग सम्बन्धित छ ।’ श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द मानव्यले मुलुकको इतिहास र पहिचान बोकेको राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली पुर्खाहरूको वीरताको चिनो भएको बताए । ‘यो हाम्रो ऐतिहासिक सान, मान र सम्मान हो,’ उनले भने । 

 

प्रकाशित : मंसिर १, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?