कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा चुनौती चिर्न प्रधानमन्त्रीको निर्देशन

चारवटै सुरक्षा निकाय प्रमुखसित छलफल
जनकराज सापकोटा

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधि गर्नेमाथि कडा रुपमा प्रस्तुत हुन सुरक्षा निकायलाई पुन: निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश ३ स्तरीय सुरक्षा सुरक्षा गोष्ठीमा देउवाले प्रहरी महानिरिक्षक प्रकाश अर्यालसहितका उच्च प्रहरी अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

सुरक्षा चुनौती चिर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवाले शान्तिपुर्ण रुपमा निर्वाचन गराउन कुनै कसुर बाँकी नराख्न भन्दै निर्वाचन विरोधी तत्वलाई कार्वाही गर्न निर्देशन दिएका थिए ।

उनले मतदान विथोल्न खोज्ने समुहलाई असफल बनाई जनतालाई सुरक्षाको प्रत्याभुती दिएर निर्धक्क रुपमा मतदान गर्ने बतावरण बनाउन निर्देशन दिए । 

उक्त गोष्ठीमा सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, रक्षा मन्त्रालय र गृह मन्त्रालयका उच्च अधिकारी, निर्वाचन आयोगका आयुक्त, तीन नम्बर प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै जिल्लाका सुरक्षा निकायका प्रमुख, उपस्थित थिए । प्रधानमन्त्री देउवाले शान्ति सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउँदै भने, ‘अहिलेको च्यालेन्जलाई चिर्नुस् ।’ 

बैठकमा प्रहरी महानिरिक्षक प्रकाश अर्यालले विस्फोटका घटना बढेको भन्दै प्रहरीलाई प्रतिरक्षात्मक बन्न आदेश दिएका थिए । कडा रुपमा प्रस्तुत भएका महानिरिक्षक अर्यालले निर्वाचन सुरक्षा चुस्त बनाउन नसक्ने जिल्लाका सुरक्षा प्रमुखलाई हेडक्वार्टरमा तानिदिने चेतावनीसमेत दिएका छन् । 

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार महानिरिक्षक अर्याल श्रृखलाबद्ध विस्फोटका घटना भईरहदा प्रहरीको भुमिका कमजोर भएको भन्दै रुष्ट भएका थिए । बैठकमा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा चुनौती पहिचान भईसकेको र त्यसलाई समाधान गर्नेगरी सुरक्षाको प्रबन्ध मिलाइसकिएको बताएका थिए ।

अधिकांश सहभागीले अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा नै निर्वाचन सुरक्षाको मुख्य चुनौती रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले आम मतदाता भडकाउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षा चुनौती बन्न सक्ने बताएका थिए । उनले भने, ‘सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा पालना गर्नेगरी काम गर्नुस ।’

स्रोतका अनुसार सदुरपश्चिमदेखि सुदुर पुर्वका जिल्लासम्म श्रृखलाबद्ध विस्फोटका घटना, विस्फोटक पदार्थ बरामदका घटना एकपछि अर्को गर्दै देखिएपछि प्रहरीभित्रै सुरक्षा रणनीतिमा फेरबदल गर्नुपर्ने कुरा उठेको छ । विस्फोटका घटना नरोकिएपछि आईतबार देखि प्रहरी प्रधान कार्यालयले मातहतका सुरक्षा निकायलाई पनि हाई अलर्टमा रहन निर्देशन दिएको छ ।

प्रधान कार्यालय नक्सालस्थित केन्द्रिय निर्वाचन सेलमा सबै प्रदेश सेलका प्रमुखसहितको बैठकले श्रृखलाबद्ध विस्फोटका घटनामाथी समिक्षा गरेको थियो । उक्त बैठकले विप्लव माओवादीले छापामार शैलीमा आक्रमण गरेको भन्दै त्यसलाई रोक्न एन्टी छापामार शैलीको सुरक्षा गतिविधी संचालन गर्न मातहतको सुरक्षा निकायलाई सर्कुलर गरेको थियो । उक्त बैठकमा विस्फोटका घटनापछि तुरुन्तै एक्सनमा जान र त्यस्ता गतिविधीमा संग्लनलाई तुरुन्तै पक्राउ गर्न पनि परिपत्र गरिएको छ । सामान्य अवस्थामा प्रत्येक दिन केन्द्रिय निर्वाचन सेलको बैठक बस्ने भएपनि आईतबार त्यस्तो बैठक बिहान र दिउँसो गरी दुईपटक बसेको थियो ।

प्रहरीले खानतलासी व्यापक बनाउन सर्कुलर जारी गरेकै भोलीपल्ट चितवनको भरतपुरबाट नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता बम बनाउन प्रयोग हुने कच्चा पदार्थ जिलेटिन ५ केजीका साथमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने तार लगायतका सामाग्री पनि बरामद गरेको छ । 

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा जनताले भयरहित वातावरणमा आफुले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । उनले बैठकमा भने, ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाउन प्रतिबद्ध छ । यसमा कसैसित कुनै सम्झौता हुदैन ।’

निर्वाचन सुरक्षामा चुनौती थपिएको भन्दै सोमबार साँझ प्रधानमन्त्री देउवाले बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको बैठक डाकेका थिए । स्रोतका अनुसार उक्त बैठकमा सुरक्षाको पछिल्लो अवस्थाका बारे चारैवटा निकायका प्रमुखले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले निर्वाचन सुरक्षामा कुनै कसुर नराख्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले बम विस्फोट लगायतका घटनामा दोषीलाई पक्राउ गरी कार्वाही गर्न निर्देशन दिदै मतदाता र उममेदवारको सुरक्षाको पुर्ण प्रत्याभुती हुनेगरी सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको भनाई उद्धत गर्दै प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले भने, ‘भोलिदेखि कुनै पनि मतदाता र उम्मेदवार असुरक्षित भएको खबर सुन्नु नपरोस । सुरक्षा ब्यवस्था सुदृढ पार्न सरकारले जुनसुकै सहयोग गर्न तयार छ ।’

प्रकाशित : मंसिर ४, २०७४ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?