कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चार किल्ला तोक्दै कर्मचारी

-सबै केन्द्रमा पुगे कर्मचारी -धमाधम सर्वदलीय बैठक -मतदाता परिचयपत्र बाँडिँदै

काठमाडौँ — आइतबार पहिलो चरणमा चुनाव हुने हिमाली जिल्लामा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । सुरक्षाकर्मीसहित मतदान अधिकृत, सहायक अधिकृत र सहयोगी कर्मचारी तोकिएका केन्द्रमा पुगिसकेका छन् ।

चार किल्ला तोक्दै कर्मचारी

कतिपय जिल्लामा चार किल्ला र निषेधित क्षेत्र तोक्दै काम सुरु गरिसकेका छन् । उनीहरू मतदाताको पर्खाइमा छन् । रोजगारी, अध्ययन र व्यवसायका लागि सदरमुकामलगायत सहरी इलाकामा बसिरहेका मतदाता पनि मताधिकार प्रयोग गर्न गाउँ गएपछि सदरमुकाममा भने चहलपहल घटेको छ ।


भरियामार्फत ढुवानी


जाजरकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तयारी पूरा भएको जनाएको छ । भौगोलिक विकटता र टाढाको दूरीमा रहेका गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका हुन् । जुनीचाँदे, बारेकोट, शिवालय र कुशे गाउँपालिका तथा छेडागार नगरपालिकाका मतदान केन्द्रका लागि ३ दिनअघि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी बिहीबार पुगेका हुन् ।


यस्तै त्रिवेणी नलगाड र भेरी नगरपालिका मतदान केन्द्रमा पनि बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । सडक सुविधा नपुगेका दुर्गमका ६० बढी मतदान केन्द्रमा भरीयाद्वारा सामग्री ढुवानी गरिएको र निर्वाचनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारी पैदल हिँडेरै पुगेका हुन् ।


सडक सञ्जाल भएका स्थानसम्म भने निर्वाचन सामग्री र कर्मचारी ट्याक्टर, जिप, बसलगायत सवारीसाधनद्वारा पठाइएको सहायक निर्वाचन अधिकृत मेघनाथ चापागाईले बताए । सदरमुकामबाट ३/४ दिनको पैदलमा रहेका जिरी, अवलरिजा, सिउना, ध्यारगाउँ, जुनी, गर्खाकोट, मजकोटलगायत मतदान केन्द्रमा पनि निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् ।


१ सय १६ वटै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसहित निर्वाचन सामग्री पुगेको उनले बताए । मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगेपछि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचनका लागि १ हजार कर्मचारी खटाइएको छ ।


७२ केन्द्र संवेदनशील


जाजरकोटमा निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । भौगोलिक विकटता र राजनीतिक गतिविधिका हिसाबले यहाँका ७२ वटा मतदान केन्द्रलाई उच्च सुरक्षा संवेदनशीलतामा राखिएको छ ।


प्रजिअ शाहीले सुरक्षा चुनौतीका कारण संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्था मिलाइएको बताए । निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा अंग परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील स्थलको पहिचान गरेरै ती स्थानमा नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई परिचालन गरिएको प्रजिअ शाहीले जनाए ।


उम्मेदवारी दर्तादेखि नै सुरक्षा गतिविधि बढाइएको थियो । उम्मेदवार, मतदाता, कर्मचारी, निर्वाचन सामग्री लगायतको भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उनले बताए । ‘मतदाता ढुक्क भएर मत खसाल्न जानुहोला, कसैले पनि अवरोध गर्न सक्दैन,’ प्रजिअ शाहीले भने । जाजरकोटमा प्रतिनिधिसभाको १ क्षेत्र र प्रदेशसभाका लागि २ क्षेत्र रहेका छन् ।


हजार सुरक्षाकर्मी परिचालित


डोल्पाका ६६ मध्ये १९ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री पठाइएको छ । बाँकी मतदान केन्द्रमा पैदल मार्गबाट टोली गएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । टोली पुगेर चार किल्लाको सूचना प्रकाशन गरिसकेको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६६ मतदान केन्द्रमा ६६ जना मतदान अधिकृत, ६६ जना सहायक मतदान अधिकृत, १ सय ६६ जना सहायक कर्मचारी र १ सय ३२ कार्यालय सहयोगी परिचालन गरिएको छ । एक हजार बढी सुरक्षाकर्मी परिचालित छन् ।


यस्तै मुगुका ६० वटा मतदान केन्द्रमा पनि मतदान अधिकृतसहितका कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो । सबैभन्दा दुर्गमका मुगु, डोल्फु, चितै, फोतु लिब्रु, नेर, सुकाढिक र ह्याङलुलगायत मतदान केन्द्रमा समेत टोली पुगेको जानकारी सेनाको सञ्चार सेटबाट प्राप्त भएको कार्यालयले जनाएको छ ।


मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहका अनुसार चुनाव गराउन गएको कर्मचारीको टोलीले आवश्यक काम सुरु गरिसकेको छ । सर्वदलीय बैठकको आयोजना गरेर मतदान केन्द्रभन्दा सय मिटर टाढा निषेधित क्षेत्र घोषणा गरी मदिरामा पूर्ण प्रतिबन्ध लगाइएको छ । शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिनेछ ।


डेढ हजार कर्मचारी खटिए


खोटाङका सबै मतदान केन्द्रहरूमा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री पुगेको छ । जिल्लाका एक सय ७९ मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी तथा मतदान सामग्री पुगेको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिनेश खत्रीका अनुसार मतदान अधिकृतसहित एक हजार चार सय आठ जना कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगेका हुन् ।


साथमा मतपत्र, मतपेटिकालगायत ६४ प्रकारका मतदान सामग्रीसमेत सम्बन्धित केन्द्रमा पुगेको खत्रीले बताए । शुक्रबार र शनिबार मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा समेत दिइनेछ । जिल्लामा एक लाख २५ हजार एक सय ८३ मतदाता छन् ।


रसुवामा पनि तयारी सकियो


रसुवाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित मतदानमा खटिने कर्मचारी पुगिसकेका छन् । जिल्लामा रहेका ३४ मतदान स्थल र ४५ वटा मतदान केन्द्रमा कर्मचारी पुगिसकेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । जिल्लाको लाङटाङ, यार्सा, सरमथली, थुमन र हाकुलगायत मतदान केन्द्रमा मंगलबारै मतदान सामग्रीसहित कर्मचारी गएका थिए । जिल्लामा निर्वाचनका लागि २ सय ५६ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


हिमाली केन्द्र पुगे कर्मचारी


आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उच्च हिमाली क्षेत्रमा खटाइएका कर्मचारी कार्यथलो पुग्दै छन् ।


ताप्लेजुङका उच्च भेग ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा कर्मचारी पुगिसकेका छन् । अब सबैभन्दा टाढाको याङमा पुग्न बाँकी छ । यी स्थानमा बिहीबार कर्मचारी पुगिसकेको मुख्य निर्बाचन अधिकृत कृपासुर कार्कीले बताए । उनका अनुसार जिल्लाका अरू स्थानमा पनि पुग्ने क्रम जारी छ ।


अति विकट र लामो दूरीमा रहेकाले सुरक्षा निकायले पनि यी क्षेत्रलाइ विशेष चासो दिएको छ । मौसमले साथ दिए यी चारै क्षेत्रका मतपेटिका मतदानकै दिन हेलिकप्टरबाट सदरमुकाम ल्याउने योजना छ । यसअघिका मतदानमा पनि हेलिकप्टरबाट ल्याइन्थ्यो । स्थानीय निर्वाचनमा भने मौसमका कारण हेलिकप्टर बस्न नसक्दा पैदलै ल्याइएको थियो ।


यी जिल्लामै सबैभन्दा कम मतदाता भएका केन्द्र हुन । निर्वाचन आयोगका अनुसार ग्याब्लामा ४९, घुन्सामा १ सय ३१, याङमामा ५७ र ओलाङचुङगोलामा २ सय २२ मतदाता छन् । स्थानिय निर्बाचनमा ग्याब्लामा २९ याङमामा २६, घुन्सामा ६६ र ओलाङचुङगोलामा १ सय ३१ मत झरेको थियो । सिदिङवा–१ कालिखोला, मिक्वाखोला ५ किलिङ, मेरिङदेन ६ चाँगा, सिदिङवा १ तेम्बोकलाई पनि अति विकट मतदानस्थलका रूपमा राखिएको छ । कालिखोलामा १८ सय ४, किलिङमा १९४, चाँगामा २१८, तेम्वोकमा २६४ मतदाता छन् । यी केन्द्रमा स्थानीय तहमा क्रमश: १५५, १०७, १३० र २०० मत खसेको थियो ।


किमाथांका नाका बन्द


संखुवासभामा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले किमाथांका नाका बिहीबारबाट बन्द गरेको छ । चुनावको दिनसम्मलाई नाका बन्द गरिएको प्रजिअ शिवराज जोशीले बताए । प्रशासनले साताअघि नै चार दिन नाका बन्द गर्ने जनाएको थियो । प्रशासनको जानकारीपछि स्थानीयलाई खाद्य सामग्री र अत्यावश्क सामग्री जोहो गरिसकेको किमाथांकाका नुर्पु भोटेले बताए । किमाथांकाका ८९ परिवार र भोटखोला, चेपुवा, हटियालगायतका बासिन्दा चीनको देन्दा, चाँगा, नादाङ बजारबाट दैनिक उपभोग्य सामग्री जोहो गर्छन् ।


मनाङ पुगे आयुक्त


लमजुङ (कास)– निर्वाचन आयुक्त, क्षेत्रीय प्रशासक र प्रहरी प्रमुखसहितको टोलीले बिहीबार हिमाली जिल्ला मनाङको अति संवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् ।


जिल्ला सुरक्षा समितिले भौगोलिक दृष्टिबाट अति संवेदनशील सूचीमा राखेको नारफू गाउँपालिकाका ५ वटै मतदान केन्द्रको निरीक्षण गरेका हुन् । उक्त गाउँपालिकाको नार गाउँमा ३ र फू गाउँमा २ मतदानस्थल छन् । नार र फू जान सदरमुकाम चामेबाट २ दिन लाग्छ ।


भौगोलिक दृष्टिले विकट मानिएको उक्त ठाउँका मतदानस्थल निरीक्षण गर्न निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल र एआईजी कमलसिंह बम पुगेका थिए । उक्त ठाउँमा चुनाव गराउन निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षा टोली पुगिसकेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले नार र फू पुगेको टोलीले मतदान केन्द्रको अवस्थाको निरीक्षण गरेको बताए । मनाङ पुगेको टोलीले जिल्ला सुरक्षा समितिलाई सुरक्षाको कुनै पनि कमजोरी नगराई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन सफल बनाउन निर्देशन दिएको छ ।


‘हामी स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट चुनाव सम्पन्न गराउन हरदम सक्रिय छौं,’ प्रजिअ पन्तले भने । २८ मतदान केन्द्र रहेको मनाङमा ९ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । संवेदनशील मतदानस्थल प्राय: माथिल्लो क्षेत्रका रहेका छन् । ४ गाउँपालिका रहेको मनाङको माथिल्लो मनाङको नेस्याङ गाउँपालिकामा ९ वटा मतदान केन्द्र छन् । नारफू गाउँपालिकामा ५ मतदान केन्द्र छन् । नेस्याङ र नारफू गाउँपालिका प्रदेश (ख) मा पर्छ । चामेमा ५ र तल्लो मनाङको नासोङमा ९ मतदान केन्द्र छन् । चामे र नासोङ प्रदेश (क) मा पर्छ ।

प्रकाशित : मंसिर ८, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?