२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बालबालिकामाथि अनलाईन दुर्व्यवहर बढ्दो

फातिमा बानु

काठमाडौं — भक्तपुरकी १४ वर्षीया अनु महर्जन (नाम परिवर्तन ) ले भर्खरै समाजिक सञ्जाल फेसबुक चलाउन सिकेकी छिन् । फेसबुकमा जोडिएका पुरुष साथीबाट आफुलाई अश्लिल भिडियोहरु आउने गरेको उनले सुनाइन् ।

बालबालिकामाथि अनलाईन दुर्व्यवहर बढ्दो

‘पहिला राम्ररी बोल्छन् पछि आफ्नै फोहोर अगंहरुको फोटो पठाउँछन्, मेरो पनि पठाउन कर गर्छन्’ उनले भनिन् । कतिपयले यौन प्रश्ताप राख्ने, एकान्तमा भेट्न बोलाउने गरेको उनले बताइन् । फेसबुकमा हुने यस्ता घटना दुर्व्यवहार हो भन्ने थाहा नहुँदा लामो समयसम्म यो कुरा कसैलाई नभनेको उनले सुनाइन् । ‘एकदिन दाइले देखेर कराउनुभयो, फेसबुक चलाउन बन्द गरिदिएँ’ उनले भनिन् ।

यो एउटा प्रतिनिधि घट्ना मात्र हो । सूचना र प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट बालबालिकामाथि अनलाईन यौन दुर्व्यवहार बढेको छ । यस्ता विकृतिबाट बालबालिकालाई संरक्षण गर्नुपर्ने चूनौति थपिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताउँछन् ।

ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा बालबालिकामाथि अनलाईन यौन दुर्व्यवहार बढेको धिताल बताउँछन् । ‘शहरका बच्चाहरुमा इन्टरनेटको अत्याधिक पहुँच बढेको छ, उनीहरु यौन दुर्व्यवहारको उच्च जोखिममा छन्’ उनले भने ।

संविधानको मौलिक हक अन्तर्गतको धारा ३९ ले कुनैपनि बालबालिकामाथि कुनै पनि माध्यमबाट शारिरीक या मानसिक यौनजन्य दुर्व्यवहार गर्न नपाइने उल्लेख छ । ‘इन्टरनेटमा झुण्डिने बालबालिकालाई आफु यौन शोषणमा परेको थाहै छैन, अविभावकहरु पनि अनविज्ञ छन्’ धितालले भने ।

यस सम्बन्धी नेपालमा कुनै खालको विस्तृत अध्ययन गरिएको छैन । केन्द्रीय बालकल्याण समितिले सन् २०१७मा चार सय १२ जना बालबालिकाविच एक अध्ययन गरेको थियो । जसमध्ये धेरै जसो बालबालिकाले मोबाइल, ल्यापटपबाट इन्टरनेट चलाउने गरेको देखिएको छ । केहिले भने साथीको घर र साइबरमा गएर इन्टरनेट चलाएको पाइयो । तथ्याकं अनुसार ८० प्रतिशतले साइबरमा गएर इन्टरनेट चलाउने गरेका छन् ।

समितिको तथ्यांक अनुसार ४१ प्रतिशत बालबालिकाले दैनिक ३० मिनेट इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । जसमध्ये ३९ प्रतिशतले दैनिक एकदेखि दुई घण्टा इन्टरनेट चलाउँछन् र १२ प्रतिशतले ३देखि चार घण्टा इन्टरनेटमा समय बिताउँछन् । यसमा बढी इन्टरनेट चलाउनेमा बालक बढी देखिएका छन् । जसको प्रतिशत ७३ छ ।

शहरमा कामकाजी अविभावकले आफ्ना सन्तानलाई समय दिन नसक्दा मोबाइल, ट्याब किनिदिले गरेका छन् । आफ्नो बच्चाले ति सामाग्रीको सदुपयोग वा दुरुपयोग गरेको बारे अविभावकहरु चासो राख्दैनन् । ‘अविभावककै कारण बच्चाहरु अनलाइन यौनहिंसाको शिकार बनिरहेका छन्, सर्तक हुन जरुरी छ’ धितालले भने ।

विशेषगरि स्कुलको सहकार्य गर्न, अनलाइन गेम खेल्न, च्याट गर्न ,गित सुन्न इन्टरनेट चलाउने गरेको केहि बालबालिकाले सुनाए । समितिको सर्वेक्षण अनुसार २० प्रतिशत बालबालिकाले दैनिक कम्तिमा एकपटक अश्लिल भिडियो हेर्ने गरेका छन् । इन्टरनेट चलाउने कुल बालबालिकामध्ये १३ प्रतिशत अनलाइन यौनहिंसाको शिकार हुने गरेको तथ्याकंमा उल्लेख छ । दुर्व्यवहार खेप्नेमा ४७ प्रतिशत त बालिका नै छन् ।

अनलाइनमा यस्ता दुर्व्यवहार हुँदा आफ्नो आत्मसम्मानमा कमी आउने गरेको केहि बालिकाहरुले सुनाए । ‘त्यस्तालाई फेसबुकबाटै ब्लक गर्छु,सकेसम्म यस्तो कुरा कसैलाई भन्दिनँ’ ललितपुरकी निशा महतले भनिन् ।
आफुमाथि हुने यस्ता अनलाइनमा दुर्व्यवहारका विरुद्धमा आठ प्रतिशत बालबालिकाले मात्रै प्रहरीमा उजुरी गर्ने गरेका छन् । बालकल्याण समितीको बाल हेल्पलाइनमार्फत यस आर्थिक वर्षमा मात्रै १७ वटा बाल यौन दुव्र्यवहारका घटना दर्ता भएका छन् । जसमा १३ वटा घटना त काठमाडौं जिल्लाबाटै आएका छन् । ‘ सबै घटनामा बालिका मात्रै पीडित भएका छन्’ निर्देशक धितालले भने ।

प्रकाशित : मंसिर ८, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?