कांग्रेस नेता निधिलाई निमोनिया

काठमाडौं — नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।

कांग्रेस नेता निधिलाई निमोनिया

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए । उनले भने, 'उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।'

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहनुभएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको राससलाई बताए ।

राजदूतद्वारा स्वास्थ्यलाभ कामना

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत निधिलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । राजदूत पुरीले शुक्रबार ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

- रासस

प्रकाशित : मंसिर ८, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?