कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विपक्षीलाई गाली गर्दै, आफूलाई मत माग्दै

आश गुरुङ

लमजुङ — टोलमा भाषण गर्न आएका उम्मेदवारले जितेर गर्ने कामका विषयमा बताउनुभन्दा विपक्षी उम्मेदवार र दललाई तथानाम गाली गर्दै भोट माग्नेको देख्ता मतदाता हैरान छन् ।

विपक्षीलाई गाली गर्दै, आफूलाई मत माग्दै

आफू राम्रो, प्रत्याशी र उसको दल कामै नलाग्ने आरोप लगाउनेमा लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवार र अगुवाको सोचाइ उस्तै छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले एमाले र माओवादीलाई गाली गर्ने र वाम गठबन्धनका एमाले–माओवादी उम्मेदवारले कांग्रेसलाई गाली गर्दै स्थानीयसँग आफ्ना पक्षमा भोट माग्ने गरेका छन् ।

यी दुईबाहेकका साना दलका उम्मेदवारले कांग्रेस, एमाले र माओवादीलाई पालैपालो गाली गरेर अन्तिममा आफूलाई मतदान गर्न आग्रह गर्ने गरेका छन् । जिल्लाका नेताले मात्रै होइन, बाहिरी जिल्ला वा केन्द्रबाट आउने नेताले आफ्ना भाषणको अधिकांश समय विपक्षीलाई गाली गर्नमै खर्चिने गरेका छन् । कांग्रेसका नेता ‘कम्युनिस्टले जितेमा अनिष्ट हुन्छ, लोकतन्त्र खतरामा पर्छ, राम्रोसँग खान लाउन दिँदैनन्,’ भन्दै हिँडेका छन् । एमाले–माओवादी केन्द्रका नेता ‘कांग्रेसले जितेमा गरिब दु:खी जनताको कहिल्यै भलो नहुने,’ भन्दै हिँडेका छन् । स्थानीयका अनुसार उम्मेदवारहरू एकअर्कालाई गाली गर्दै पछि अन्तिममा आफूलाई भोट माग्दै हिँडेका छन् ।

जिल्लामा आएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य धनराज गुरुङ र गगन थापालगायतले आफ्ना पूरै भाषण कम्युनिस्टविरुद्ध खन्याए । अन्तिममा भने, ‘भोट रूखमा दिनुहोस्, हामी तपाईंको साथमा छौं । विकास ल्याइदिन्छौं ।’ एमाले अध्यक्ष केपी ओली, नेता रविन्द्र अधिकारीलगायतले बहुमत ल्याउँदा कांग्रेसले केही गर्न नसकेको र उद्योगधन्दालगायत राज्यका सम्पत्ति बेचेर खाएको आरोप लगाए ।

लमजुङमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी नेता देव गुरुङ, प्रदेशसभा ‘ख’ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र ‘क’ मा धनन्जय दवाडी प्रदेशसभा सदस्यका उम्मेदवार छन् । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा दिलबहादुर घर्ती, प्रदेशसभातर्फ ‘क’ मा गर्जबहादुर गुरुङ र ‘ख’ मा कृष्णप्रसाद कोइराला चुनावी मैदानमा छन् ।

कांग्रेस सभामा राप्रपा नेता हेमजंग गुरुङ पनि विपक्षीको आलोचना गर्न सहभागी छन् । नयाँशक्ति नेपालका प्रतिनिधिसभा उम्मेदवार देवेन्द्र पौडेल, प्रदेश सभा ‘क’ का उम्मेदवार राजु थापा र संघीय समाजवादी प्रतिनिधिसभा उम्मेदवार खेमजंग गुरुङको आलोचनाको पहिलो निशाना वाम गठबन्धन छ । विवेकशील साझाका उम्मेदवार निर्देश सिलवाल पुराना पार्टीले केही गर्न नसकेको भन्दै आधुनिक नेपाल निर्माणका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै हिँडेका छन् ।

नागरिकलाई चुनावको महत्त्व, विकास र आफ्नो उम्मेदवारीबारे बुझाउनुभन्दा एकअर्को पार्टीलाई गरेको गालीले मतदाता भाडिने सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ । नागरिक अगुवा बुद्धिसागर बराल उम्मेदवारहरू आफ्नो घोषणापत्र र एजेन्डा लिएर मतदातामाझ जानुभन्दा कसले बढी गाली गर्ने भन्ने प्रतिस्पर्धाझैं गएको बताउँछन् । ‘जनताले विकास र सुगम चाहन्छन् । त्यो एजेन्डा घोषणापत्रमा छन् । उम्मेदवार फलानो र ढिस्कानो पार्टी अगतिलो भन्दै हिँडेका छन् ।’

अग्रज पत्रकार नवराज पहाडीले चुनावमा आफ्नो एजेन्डा प्रस्तुत गर्नुको सट्टा एकअर्को पार्टीप्रति गालीगलौजमा उत्रनु चुनावी आचारसंहिता विपरीत भएको बताए । ‘आफैं नियम बनाउने, आफैं उल्लंघन गर्नेमा नेताहरू उद्दत छन् । नेता नै गालीगलौजमा उत्रिएपछि, छाडा बोल्न थालेपछि समाजले के सिक्ने,’ उनले भने, ‘जुनसुकै पार्टी वा उम्मेदवार भए पनि एक अर्कालाई सम्मान गर्न सिक्नुपर्छ, तबमात्र समाजले सिक्छ ।’

प्रकाशित : मंसिर ५, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?