रेडियोलोजीमा जनशक्ति र उपकरण अभाव

फातिमा बानु

काठमाडौं — चिकित्सा विधामा रेडियोलोजी भित्रिएसँगै उपचार प्रक्रिया सजिलो हुँदै गएको छ । शल्यक्रिया गर्दा शरीर चिरेर ठूला घाउ बनाउनुपर्ने बिरामीको समस्या पनि रेडियोलोजीले कम गरिदिएको छ ।

रेडियोलोजीमा जनशक्ति र उपकरण अभाव

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को रेडियोलोजी विभागकी प्रमुख डा. बेनु लोहनी भन्छिन्, ‘जति सानो घाउ बनाएर शल्यक्रिया गर्‍यो, बिरामीलाई संक्रमण हुने खतरा कम हुन्छ ।’ अस्पतालमा शल्यक्रिया गरेका अधिकांश बिरामीको संक्रमणकै कारण मृत्यु हुन्छ ।

एक्स–रे, सीटी स्क्यान, मेमोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी, अल्ट्रासाउन्ड, एमआरआई लगायतबाट रेडियोलोजी उपचार, रोग पत्ता लगाउन र निदान गरिन्छ । रेडियोलोजीबाट शल्यक्रिया गर्दा सानो घाउ बनाइने, लामो समयसम्म अस्पताल बस्नु नपर्ने, शल्यक्रियाका लागि बेहोस पार्न नपर्ने हुँदा रेडियोलोजी उपचार विधिमा बिरामीको रोजाइ बढेको छ । राजधानीका सरकारी अस्पतालमा रेडियोलोजीका उपकरण निकै कम छन् । भएका उपकरण पनि पुराना भइसकेका कारण खासै प्रभावकारी हुन सकेको छैन ।

नेपालमा धेरै बिरामीको रोजाइमा परेको यो उपचार विधि सीमित जनशक्ति, खर्चिलो र उपकरण अभावका कारण फस्टाउन नसकेको रेडियोलोजिस्टहरू बताउँछन् । कमभन्दा कम समयमा शरीरभित्रका विभिन्न अगंको जानकारी लिन मिल्ने भएकाले आकस्मिक उपचारमा यसको प्रयोग महत्त्वपूर्ण हुने उनीहरूको तर्क छ । टिचिङका रेडियोलोजिस्ट डा. सुजितकुमार झा भन्छन्, ‘विकसित मुलुकहरूको आकस्मिक विभागमा रेडियोलोजी टोली अनिवार्य रूपमा हुन्छन्, हाम्रो देशमा अझै यस्तो व्यवस्था हुन सकेको छैन ।’ 

टिचिङ अस्पतालमा रेडियोलोजीका उपकरण अपुग छन् । बिरामीको चापलाई अस्पतालको उपकरण र जनशक्तिले थेग्नै गाह्रो हुने गरेको डा. लोहनी बताउँछिन् । ‘दैनिक एक हजार बिरामी आउँछन्, विभागमा जम्मा १२ कर्मचारी छन्,’ लोहनीले भनिन्, ‘करार कर्मचारीका भरमा बिरामी थेग्न बाध्य छौं ।’ 

अस्पतालमा भएका उपकरण पनि १० वर्ष पुराना भइसकेको उनले सुनाइन् । पुराना उपकरणले ढिलो काम गर्ने र त्यसबाट हुने उपचार पनि खासै गुणस्तरीय नहुने उनले बताइन् । ‘उपकरण र जनशक्ति कम हुँदा बिरामीले सेवा ढिलो पाउँछन्, रोग जति चाँडो पत्ता लाग्यो, उति चाँडो उपचार सुरु हुन्छ,’ उनले भनिन्, ‘पुराना डाक्टर अवकाशप्राप्त हुँदै छन्, नयाँ कर्मचारी भर्ती हुन सकेका छैनन्, सेवा प्रवाह गाह्रो भइरहेको छ ।’ टिचिङमा रेडियोलोजीबाट विशिष्टखालका उपचार सेवा लिनका लागि बिरामीलाई १५ दिन कुर्नुपर्छ । विभागको ठाउँ पनि निकै साँघुरो छ ।

रेडियोलोजी उपचार सेवामा देशको केन्द्रीय अस्पताल वीरको अवस्था पनि उस्तै नाजुक छ । उपकरण र जनशक्ति निकै कम छ । भएका उपकरण पुराना भइसकेका छन् । नयाँ भित्रन सकेका छैनन् । वीरमा आउने कुल बिरामीमध्ये २० प्रतिशतलाई रेडियोलोजीको उपचार चाहिने अस्पताल रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले बताए । ‘सबै उपकरण एक थान मात्रै छन्, एउटा बिग्रियो भने मर्मत नहुन्जेल सेवा ठप्पै हुन्छ,’ उनले भने, ‘उपकरण पुराना भइसके, यसबाट सेवा गुणस्तरीय हुँदैन, व्यवस्थापन गाह्रो छ ।’

वीरका रेडियोलोजी उपकरण पनि कम्तीमा १० वर्ष पुराना छन् । विकसित उपकरण भित्र्याउन सकिए उपचार सेवा छिटो र गुणस्तरीय बनाउन सकिने डा. शर्माले बताए । वीरमा रेडियोलोजीबाट उपचार सेवा पाउन बिरामीले कम्तीमा एक साता कुर्छन् । थापाथलीस्थित प्रसूतिगृहको रेडियोलोजी सेवामा पनि उस्तै समस्या छ । विभागभित्र कर्मचारीको दरबन्दी दुई जनाको मात्रै छ । उपकरण न्यून संख्यामा छन्, पुराना पनि छन् । 

 

प्रकाशित : मंसिर ९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?