सीमावर्ती गाउँमा भोट बिग्रेला भन्ने चिन्ता

राजेन्द्र मानन्धर

दोलखा (लामाबगर) — तिब्बती सीमासँग जोडिएको लामाबगरका ४३ वर्षीय गिन्ड तामाङलाई आसन्न चुनावमा कतिवटा मतपत्र हुन्छ थाहा छैन । उम्मेदवार को–को हुन् पनि चिन्दैनन् । कसलाई भोट दिने भन्ने प्रश्नमा भन्छन्, ‘कसलाई कसलाई ?’

चुनावको दिन नजिकिँदै गर्दा दोलखामा भने मतदाता शिक्षा नपाएकाले भोट बिग्रन्छ कि भन्ने सर्वसाधारणमा चिन्ता छ । यो क्षेत्रका मतदाता कोदो र जौ भित्र्याउने चटारोमा छन् । बारी र बस्तु चराउने जंगलमा भेटिने यी क्षेत्रका बासिन्दाका लागि निर्वाचन आयोगको मतदाता शिक्षा कार्याक्रम प्रभावहीन भएको पाइयो ।

लामाबगर चौकीपारिको आफ्नै घरमा भेटिएका गिन्डसँगै भेटिइन् उनकी पत्नी सारी तामाङ । उनलाई पनि मतदान गर्नेबारे सिकाइएको छैन । दलका स्थानीय नेताहरू पनि उनीसँग भोट माग्न आइपुगेका छैनन् ।

यी बस्तीका प्राय: महिला भोट हाल्नै नजाने भएकाले गिन्डापत्नी सारीलाई चुनावबारे कुनै चासो छैन । उनलाई सोध्दा यस्तो जवाफ पाइयो– भोट हाल्ने तरिका सिकाउन कोही आए ? ‘छैन ।’ भोट हाल्न जानुहुन्छ ? ‘जाँदिनँ ।’ किन ? ‘श्रीमान् जानुहुन्छ ।’ तपाईं किन नजाने ? ‘बाख्रा कसले हेर्दियोस् नि ?’ ४१ टेकेकी सारीकै जस्तो जवाफ यस गाउँका प्राय: महिलाहरू दिन्छन् ।

जिल्लामा मतदाता शिक्षाका लागि १ सय ९० स्वयंसेवक खटिएका छन् । ‘यहाँ मात्र ३ जना छन् रे,’ राजनीतिप्रति चासो राख्ने लामाबगरका ७८ वर्षीय अच्युतराज आचार्य भन्छन्, ‘यो गाउँमा को–को आए, देखिएका छैनन् ।’ मतदातालाई नसिकाएकै कारण यस गाउँका धेरैले मत बदर गर्ने उनले सुनाए । यो वडामा गएको स्थानीय तह चुनावमा २० प्रतिशत मत बदर भएको थियो ।
लामाबगरमा राजनीतिक दलहरूको सामान्य प्रचारप्रसार भने देख्न सकिन्छ । आयोगले खटाएका प्रतिनिधिले शिक्षक र विद्यार्थीबाहेक मतदाताको पहुँच नहुने विद्यालयको भित्तामा नमुना मतपत्र, भोट हाल्ने तरिका सिकाइएका पोस्टरहरू टाँसेका छन् । उनीहरूले घरघर पुगेर मतदाता शिक्षा दिने बताए ।

लामाबगरका वडाध्यक्ष हिरण्यबहादुर गुरुङले खटिएका प्रतिनिधिहरूलाई प्रत्येक घरमा पुगेर मतदाता शिक्षा दिन अनुरोध गरिरहेको बताए । ‘प्रत्येक घरमा नपुगे नियमअनुसार गर्न सक्ने कारबाही गर्छु भनेर सचेत गराएको छु,’ उनले प्रत्येक घरमा पुगेर मतदाता शिक्षा नदिएको पाइए कामको सिफारिस नगर्ने बताए ।

यही वडाकी २७ वर्षीया पार्वती तामाङले टीभीमा मतदान गर्न सिकएको मात्र हेरेको बताइन् । उनका अनुसार अहिलेसम्म मतदान गर्न सिकाउन भने कोही आएका छैनन् । यहाँका महिलाहरूले भोट नबिग्रियोस् भनेर टीभी नै हेरेर भए पनि मतदान गर्न सिकिरहेको बताइन् ।

यो वडाको लप्चे गाउँ सबैभन्दा विकट मानिन्छ । लामाबगरको बस्तीभन्दा एकदेखि दुई दिनमा पुग्न सकिने उक्त गाउँका मतदातालाई चुनाव आएको थाहै हुँदैन । उम्मेदवारको मुखै नदेख्ने उक्त गाउँवासीले न आयोगका कर्मचारी देख्छन् न त दलका नेता कार्यकर्ता नै । राजधानी बस्ने सचेत मतदाता पुगेपछि उनीहरूले भनेकै आधारमा मतदान हुने लप्चीका अगुवा कर्मा शेर्पा बताउँछन् । ‘भोट हाल्ने क्रममा हामी गाउँ पुगेपछि मात्र लप्चीमा चुनावबारे जानकारी हुन्छ,’ उनले भने । 


गौरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँका मतदाताको अवस्था पनि लप्चेको जस्तै छ । जिल्लाभर मतदाता शिक्षा प्रभावकारी नभएका गुनासाहरू आइरहेका छन् । अनुगमनका क्रममा स्वयंसेवकहरू खटिरहेको तर भनेजति प्रभावकारी नभएको आयोगबाट खटिएका अनुगमनकर्ता रामचन्द्र दंगालले सुनाए ।

प्रकाशित : मंसिर ७, २०७४ १०:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेस र विप्लव मिलेर चुनाव भाँड्न खोज्दैछन् : ओली

दुर्गालाल केसी

दाङ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस र चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर निर्वाचन भाँड्ने खेल गरिरहेको बताएका छन् । बिहीबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो मात्रै दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको आरोप लगाए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस र चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर निर्वाचन भाँड्ने खेल गरिरहेको बताएका छन् ।

बिहीबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो मात्रै दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको आरोप लगाए ।

‘कांग्रेसले निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्नुको साटो उल्टै प्रोत्साहन गरिरहेको छ । ठाउँठाउँमा हतियारसहित पक्राउ परेकालाई छोड्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिइरहनुभएको छ,’ उनले भने, ‘नमान्ने प्रहरी अधिकृतलाई सरुवा गरिरहेको छ । नमानेकै कारण ५ नंं. प्रदेश प्रहरी प्रमुख एआईजी मिङ्मार लामालाई हिजो मात्रै फिर्ता बोलाइएको छ ।’

निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने सरकारले उल्लंघन गरिरहेको उनले आरोप लगाए । प्रहरीको बढुवा, सरुवा, दिर्घकालिन महत्वका काममा हात हाल्ने, संघ संस्था दर्ता खारेजी जस्ता काम गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको ओलीले बताए ।

‘सरकारको यो भन्दा ठूलो भ्रष्ट आचरण के हुन्छ ? निर्वाचनमा असर पार्नेखालका काम गर्दै जान मिल्छ ?’ उनले भने, ‘प्रधानमन्त्रीका कदम निर्वाचनलाई सहयोग पुर्‍याउने खालका छैनन् । म कांग्रेस र सरकारलाई अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको खिल्ली उडाउने काम नगरौं ।’ सरकारका गलत कामबिरुद्ध देशका बुद्धिजिवीहरु बोल्न जरुरी रहेको उनले बताए ।

अब वाम गठबन्धनको एकताबाट देशमा राजनीतिक स्थायित्व कायम हुने ओलीले बताए । ‘हाम्रो गठबन्धनले देशमा स्थाई सरकार स्थापना हुनेछ । यसबाट विकासले गति लिने छ,’ उनले भने, ‘आजसम्म सरकार लामो समय नटिक्दा देशमा अस्थिरता भएको छ । अब समृद्धिका हिसावले देश नयाँ युगमा प्रवेश गर्ने छ ।’

ओलीले निर्वाचनपछि देशमा शान्ति, पारदर्शिता र कानूनी शासन स्थापना हुने बताए । आफू सरकारमा हुँदा राम्रा काम गरेका कारण छिटै हट्नुपरेको उनले गुनासो गरे ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि चुनावी गठबन्धन नभई एकताका क्रममा चुनाव आएकाले अहिले तालमेल गरिएको बताए । चुनावपछि सरकार गठन गरी पार्टी एकता गर्ने उनले जानकारी दिए । चुनावी सभालाई सम्बोधन गर्न बुधबार हेलिकोप्टरबाट दाङ आएका ओली बिहिबार दाङबाट सुर्खेत, दैलेख र ७ नं. प्रदेशका अन्य जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न गएका छन् ।

प्रकाशित : मंसिर ७, २०७४ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT