कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकप्टरमार्फत मतदान सामग्री ढुवानी

सुदीप कैनी

गोरखा — सडक सञ्जाल नपुगेका २७ मतदान केन्द्रमा हेलिकप्टरले मतदान साम्रगी ढुवानी गरेको हो । नेपाली सेनाको हेलिकप्टरले ती दुई गाउँपालिकाको विभिन्न स्थानमा सदरमुकामबाट मतदान अधिकृतसहित निर्वाचन सामग्री लगेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।

हेलिकप्टरमार्फत मतदान सामग्री ढुवानी

दुर्गम उत्तरी क्षेत्रको चुमनुव्री र धार्चे गाउँपालिकामा मतपत्र, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्री हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

मतदान अधिकृतबाहेक सुरक्षाकर्मी र अन्य कर्मचारी मंसिर २ गते नै पैदल यात्रा गरेर त्यसतर्फ गई सकेका छन् । सदरमुकामबाट पैदल यात्रा गरेर ३ देखि ७ दिन लाग्ने मतदान केन्द्रहरुमा हेलिकप्टरबाट मतदान सामग्री लगिएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान सकिएपछि मतपेटिकाहरु समेत हेलिकप्टरले नै ढुवानी गर्ने बताए ।

चुमनुव्रीको सामागाउँ, नामरुङ, सिर्दिबास छेकम्पार, धार्चेको माछिखोला, खोर्लाबेशी काशिगाउँमा हेलिकप्टरबाट सामग्री लगिएको हो । २७ केन्द्रका सामग्री हेलिकप्टरबाट ढुवानी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर १० गते संघ र प्रदेश सभाको निर्वाचन सकिएपछि मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउने तयारी समेत गरि सकिएको छ । मतदान अधिकृत र सुरक्षाकर्मीले सदरमुकाम ल्याउन मतपेटिका मंसिर २१ गते सम्म भण्डार गरेर राखिने ठाउँ छनौट गरिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

क्षेत्र नम्बर १ को प्रदेश सभा सहितको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालय र क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा भण्डार गरेर राखिने छ । अन्य जिल्लामा दोस्रो चरणमा हुने निर्वाचन सकिए लगत्तै भण्डार गरेर राखिएको मतपेटिका खोलेर गणना सुरु गरिने उनले बताए । ‘सुरक्षाकर्मीले २४ सै घण्टा सुरक्षा दिएर मतपेटिका राख्ने प्रबन्ध मिलाई सकेका छौं’, उनले भने, ‘भण्डार गरिएकै ठाउँमा गणना हुन्छ ।’

२८२ वटै मतदान केन्द्रमा बिहिबार सम्म मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सहित मतदान सामग्री पुग्ने पौडेलले बताए । जिल्लाको ३ वटा मतदान केन्द्रलाई महिलामैत्री मतदान केन्द्र बनाईएको छ । गोरखा नगरपालिकाको ओल्ड क्यापिटल बोर्डिङ, सरस्वती मावि आहाले र बालमन्दिर मावि छहेरमा मतदान अधिकृत, कर्मचारी देखि सुरक्षाकर्मी सम्म महिला रहने छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ६ सय २२ र क्षेत्र नम्बर २ मा ९०८२६ जना मतदान सहभागी हँुदैंछन् । निर्वाचनका लागि जिल्लाभर ४ हजार भन्दा बढी सुरक्षाकर्मी र करिब दुई हजार कर्मचारी खटिएका छन् ।

 

प्रकाशित : मंसिर ६, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?