२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विरासत ढाल्ने र भत्काउने प्रतिस्पर्धा

भक्तपुर १ नम्बर क्षेत्र

भक्तपुर — विजुक्छे आफैं मैदानमा नआएपछि भक्तपुर १ मा नेमकिपा विरासत जोगाउने चुनौतीको सामना गर्दैछ भने वाम गठबन्धन र कांग्रेसका उम्मेदवार उनको किल्ला भत्काउने दाउमा सक्रिय छन् ।

विरासत ढाल्ने र भत्काउने प्रतिस्पर्धा

भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ । ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ । बिजुक्छेले अन्य कुनै क्षेत्रबाट उम्मेदवारी दिन यो क्षेत्र छाडेका भने होइनन् । युवा पुस्तालाई अवसर दिन उनले यस्तो निर्णय गरे । उनको यो निर्णयको चौतर्फी प्रशंसा भइरहेको छ ।

नेमकिपाले पार्टी सचिव प्रेम सुवाललाई यस क्षेत्रको प्रतिस्पर्धामा उभ्याएको छ । बिजुक्छे प्रत्यक्षमा भिड्दा समानुपातिक सूचीमा राखिने सुवाल अहिले पार्टी अध्यक्षको विरासत जोगाउन लागिपरेका छन् ।

उनी आइतबार बिहान सात बजे दुवाकोटको चोटा बैठक पुगिसकेका थिए, आठ बजे ८० जना बाद्य बादकको भेलामा । दुबै भेला सकेर पार्टी कार्यालय आउँदा साढे १० बजे भइसकेको थियो । सुवालको भेला चलिरहँदा बाम गठबन्धनका उम्मेदवार मिलन सुवाल भक्तपुर नगरको दुधपाटी, नासमना क्षेत्रको घरदैलोमा थिए । नेमकिपाका कडा प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बाबुराजा जोशी पनि बिहानै घरदैलामा सुडाल पुगिसकेका थिए । घरदैलोबाट भक्तपुर नगर फर्कंदा दिउँसो साढे एक भइसकेको थियो ।

कांग्रेस र बाम गठबन्धन बिहान र दिउँसो काँठमा भोट माग्न गए पनि राति भने नगरमा कोठेभेलामा सबै दल जुट्छन् । नेमकिपा गाउँको भोट तान्न जोडबलले लागेको छ भने अन्य दल नगरको । बाम गठबन्धन र कांग्रेसका उम्मेदवार गलाभरि माला लगाएर घरदैलोमा निस्कने गरेका छन् भने नेमकिपाका उम्मेदवार भने खादासमेत लगाउँदैनन् । उनीहरु जितपछि मात्रै माला लगाउने बताउँछन् ।

भक्तपुर नगरमा विगतका निर्वाचनमा भन्दा बढी रङगीचङची छ यसपालि । बाम गठबन्धनले नगरको भित्री सडक/गल्लीको वल्लो घरबाट पल्लो घरमा डोरी टाँगेर पार्टीको झन्डा राखेपछि नेमकिपाले पनि त्यही सिको गरेको छ । कांग्रेसले भने घरको छेउछेउमा फाट्ट(फूट्ट राखेको छ । कमलविनायक क्षेत्र झण्डामय छ । अन्य दलले मंसिर १ देखि घरदैलो सुरु गरे पनि नेमकिपाले घरदैलो सुरु गरेकै छैन । उनीहरु चोटा भेला, टोल बैठक र सभामा व्यस्त छन् ।

७० भन्दा बढी भेला गरिसकेको नेमकिपाले जनाएको छ । तर, अन्य पार्टीले नगरको भित्री क्षेत्रमा प्रचार तीव्र बनाएपछि नेमकिपा पनि प्रचारको प्रतिस्पर्धामा उत्रिएको छ । बाम गठबन्धनको प्रदेश सभा उम्मेदवार रोमन शिलाकार तथा मिलन सुवालको सम्पर्क कार्यालय रहेको घरको दायाँबायाँ दुवै घरमा नेमकिपाका उम्मेदवार सुवाल र प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाईंका तस्बिर अंकित फ्लेक्स आइतबार उज्यालो हुँदा टाँसिइसकेको थियो । ‘त्यसबारे हामीलाई थाहै छैन,’ नेमकिपाका उम्मेदवार सुवालले भने ।

भक्तपुर नगरमा नेमकिपाले विकास नगरेको भन्दै जनता आफ्नो पक्षमा रहेको कांग्रेस उम्मेदवार बाबुराजा जोशी बताउँछन् । ‘नगरमा नेमकिपाको ६० प्रतिशत कार्यकर्ता छन्, नारायणमान बिजुक्छेलाई सहानुभूति दिन ४० प्रतिशतले मतदान गर्दै आएका थिए,’ उनी भन्छन्, ‘अब ४० प्रतिशत भोट कांग्रेसमा बढ्छ । भक्तपुर नगरले नयाँ नेतृत्व खोजेको छ ।’

चोटा बैठक र टोल भेलामा जनताले पार्टीको भूमिकाको मूल्यांकन गरेर आफ्नो पार्टीको पक्षमा मतदान गर्ने सुवालले बताए । ‘चुनाव जितेपछि भक्तपुरको विकास मात्रै नभई देशको विकास र नीतिनियममा जोड दिन्छौं,’ उनले भने । नेमकिपाले बाम र लोकतान्त्रिक गठबन्धनलाई नक्कली गठबन्धनको आरोप लगाउने गरेको छ । यो गठबन्धन जनताको सेवा गर्नेभन्दा पनि भागबण्डाको राजनीति गरेको नेमकिपाको आरोप छ । नेमकिपाले कोठे भेलामा मतदातामा जादा भोट हाल्नसमेत सिकाउने गरेको छ ।

नेमकिपाले गाउँको भोट तान्ने रणनीति अघि सारेको छ भने अन्य दुई प्रतिष्पर्धी नगरमा केन्द्रित देखिन्छन् । नेमकिपाको भोट माग्ने काइदा पनि फरक छ : कांग्रेस र बाम गठनबन्धनको घोषणापत्रको कमजोरी औंल्याउने । कांग्रेस र बाम गठबन्धनका उम्मेदवारले घरदैलोमा भने विकासको आश्वासन सहितको पर्चा बाँडिरहेको छ ।

भक्तपुर १ मा लोकतान्त्रिक र बाम गठबन्धन नेमकिपाको विरासत भत्काउने प्रतिस्पर्धामा छन् भने र नेमकिपा जोगाउने । ०३९ र ०४४ मा वडाध्यक्ष बनेका सुवाल २०५४ को स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख बनेर नेतृत्व सम्हाले । २०६४ र ०७४ को निर्वाचनमा समानुपातिक सभासद बनेका सुवालले रुपान्तरित संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरे ।

संसदमा कुनै कानुन पारित हुन सभामुखले निर्णायार्थ पेश गर्नुअघि सुवालले ‘कोरम’ को कुरा उठाउथे । केही विधेयक उनले कोरममा प्रश्न उठाएकै कारण रोकियो । ‘सभामुखले निर्णयार्थ पेश गर्नुअघि हामीलाई हेर्नुहुन्थ्यो,’ उनी भन्छन् । मेकानिकल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह र वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका ५७ वर्षीय सुवालले ०३८ मा थापाथली इन्जिनियरिङ कलेजबाट राजनीति सुरु गरेका थिए ।

२५ देखि ४० वर्ष उमेरका बढी मतदाता
भक्तपुर १ मा २५ देखि ४० बर्ष उमेर समूहका मतदाता बढी छन् । ९४ हजार १ सय ६८ मतदातामध्ये यो उमेर समूहका मात्र ३७ हजार ७ सय ६५ छन् । १८ देखि २४ बर्ष उमेर समूहका मतदाता १३ हजार ९ सय ६४, ४१ देखि ६० बर्ष उमेर समूहका ३३ हजार ७० मत छ । ६१ देखि ७५ बर्ष उमेर समूहका १० हजार ५ सय ५२ र ७५ भन्दा बढी उमेर समूहका ३ हजार ६ सय ९० मतदाता छन् । भक्तपुर नगरपालिकामामा ५५ हजार १ सय ९१ र चाँगुनारायणमा ३८ हजार ९ सय ७७ मतदाता छन् । भक्तपुर नगरपालिका क्षेत्रबाट जसले धेरै मत ल्याउन सक्छ, उसैले यो क्षेत्रको जित हात पार्ने आकलन गरिदै छ ।

नेमकिपाको गढ भत्काउने दाउमा रहेका कांग्रेस उम्मेदवार जोशी वरिष्ठ अधिवक्ता हुन् । नेपाल कानून आयोगका अध्यक्षसमेत रहिसकेका जोशी भक्तपुर जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता हुन् । ६३ वर्षीय जोशीले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

लोकतन्त्र आएको धेरै भए पनि भक्तपुरमा अझै एकदलीय व्यवस्था समाप्त हुन नसकेको र त्यसको अन्त्यका लागि पार्टीले आफूलाई उभ्याएको जोशी बताउँछन् । राप्रपा प्रजातान्त्रिकको समेत समर्थन रहेको भक्तपुर १ मा नेमकिपाको किल्ला भत्काउने लक्ष्य लिई मतदातालाई भेट्ने, भावी कार्ययोजनासहित घरदैलोमा लागेको उनी बताउँछन् । सिंहदरबारसम्म राजनीति पुर्‍याउन र भक्तपुरको विकास गर्न पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको जोशीले बताए । राजधानीको नजिक भए पनि स्वास्थ्यमा पहँुच नभएकाले वडा तहमा १० शय्याको स्वास्थ्य केन्द्रको खाँचो रहेको उनले बताए ।

बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मिलन सुवाल भक्तपुर चोछेंका हुन् । ३८ वर्षीय सुवालले आईएसम्म अध्ययन गरेका छन् । ०५१ बाट राजनीति सुरु गरेका उनले सशस्त्र द्वन्द्वको समयमा अखिल कान्तिकारीको जिल्ला सचिवको भूमिका निर्वाह गरेका थिए । माओवादी केन्द्रको केन्द्रिय सदस्य र जिल्ला सहसंयोजक सुवालले भक्तपुरलाई केन्द्रसम्म जोड्न आफ्नो भूमिका रहने बताउँछन् । आर्थिक समानता, स्वतन्त्रता, सामाजिक न्याय र व्यक्तित्व विकासको लागि बाम गठबन्धननै उपयुक्त शक्ति भएको उनको बझाई छ ।

भक्तपुरमा विद्यमान वर्ग विभाजनको अन्त्य गरी समतामूलक समाज निर्माण, किसान वर्गको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । एमालेको समेत साथ रहेर उम्मेदवारी दिएकोले जित सुनिश्चित भएको उनी बताउँछन् ।

नेमकिपाले भने नि:शुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारीको व्यवस्था गर्न, टोलटोलमा शिशु स्याहार केन्द्र सञ्चालन गराउन, भ्रष्टाचारीलाई मृत्युदण्डको कारबाही गराउन, कालोबजारी, भ्रष्टाचार हटाउन र प्रतिनिधि, प्रदेशसभामा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गराउन भन्दै मत माग्ने गरेको छ ।

तीनै उम्मेदवारले आफ्नो जित सुनिश्चित दाबी गरे पनि नेमकिपालाई पराजित गर्न कांग्रेस र बाम गठबन्धनका उम्मेदवारलाई ‘फलामको चिउरा’ चपाएजतिकै गाह्रो पर्ने विश्लेषकहरु बताउँछन् । भक्तपुर १ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्छन् । बिजुक्छेंले यही क्षेत्रबाट निरन्तर पाँच पटक निर्वाचित भइसकेका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा बिजुक्छेंले २० हजार ४ सय ४७ मत पाएका थिए । यस क्षेत्रमा ९४ हजार १ सय ६८ मतदाता छन् । ०७४ को स्थानीय तह निर्वाचनमा भक्तपुर र चाँगुनारायण नगरपालिकाबाट नेमकिपाले ३० हजार १ सय ७२ मत प्राप्त गरेको थियो । यही मत जोगाउन नेमकिपालाई चुनौती छ ।

चाँगुनारायण नगरपालिकामा एमालेका उम्मेदवारले जितेका थिए भने भक्तपुर नगरपालिकामा नेमकिपाले ल्याएको मत बराबर कांग्रेस, एमाले, माओवादी र राप्रपाले पाएको मत जोडदा पनि पुग्दैन । स्थानीय निर्वाचनमा नेमकिपाले भक्तपुरमा २५ हजार ७ सय ३० मत ल्याएको थियो भने यी चार पार्टीको मत जोडदा १४ हजार ६ मात्रै थियो ।

चाँगुनारायणमा भने नेमकिपा चौथो बनेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा थियो । दोस्रो संविधानसभामा काग्रेसले १२ हजार ८ सय २६ मत, माओवादी ६ हजार २ सय १६ र एमालेले ५ हजार ७ सय २२ मत पाएको थियो । अघिल्ला चुनावको मत विश्लेषण गर्दा यो क्षेत्रमा नेमकिपा नै अगाडि देखिन्छ । माओवादी र एमालेको मत जोडदा कांग्रेसको उम्मेदवारले पाएको भन्दा ८ सय ८८ ले कम थियो ।

स्थानीय निर्वाचनका आधारमा विश्लेषण गर्दा नेमकिपाले ३० हजार १ सय ७२, कांग्रेसले १३ हजार ४ सय २९ र राप्रपाले ६ हजार १ सय १३ मत पाएका थिए । एमालेको १२ हजार ७ सय ३० र माओवादीले ३ हजार १९ मत पाएको छ । स्थानीय तह निर्वाचनका आधारमा नेमकिपा अगाडि देखिन्छ । ‘त्यतिखेर हाम्रो कसैसंग गठबन्धन थिएन, अहिले राप्रपाको मत पनि पाउछौं,’ जोशीले भने, ‘त्यसबाहेक नारायाणमान दाइको लोकप्रियताले दिंदै आएको ४० प्रतिशत मत पनि हामीले पाउछौं ।’ नेमकिपाले जिते पनि क्षेत्रमा विकास निर्माण शून्य रहेको जोशीले बताए । ‘दुर्गम गाउँको झल्को दिन्छ,’ उनले भने ।

एमालेका नेता हरिशरण लामिछानेले बाम गठबन्धनपछि जनता उत्साहित रहेकाले आफूहरुले जित्ने दाबी गरे । ‘०४६ देखि जनताले बाम गठबन्धन खोजेका थिए,’ चागुनारायिण नगरपालिकाको प्रदेशसभाका उम्मेदवार समेत रहेका उनले भने, ‘यसपटक जनतामा नयाँ आशा छाएको छ । तटस्थ मत बाम गठबन्धनले पाउने भएकाले जित्ने आधार यही हो ।’

भारतीय दबाबको विरोध र संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेकै कारण जनताले आफूलाई जिताउने सुवालले बताए । ‘हामीले मन्त्री खान भोट मागेको होइन । हामी देशको प्रणाली सुधार गर्न जोड दिने गरेका छौं,’ उनले भने ।

प्रकाशित : मंसिर ५, २०७४ ०२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?