कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै गढमा राजमो कमजोर

गल्कोट (बागलुङ) — मुलुक संघीयतामा गइसक्दा पनि एकात्मक शासन प्रणाली चाहिन्छ भन्दै आन्दोलन गरिरहेको दल हो, राष्ट्रिय जनमोर्चा । राजनीतिक लाइनअनुसार यो दललाई केन्द्रीय तहको चुनावी प्रतिस्पर्धा सुहाउँदो पनि हो । तर, आफ्नै पकड क्षेत्र मानिएको जिल्लामा यस पटक राजमोको राजनीतिक लाइन र चुनावी प्रतिस्पर्धा विरोधाभासपूर्ण छ । प्रादेशिक संरचनाको विरोधी दल भए पनि राजमो प्रदेशसभाकै मात्र चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

आफ्नै गढमा राजमो कमजोर

यो जिल्लाबाट राजमोले केन्द्रीय संसदका लागि भने उम्मेदवारी नै दिएको छैन । प्रदेशसभामा मात्र उम्मेदवारी छ । प्रदेशसभाका लागि क्षेत्र १ ‘ख’ मा कृष्ण थापा र क्षेत्र २ ‘ख’ मा टेकबहादुर घर्ती उम्मेदवार छन् । वामपन्थी गठबन्धनमा सामेल भएको राजमोले प्यूठानमा प्रतिनिधिसभाको एउटा उम्मेदवारी लिएर बागलुङमा प्रदेशसभामा मात्र तालमेल गरेको हो । अध्यक्ष चित्रबहादुर केसीले भने संघीयताविरोधी आन्दोलनकै निरन्तरतास्वरूप प्रादेशिक चुनावको प्रतिस्पर्धामा उत्रिएको बताए । ‘अहिले पनि संघीयताले मुलुकलाई थेग्न सक्दैन भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘यही कुरा भन्न पनि हामी प्रदेशको चुनाव लडेका हौं ।’ विगतमा जसरी संसदमा संघीयता ठीक छैन भनेर भनिएजस्तै प्रदेशमा पुगेर पनि त्यही अडान अघि सार्ने उनले बताए ।

दलको राजनीतिक लाइन संघीयताविरोधी भए पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले भने अन्य दलकै जस्तो विकासे आश्वासन दिएर भोट मागिरहेका छन् ।
‘मैले चुनाव जिते यो क्षेत्रका सबै गाउँमा यातायात विकास गर्नेछु, पर्यटन विकासका लागि पनि पहल हुनेछ,’ क्षेत्र १ ‘ख’ का उम्मेदवार थापाले भने, ‘प्रदेश संसद्मा पुगेर संघीयताको नकारात्मक विषय उठाउनेछु ।’

क्षेत्र २ ‘ख’ का उम्मेदवार टेकबहादुर घर्तीले भने पर्यटनको सम्भावना रहेको ढोरपाटनलगायत क्षेत्रको विकासका लागि उम्मेदवारी दिएको बताए । पार्टीका मूल एजेन्डा उठिरहे पनि आफ्नो ध्यान विकासमा केन्द्रित हुने उनले उल्लेख गरे । ‘पार्टीले एजेन्डा उठाइरहन्छ, जितेर गएपछि मैले यहाँका जनताको चाहनाअनुसार विकासका काम ल्याउँछु,’ उनले भने, ‘बागलुङ जिल्ला अझै पनि राजमोकै नेतृत्वमा चल्छ ।’

बागलुङ विगतमा राजमोको गढ थियो । अन्य दललाई यहाँ छिर्न मुस्किल थियो । वामपन्थी आन्दोलनको उर्बर क्षेत्र भएकाले धेरै नेताहरू यहीँबाट राष्ट्रिय राजनीतिमा स्थापित पनि भए । त्यसैले विगतका चुनावमा यस जिल्लामा अन्य दल राजमोसँग तालमेल गरेर अघि बढ्न खोज्थे । अर्थात् राजमो मुख्य तथा अन्य दल सहायक जस्ता हुन्थे ।

विगतको जस्तो अवस्था अहिले राजमोको छैन । आफ्नो पकड राख्ने जिल्लामा पनि क्रमश: खुम्चिँदै गएको छ । विगतमा एमाले राजमोसँग तालमेल गर्न बागलुङमा जोडिने गथ्र्याे । अहिले राजमो चाहिँ एमाले माओवादी गठबन्धनमा जोडिन पुगेको छ । बागलुङमा राजमो निर्णायक हुन्थ्यो, अहिले सहायक जस्तो छ । त्यसैले बागलुङमै उसले प्रतिनिधिसभाका लागि एक सिट पनि लिन सकेन । प्यूठानमा गठबन्धनबाट उम्मेदवारीको एक सिट पाएको भन्दै बागलुङमा प्रदेशसभा उम्मेदवारीमा मात्र चित्त बुझायो । पहिले आफ्नै बलमा चुनाव जित्ने उसको इतिहास अहिले अन्य वामपन्थी दलको टेकोमा अडिनुपर्ने अवस्थामा पुगेको छ ।

‘राष्ट्रिय दल बन्नका लागि चाहिने ३ प्रतिशत मत पाउन अहिले गाह्रो छ तर, हामीले गठबन्धनमा लिएको प्यूठान १ को प्रतिनिधिसभा र बागलुङका दुइटा प्रदेश सभा जित्छौं,’ जिल्ला अध्यक्ष अमर थापाले भने, ‘हामी कमजोरै भएका भने होइनौं, प्राविधिक रूपमा पछाडि परेका हौं ।’ राजनीतिमा कसका पछाडि कति मान्छे हिँडेभन्दा पनि सिद्धान्त र दर्शन ठूलो कुरा हुने अध्यक्ष केसीको धारणा छ । त्यसैले प्राविधिक रूपमा केही सानो जस्तो देखिए पनि पछि विस्तार हुन सक्ने उनले बताए । ‘भारतमा कुनै समय भारतीय जनता पार्टी ३ सिटको थियो, अहिले कत्रो भयो ?’ राजमो अध्यक्ष केसीले भने, ‘त्यसैले कुनै बेला सानो देखिएको पार्टी राजनीतिको बलमा पछि ठूलो हुन सक्छ । कसका पछि कति मान्छे छन् भन्ने महत्त्वपूर्ण होइन ।’

पार्टीका मुख्य नेता केसी आफैं प्रत्यक्ष चुनाव लड्न छाडेका छन् । २०५१ देखि ०६४ सम्मका तीनवटै चुनावमा उनले प्रत्यक्ष चुनाव लडे । ०५६ र ०६४ मा जिते पनि । त्यस्तै राजमोबाटै ०५६ मा परी थापाले चुनाव जितेका थिए । थापा अहिले पार्टीबाट बाहिरिइसकेका छन् । ०७० को चुनावबाट केसी पनि प्रत्यक्ष छाडेर समानुपातिकमा बस्न थालेका छन् । ०७४ को चुनावमा पनि केसी प्रत्यक्षमा उठ्न तयार भएनन् । समानुपातिक सूचीका उम्मेदवार छन् । त्यसैले उनी केही फुर्सदिला पनि छन् । धेरै सभा सम्मेलनमा जाँदैनन् । यस पटक चुनाव प्रचारमा पनि उनी उति हिँडेका भेटिएनन् ।

स्थानीय तह निर्वाचनमा जिल्लाको एउटा मात्र गाउँपालिकामा राजमोले प्रमुख पद जित्यो । वाम तालमेलका बीच २ स्थानमा उपप्रमुख हात पारेको छ । स्थानीय निर्वाचनमा ८ स्थान कांग्रेस, ६ स्थान एमाले र २ ठाउँ माओवादीले जिते ।

वामपन्थी गठबन्धनमा रहेका प्रमुख दुई दल एमाले र माओवादी केन्द्र चुनावपछि पार्टी एकता नै गर्ने अभियानमा छन् । अब धेरै दल आवश्यक नरहेको उनीहरूको निष्कर्ष छ । ठूला दलसमेत एकता प्रक्रियामा गइरहँदा खुम्चिँदै गएको यो दलले भने त्यतातर्फ केही सोचेको छैन । ‘चुनावसम्म मात्र हाम्रो तालमेल हो, पार्टी एकता गर्नेतर्फ हामीले सोचेका छैनांै,’ राजमो अध्यक्ष केसीले भने, ‘पार्टी एकता गर्नका लागि सिद्धान्त र व्यवहार मिल्नुपर्छ तर अहिले सबै कुरा मिल्ने अवस्था छैन ।’

गठबन्धनमा रहेकाले एमाले र माओवादीका नेताहरू राजमोको खस्कँदो प्रभावबारे टिप्पणी गर्न चाहन्नन् । बरु पार्टी एकीकरणको अभियानमा आउने सक्ने सम्भावना देख्छन् । मुलुकको मूल राजनीतिक लाइनभन्दा फरक रहेकाले उसको प्रभाव घटेको प्रतिस्पर्धी दल कांग्रेसको पनि बुझाइ छ । त्यसैले विगतमा जस्तो अहिले बागलुडमा राजमोबाट धेरै चुनौती खेप्नु नपर्ने उनीहरूको निष्कर्ष छ । ‘राष्ट्रिय एजेन्डाभन्दा फरक भएकाले उनीहरूको ठूलो प्रभाव छैन । हामीले धेरै चुनौती ठानेका छैनौं,’ कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा भन्छन्, ‘कम्युनिस्ट उत्पादनको केन्द्र राजमो हो तर उसको पहिलेको जस्तो संगठन र कार्यकर्तामा उत्साह पनि छैन, त्यसैले हामीलाई सजिलो हँुदै गएको छ ।’

प्रकाशित : मंसिर ६, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?