उपेन्द्रलाई उमेशको प्रश्न–‘रामराजालाई कसले राष्ट्रपति हुन दिएन ?’

अवधेशकुमार झा

राजविराज — निर्वाचनको तिथी नजिकिँदै गर्दा सप्तरीमा चुनावी लहर झन् तातदै गएको छ । उम्मेदवारहरुले मतदाता आकर्षित गर्न तथा प्रचारप्रचार अभियानलाई अघि बढाउन सक्रिय छन् ।

निर्वाचनको तिथी नजिकिँदै गर्दा सप्तरीमा चुनावी लहर झन् तातदै गएको छ ।

उम्मेदवारहरुले मतदाता आकर्षित गर्न तथा प्रचारप्रचार अभियानलाई अघि बढाउन सक्रिय छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वाम गठबन्धनका तर्फवाट पूर्वमन्त्री उमेशकुमार यादव र तथा राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुरबीचको चुनावी प्रतिस्पर्धाले सप्तरी २ नम्बर क्षेत्रको प्रचारप्रसार अरु क्षेत्रभन्दा तीव्र र प्रतिस्पर्धात्मक हुँदै गएको छ । तिनै उम्मेदवार जनतासितको भेटघाट, घरदैलो र ग्रामीणसभा गर्न व्यस्त देखिएका छन् ।

सप्तरी २ वाट वाम गठबन्धनका उम्मेदवार रहेका पूर्वसिँचाईमन्त्री उमेशकुमार यादवले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिस्पर्धीको चर्को आलोचना गरे । उनले आफू सिँचाईमन्त्री हुँदा र सांसद हुँदाका बेला गरेको निक्कै काम गरेको दाबी गर्दे फेहरिस्त प्रस्तुत गरे । उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवार फोरम अध्यक्षलाई लक्षित गर्दे भने,‘अहिले जिल्ला छाडेर सप्तरी चुनाव लड्न आएकालाई सोध्नुस् सप्तरीका भूमिपुत्र रामराजाप्रसाद सिंहलाई कसले र किन राष्ट्रपति हुन दिएन, कसले छलछाम गर्‍यो ?’ उनले फोरम अध्यक्ष यादवसहितका मधेसवादी दलका शीर्ष तहका केही नेता जनतासित चिटिङ गरिरहेको आरोप लगाए ।

फोरम अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय चुनावी सभाहरुमा माओवादीलाई निशाना बनाउँदै आएका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ १६:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी मुद्दा उत्तर–दक्षिण नाका : काम थोरै, प्रचार धेरै

जनक नेपाल

गमगढी (मुगु) — चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू प्रदेश ६ का तीनवटा उत्तर–दक्षिण नाका जोडेर समृद्धिको ढोका खोल्ने नारासहित मतदाताकहाँ पुगिरहेका छन् । मुख्य तीन दलसहित सबै उम्मेदवारले हुम्लाको सिमकोट–हिल्सा, मुगुको गमगढी–नाक्चेनाङला र डोल्पाको दुनै–मरिम्ला सडकलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । अहिले तीनै सडक बनाउन थालिए पनि काम सुस्त रहेकाले यी नाका कहिले जोडिन्छन् भन्ने टुंगो भने छैन ।

मुगुको पुवा गाउँका ३९ वर्षीय झिक्मेद लामा हरेक वर्ष तिब्बत पुगेर तेल, चामल, नुन, भेडा–च्याङ्ग्रा ल्याउँछन् । यताबाट बहुमूल्य जडीबुटी यार्चागुम्बु, उवा, चुलीको बोक्रा लगी तिब्बतमा बिक्री गर्छन् । ‘गमगढीसम्म मोटरबाटो आएपछि छिट्टै तिब्बती नाकासम्म पुग्ने आशा थियो । काम देखेर निराश छौं,’ उनले भने, ‘गाडी चढेर तिब्बत जाने धोको अधुरै हुने हो कि ?’

सुर्खेत–नेपालगन्ज जानभन्दा तिब्बत नजिक रहेकाले यो बाटो छिटो खोल्नुपर्ने उनको भनाइ छ । ६ वर्षअघि सुर्खेत–जुम्ला सडक हुँदै कालिकोट नाग्मबाट मुगु गमगढीसम्म गाडी पुगेपछि तिब्बती नाकातर्फको ट्रयाक पनि छिट्टै खुल्ने लामाको आस थियो । ‘नाक्चेनाङ्ला सडक बन्दै छ भन्ने सुनेकै वर्षौं भइसक्यो,’ उनले भने, ‘काम जहाँको त्यहीँ छ । चुनावमा सबैले बनाउने भन्छन्, जितेपछि बिर्सन्छन् ।’

प्रदेश ६ का उत्तर–दक्षिण मार्ग
हुम्ला नाका : कर्णाली करिडोर
नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा तिब्बत
डोल्पा नाका : भेरी करिडोर
नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला तिब्बत
मुगु नाका : सुर्खेत–जुम्ला–सिँजा–मुगु–नाग्चेनाङ्ला तिब्बत

उम्मेदवारहरूले भेला, आमसभा र घरदैलोमा तिब्बती नाका खोल्ने प्रतिबद्धता जनाइरहेका छन् । मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र होइन, राप्रपा, मजदुर किसान पार्टी र जनमोर्चाको नारा पनि यही छ । जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकाय नाक्चेनाङ्ला प्रदेश ६ को सबैभन्दा छोटो अन्तर्राष्ट्रिय नाका हुन सक्ने बताउँछन् । अहिले मुगु गमगढीदेखि गाठेसम्म १६ किमि सडक बनिसकेको छ । ‘उत्तरी छिमेकीसँग जोडिन यो सडक सबैभन्दा छोटो छ । कम खर्चिलो र भूगोल पनि अरूभन्दा सहज छ,’ उनले भने, ‘हुम्ला र डोल्पाका जस्ता कडा चट्टान छैनन् ।’

उत्तरी नाका खुलेपछि कर्णाली र प्रदेश ६ मात्र होइन, सिंगो मुलुकले लाभ लिन सक्ने भएकाले अब निर्वाचित सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने रोकाय ठान्छन् । सडक खुलेपछि उत्तरसँग व्यापार वृद्धि, रोजगारी अवसर सिर्जना हुने र गरिबी घटाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, ‘सडक विभागले अहिले गरेजस्तो कामले त पूरा हुन्न । राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्छ ।’

उक्त सडकका लागि बर्सेनि ७/८ करोडको बजेट छुट्टिए पनि प्रगति सन्तोषजनक नरहेको उनको गुनासो छ । ‘मिलेमतोमा बजेट सक्ने काम मात्र भइरहेको छ । अप्ठ्यारो ठाउँमा नेपाली सेनालाई जिम्मा दिएर भए पनि छिटो सक्नुपर्छ,’रोकायले भने ।

उत्तरी नाका जोड्ने सडकमध्ये सुर्खेतबाट मुगु–नाक्चेनाङला अरूभन्दा कम ३ सय ८० किमि मात्र छ । सुर्खेतबाट सिमकोट–हिल्सा सडक ४ सय ९६ किमि छ । त्यस्तै, डोल्पा–मरिम्ला नाका पनि लामो पर्छ । २०६७ देखि निर्माण सुरु नाक्चेनाङ्ला सडकमा अहिलेसम्म १० करोड लगानी भएर १६ किलोमिटर ट्रयाक खोलिएको छ । ७० किमि खोल्न बाँकी छ । करिब ५ वर्षभित्र गमगढीबाट नाक्चेनाङ्लासम्म गाडी पुर्‍याउने लक्ष्य रहेको सडक निर्माण आयोजनाका प्रमुख अंगलाल रोकायले बताए । निर्माण लागत ८० करोड अनुमान गरिएको उल्लेख गर्दै उनले भने, ‘मागअनुसार बजेट छुट्टिएर काम भए उत्तरी नाका जोड्ने सडकले गति लिनेछ ।’ सडक निर्माण परियोजना स्वीकृत भई कार्यालय राखिसकिए पनि बजेट अभावले कर्मचारी नियुक्ति र कार्यालय व्यवस्थापन हुन नसकेको उनले बताए ।

अहिले गमगढीदेखि तिब्बती नाका पुग्न कर्णाली नदीको तिरैतिर पाँच दिन हिँड्नुपर्छ । बीच बाटोमा भट्टडाँडा, लुम्स, छाइल, माग्री, ढुङधारा, पुलु, तिहारगुम्बा, चितैबगर, सिरानीचौर, सीमा मुगु गाउँ, छुजाङ, रिमार लेक, हयाङलालाटा, खाँचीफुक पर्छन् । तिब्बती सीमास्तम्भबाट एक घण्टा हिँडेर मुगु र तिब्बतको अस्थायी हाटबजार हयाजिमार पुगिन्छ । त्यहाँ हरेक असार १५ देखि ३० सम्म बजार लाग्छ । त्यहींबाट मुगु करान भेगका डोल्फु, किमरी, ताखा, खारी, चितै, रिउस पुवा, माग्रीलगायत गाउँका बासिन्दाले खाद्यान्न, लत्ताकपडा र च्याङ्ग्रा जोहो गर्दै आएका छन् ।

‘हयाजिमारबाट गाडीमा तिब्बतको ल्हासा जान सकिन्छ,’ मुगु गाउँका कार्मानोर्बुल लामाले भने, ‘नाकासम्म मोटरबाटो खुले दुई देशबीच व्यापार वृद्धि हुनसक्छ । कर्णालीका बासिन्दालाई पनि सुविधा पुग्छ ।’ सन् १९१५ देखि सीमा मुगु गाउँका आदिवासी–जनजाति र तिब्बतीबीच व्यापारिक सम्बन्ध जोडिँदै आए पनि नाकामा भन्सार छैन ।

कछुवा गतिमा दुनै–मरिम्ला सडक
डोल्पाको मरिम्ला नाकाबाट धो हुँदै सदरमुकाम दुनै जोड्ने मोटरबाटो निर्माण सुरु भएको झन्डै १० वर्ष बितेको छ । ०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पहिलोपल्ट ५० लाख बजेट छुट्याएर उपभोक्ता समितिमार्फत काम थालिएको थियो । ‘त्यसपछि बर्सेनि १५–२० लाख बजेट आउँथ्यो । धेरै वर्ष कामको गति शून्यझैं भयो,’ जिविस स्रोतले भन्यो । आर्थिक वर्ष ०७२/०७३ मा सबैभन्दा धेरै १५ करोड छुट्याइएपछि ठेक्कामा मोटरबाटो निर्माण भइरहेको छ । अहिले तिब्बती सीमा मरिम्लाबाट धोतर्फ करिब ६५ किमि ट्रयाक खोल्ने काम जारी छ ।

दुनैबाट पनि धोतर्फ मोटरबाटो निर्माण भइरहेको छ । दुनैदेखि लसिक्यापभन्दा अलि माथि झन्डै ३० किमि ट्रयाक खुल्ने क्रममा छ । दुनै–तिब्बत जोडिन धो तराप–खर्क र धो–दुनैतर्फको नावारपानी तलसम्म ४० किमि ट्रयाक खोल्न बाँकी छ । त्यसका लागि झन्डै ४० करोड बजेट आवश्यक छ ।

२० वर्षमा ७० किमि मात्र
चीन सीमा हिल्सादेखि सिमकोटसम्मको ९५ किमि सडक बन्न थालेको पनि दुई दशक पुगिसकेको छ । तर बल्ल ७० किमि ट्रयाक खुलेको छ । सिमकोटदेखि उत्तरतर्फ सिमकोट गाउँपालिकाको हेप्काखोलासम्म १८ किमि दूरीमा समेत ट्रयाक खुलिसकेको छ । अब दुई सडकखण्ड जोड्न ७ किमि मात्र बाँकी छ ।

नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पुल निर्माणपछि हुम्लाको केर्मी गाउँसम्म साना सवारीसाधन चल्न सक्ने हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विजयबहादुर थापाले नदीमा बेलिब्रिज जडान भएकाले नाम्खा गाउँपालिकाको केर्मी गाउँसम्म ७० किमि दूरीमा साना सवारी साधन सञ्चालन भएको बताए ।

०५४ मा जिल्लामा भोकमरीसँगै भाइरल इन्फ्लुएन्जाबाट करिब ४ सय सर्वसाधारणको ज्यान गएपछि स्थायी समाधानका लागि तत्कालीन जिविसले चीनसँग सडक जोड्ने योजना बनाएको हो । ०५५/०५६ मा आन्तरिक स्रोत प्रयोग गरी थालिएको सडकमा ०५७/०५८ देखि विश्व खाद्य कार्यक्रमले सहयोग गरेको थियो । तर पनि सरकारी प्राथमिकतामा परेन । कालिकोटको खुलालु–सिमकोट–हिल्सा सडकलाई राष्ट्रिय गौरवमा राखिएपछि मात्र कामले केही गति लिएको हो ।

कर्णाली कोरिडोरमार्फत चीनको हिल्सादेखि सिमकोट हुँदै भारतीय सीमा रूपैडिहा जोड्ने सरकारी लक्ष्य छ । जसअनुसार सिमकोटबाट कालिकोट ल्याएर सुर्खेतसम्म र सुर्खेतबाट नेपालगन्ज हँुदै रूपैडिहा पुर्‍याउने योजना छ । सिमकोट गाउँपालिका अध्यक्ष पदम लामा चीन र भारत जोड्ने नेपालगन्ज–सिमकोट–हिल्सा सडक जति छिटो खुल्छ कर्णाली त्यति छिटो समृद्ध हुने बताउँछन् । कर्णाली करिडोर खुलालु–हिल्सा सडक निर्माणको जिम्मा सेनालाई दिएपछि कामले गति लिएको हो । अहिले कालिकोट–बाजुरा खण्डमा नेपाली सेनाले निर्माण गरिरहेको छ भने हुम्लामा सडक विभागले ठेक्कामार्फत काम लगाएको छ । कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म २ सय ८१ किमि छ ।

प्रकाशित : मंसिर ६, २०७४ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT