शिक्षक भोट माग्दै हिंड्ने गरेको गुनासो बढ्दो

विमल खतिवडा

चितवन — छिमेकी नवलपरासीको गैंडाकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक पार्टीको कार्यक्रममा भोट माग्दै हिंडेको भन्दै नगरपालिकाले कडाई गरेको छ ।

शिक्षक भोट माग्दै हिंड्ने गरेको गुनासो बढ्दो

नजिकिएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा आआफ्ना पार्टी निकटबाट उम्मेद्वार बनेकाहरुलाई आचरसंहिता विपरीत भोट माग्न हिंड्ने गरेको गुनासो बढेपछि नगरपालिकाले चासो जनाएको हो । यो समस्या सामुदायिक विद्यालयमा सबैभन्दा बढी छ । 

कार्यक्रममा जाने विद्यालयका प्रअ तथा शिक्षकले पार्टीको कार्यक्रममा अध्यक्षता ग्रहण गरेर बसेको तस्बिरहरुसमेत सार्वजनिक भएपछि नियमअनुसार कडाई गरिएको नगरपालिकाका मेयर छत्र पौडेलले बताए । 

‘सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किरहेको अवस्थामा प्रअनै पठनपाठन प्रभावित हुने गरी हाम्रै पार्टीलाई भोट दिनु भन्दै हिंड्दा शैक्षिक अवस्था कस्तो हुन्छ ?,’ उनले भने, ‘यो सरासर आचरसंहिता विपरीत हो, यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

उनले विद्यालय स्रोत व्यक्तिलाई यसको सम्बन्धमा थप बुझेर पढाई प्रभावित गर्ने गरी हिंडेको पाइएमा कारबाही गर्न भनिएको बताए । पौडलका अनुसार नगरपालिका भित्र ३६ वटा सामुदायिक र १९ वटा निजी विद्यालय छन् । 

नगरपालिकाले निर्देशन जारी गर्दै नगरभित्रका विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराउन अनुरोध गरेको छ । यदि त्यस्तो कार्यमा संलग्न रहेको र गराइएको पाइएमा नियमअनुसार कारबाही अगाडि बढाइने नगरपालिकाले जारी गरेको निर्देशन पत्रमा उल्लेख छ । पौडेलले शिक्षकहरु आ–आफ्ना पार्टी निकटका उम्मेद्वारको पछि लाग्दै हिंडेर भोट माग्ने गरेको गुनासो आइरहेको बताए । 

यो समस्या नवलपरासीको मात्र होइन । अन्य जिल्लाका सहरबजारदेखि गाउँसम्मै यी समस्या छन् । चितवन जिल्लाका विकट गाउँमा अहिले शिक्षक भेट्न मुस्किल पर्छ । कोही राजनैतिक दलको कार्यक्रममा झण्डा बोकिरहेको अवस्था भेटिन्छन् त कोही पढाउन छाडेर भोट माग्दै गरेका हुन्छन् । ‘शिक्षकले आचरसंहिता विपरीत भोट माग्दै हिंडेको गुनासा आउने गरेका छन्,’ चितवनका जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरेले भने, ‘लिखित रुपमा आएको छैन, यदि त्यस्तो गरेको पाइएमा कारबाही गर्न हामी पछि हट्ने छैनौं ।’ 

उनले केही दिन अघि भएको प्रअ बैठकमा आचारसंहिता विपरीत पार्टीको कार्यक्रममा नहिंड्न र फेसबुकमा पार्टीको बारेमा नलेख्न भनिएको बताए । बैठकमा विभिन्न पार्टी निकटका शिक्षक संघ संगठनका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । यहां ३ सय ७७ वटा सामुदायिक विद्यालय र १ सय ३७ वटा निजी विद्यालय छन् । शिक्षा कार्यालयमा गुनासा आउने क्रम बढेपछि विद्यालय निरीक्षक र स्रोत व्यक्तिमार्फत् निगरानी बढाएको दाबी कार्यालयको छ । 

प्रकाशित : मंसिर ७, २०७४ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?