कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोगको कल सेन्टरमा धेरै जिज्ञासा मतपत्रबारे

काठमाडौं — सही तरिकाले मतदान कसरी गर्ने विषयमा आम मतदाताको चासो बढी देखिएको छ । निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा सबैभन्दा बढी जिज्ञासा मतपत्र र मतदानको तरिकाकै बारेमा आउने गरेको छ ।

आयोगको कल सेन्टरमा धेरै जिज्ञासा मतपत्रबारे

आयोगले निर्वाचन लक्षित प्रश्नहरुको उत्तर दिन सञ्चालनमा ल्याएको कल सेन्टरमा दैनक जसो ५० देखि ६० हाराहारीमा जिज्ञासा सहितका फोनहरु आउने गर्छन् । ‘फोनकर्ता मध्येक अधिकांशको चासो मतपत्र र मतदानकै तरीका बारे हुने गर्छ,’ कल सेन्टरका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले भने, ‘त्यसवाहेक मतदाता नामावलीमा आफ्नो नाम भए/नभएको र त्यसका त्रुटीहरुबारे प्रश्न आउँछन् ।’

कल सेन्टरमा खटिएका कर्मचारीले तत्कालै मतपत्र र मतदान गर्ने तरिकाबारे फोनकर्तालाई बताउँछन् भने मतदाता नामावलीमा नाम भए/नभएको जानकारी समेत दिन्छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ दुई निर्वाचन प्रणाली मार्फत हुने भएपछि मतदातामा अन्यौलता देखिएको छ । आगामी निर्वाचनमा मतदाताको हातमा तीनवटा मतपत्र पर्नेछ । आयोगका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको हरियो र प्रदेशसभाको कालो रंगको छुट्टाछुट्टै मतपत्र छन् ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फ दुवै सभाको रातो रंगको एउटै पानाको मतपत्र हुनेछ । त्यही पानामा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिन्हरु रहनेछन् । हरियो र कालो रंगको मतपत्रमा १/१ ठाउँमा र मतदाताले समानुपातिक तर्फको रातो रंगको मतपत्रमा मतपत्र १ माथिल्लो खण्डमा र मतपत्र २ तल्लो खण्डमा १/१ गरी जम्मा २ चिन्हमा छाप लगाउन पाउँछन् । कल सेन्टरमा खटिएका कर्मचारीले फोनकर्तालाई सविस्तार मतपत्र र मतदान गर्ने तरिकाबारे जानकारी दिन्छन् ।

आचारसंहिता उल्लंघनका गुनासो, कति दिन विद्यालय बन्द हुने बारेका जिज्ञासा, सवारी पास लिने तरीका देखि निर्वाचन ऐन, नियम कानुनबारे पनि प्रश्नहरु कल सेन्टरमा आउँछन् । आयोगले फोनकर्तालाई शुल्क नलाग्ने गरी कल सेन्टरमा १६६००१४४२२२ नम्बरको फोन राखेको छ । स्थानीय निर्वाचनको तुलनामा यसपटक भने फोन कम आएका छन् । त्यतिबेला एकैदिन ३८४ सम्म कल आएको रेकर्ड छ । बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने कल सेन्टरमा प्रत्येक सिफ्टमा एकैपटकमा ६ जनाको कल उठाएर जवाफ दिने व्यवस्था मिलाइएको छ ।

सूचना प्रविधि महाशाखाका वरिष्ठ कम्प्युटर अधिकृत (उप-सचिव) श्रीचन्द्र साहले कल सेन्टरमा आएका प्रश्नहरुको उत्तर तत्कालै दिन नसकिए सम्बन्धित महाशाखामा पठाएर उत्तर संकलन गरिने गरिएको बताए । ‘प्रश्नहरुलाई विषयत रुपमा विभाजन गरी सम्बन्धित महाशाखामा पठाउँछौं,’ उनले भने ‘उत्तर प्राप्त हुनसाथा प्रश्नकर्तालाई कल ब्याक गरेर जानकारी दिन्छौं ।’

प्रकाशित : मंसिर ४, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?