चुनावको पाँच दिनअघि गृहले गर्‍यो सीडीओ सरुवा

कान्तिपुर संवाददाता

काठमाडौं — पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह स्रोतका अनुसार चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो ।

गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । निर्वाचन सुरक्षाको कारण देखाएर सरुवा गरिएका कतिपय सीडीओ चार महिना पनि नहुँदै परिवर्तन भएका छन् । गृहले छिटोछिटो सीडीओ परिवर्तन गर्ने पुरानै शैलीलाई निरन्तरता दिएको छ । 

भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी छन् । गृह प्रवक्ता नारायण शर्माले निर्वाचन सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय कारणले चार जिल्लाका सीडीओ परिवर्तन गर्नुपरेको जनाए । उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ । 

प्रकाशित : मंसिर ५, २०७४ १९:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोहका आठजना पक्राउ

काठमाडौं — अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६ का विशालजंग शाही, कालीकोटको तिलागुफा–५ का सुरेशबहादुर शाही, सुनसरी, धरान नगरपालिका–११ का अभय पोखरेल, स्क्युर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ–४ चण्डोलका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का देवराज तामाङ र काठमाडौँ मनमैंजु–२ का सन्तोषकुमार तिवारी रहेका छन् । 

महानगरीय अपराध महाशाखाले काठमाडौँले मंगलबार गरेको पत्रकारसम्मेलनमा पक्राउ परेकामध्ये मोक्तान र भट्टराईलाई डिभी परेको र अन्य छ जनाले नक्कली प्रमाणपत्र बनाउन भूमिका खेलेको जानकारी दिइयो । उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख लोहनीले बताए । दूतावासले दिएको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको थियो । 

मोक्तानले नक्कली प्रमाणपत्र बनाउन रु तीन लाख ५० हजार र भट्टराईले रु ९० हजार तिरेको पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक दिवस लोहनीले जानकारी दिए । नगद रकम लिई सरकारी छाप दस्तखत कीर्ते गरी १० दुई जोड उत्तीर्णा गरेको प्रमाणपत्र, ‘माइग्रेसन’, ‘प्रोभिजनल’, ‘ट्रान्सकृप्ट’, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र लगायतका कागजपत्र नक्कली बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ । 

पक्राउ परेकालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

- रासस

प्रकाशित : मंसिर ५, २०७४ १९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT