कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] रौतहटमा बम बिष्फोट, ९ घाइते, ४ को अवस्था गम्भीर

पवन यादव

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर अगाडि शनिबार अपरान्ह भएको बम विष्फोटमा परी घाइते हुनेको संख्या नौ पुगेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

[अपडेट] रौतहटमा बम बिष्फोट, ९ घाइते, ४ को अवस्था गम्भीर

घाइते हुनेमा चन्द्रपुर ५ चिडिया दहकी ३१ वर्षीया सरिता राई, उनका ७ वर्षीय छोरा जैविक राई, सोही ठाउँ बस्ने ४५ वर्षीया लक्ष्मी राई, ४८ वर्षीया कुन्ता खत्री, चन्द्रपुर ४ प्रगती टोलकी ४८ वर्षीया यमुना काफ्ले, चन्द्रपुर ५ का ५५ वर्षीय रामबहादुर विक, ४९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, रनमाया भनिने कलकी राई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी शान्तिराज कोईरालाले बताए ।

घाइतेमध्ये सरिता, उनका छोरा जैविक, लक्ष्मी र कुन्ताको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । चन्द्रपुर अस्पतालको प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको डिएसपी कोईरालाले बताए ।

अर्का घाइतेहरु यमुना काफ्ले र कलकी राईको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । तीन घाइते उपचारपछि घर फर्केका छन् ।

वाम गठबन्धले आयोजना गरेको चन्द्रपुर वडा नं. ५ को वडास्तरिय भेलामा सहभागी भएर खाजा खाने क्रममा कार्यक्रमस्थलमा बम बिष्फोट भएको थियो ।

बिहान साढे ११ बजेदेखि सुरु भएको कार्यक्रम करिब साढे २ बजे सकिएको थियो । कार्यक्रम सकिएर कार्यकर्ताहरु खाजा खाने क्रममा बिष्फोट भएको हो ।

‘सबै जना खाजा खाने धुनमा थियौं,’ घाइते मध्येकी एक सरिताले भनिन्, ‘एक्कासी भएको विष्फोटसँगै चारैतिर अध्याँरो भयो ।’

कार्यक्रममा एमालेका नेता पुर्व सांसद रामकुमार भट्टराई, केन्द्रिय सदस्य कल्याणी खडका, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एकराज थापा, माओवादीका जिल्ला संयोजक समिर भट्टराईलगायत नेताहरुले सम्बोधन गरेका थिए ।
वामगठबन्धनको कार्यक्रमलाई लक्षित गरी प्रेसर बम विष्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए ।

‘घटनाप्रति हामी अति संवेदनशील छौं,’ उनले भने, ‘थप सुरक्षा सतर्कता अपनाएका छौं ।’ बम कसले राखेको हो खलेको छैन ।

प्रकाशित : मंसिर २, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?