२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विप्लबका कार्यकर्ता खोज्दै प्रहरी, दुईजना पक्राउ

बसन्तप्रताप सिंह

बझाङ — देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढेसंगै बझाङ प्रहरीले पनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ ।

विप्लबका कार्यकर्ता खोज्दै प्रहरी, दुईजना पक्राउ

प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासी समेत गरेको छ । यसै क्रममा वित्थड चिर गाउँपालिकाका एक जना विप्लव समर्थक कार्यकर्ता हरिदत्त अवस्थीलाई गिरफ्तार समेत गरेको छ । दुई दिन अघि बझाङ प्रहरीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य जोग कठायतलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

सोमबार विहान र दिउसो जिल्लाभर पहिचान भएका विप्लवका कार्यकर्ताको घर र डेरामा खानतलासी गरेपनि कसैलाई पक्राउ गर्न सकेन । प्रहरीले नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सभासद शंकर खड्का, केन्द्रीय जनपरिषद् सल्लाहकार सदस्य धनबहादुर मल्ल, जिल्ला जनपरिषद् बझाङका अध्यक्ष चन्द्रजंगबहादुर सिंह, अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य भरत मल्लको घरमा पनि खानतलासी गरेको थियो ।

प्रहरी आउनु पूर्व नै सुचना पाएका उनीहरु भागिसकेका कारण गिरफ्तार गर्न नसकिएको प्रहरी स्रोतले बताएको छ । विना कुनै अपराध प्रहरीले धरपकड सुरु गरेको भन्दै नेकपाका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । ‘बझाङमा न कुनै घटना भएको छ न हाम्रो त्यस्तो केही योजना छ ’ जिल्ला जनपरिषद् अध्यक्ष चन्द्रजंगबहादुर सिंहले भने, ‘राज्यले हतास मानसिकताका साथ हामी माथी दमन गरिरहेको छ’

यस्तै विद्यार्थी नेता भरत मल्लले पनि राज्यले विनाकारण दमन गरे आफुहरु प्रतिकारमा उत्रिन बाध्य हुने बताए । उनले भने, ‘घर भित्र पसेर विना कारण प्रहरीले ज्यादती सुरु गरेको छ । यस्तो हर्कत जारी रहे हामी प्रतिकार गर्न बाध्य हुनेछौं ।’

यता प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले केन्द्रीय निर्देशन बमोजिम नै विप्लव कार्यकर्ताको खोजी प्रहरीले गरिरहेको बताए । ‘निर्वाचनमा सुरक्षा खतरा देखिएका कारण हामीले जिल्ला भर खोजी अभियान सुरु गरेका छौं । यो केन्द्रको निर्देशन अनुसार गरिएको कारवाही हो’ उनले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?