छिटपुट घटना मात्रै : गृह

जनकराज सापकोटा

काठमाडौं — गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनपूर्व उम्मेदवार केन्द्रित शृंखलाबद्ध विस्फोटका घटना भएपछि गृहले कडा सुरक्षा व्यवस्था गरेको जनाएको थियो ।

मन्त्रालयले सुरक्षाका कारण कतै पनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमणका घटना पनि नभएको जनाएको छ । 
गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी र सुदृढ सुरक्षा व्यवस्थाका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । गृहस्रोतका अनुसार आइतबार दिनभर केही छिटपुट घटना भने भएका थिए । नक्कली बम राखेर मतदाता तर्साउने र निर्वाचन प्रभावित पार्ने प्रयास कैयौं ठाउँमा भए पनि सुरक्षाकर्मीले स्थिति सामान्य बनाएका थिए । आइतबार साँझ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भौगोलिक विकटता, मौसमी अवस्था र केही निर्वाचनविरोधी तत्त्वहरूको छिटपुट अवरोधका बाबजुद निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र निर्भयका साथ उत्साहजनक सहभागितामा सम्पन्न भएको बताएको छ । गृहले यसलाई ‘संघीयता संस्थागत गर्ने एक महत्त्वपूर्ण उपलब्धि’ भनेको छ । 
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन भएका ३२ मध्ये ७ जिल्लाका विभिन्न ८ स्थानमा भेटिएका शंकास्पद बम नेपाली सेनाले डिस्पोज्ड गरेको थियो । जाजरकोटको त्रिवेणी नलगडा नगरपालिका ७ गुनाभिर, नुवाकोटाको ककनी गाउँपालिका २ स्थित काउले, दार्चुलाको महाकाली नगरपालिका ४ खलंगा, रोल्पाको त्रिवेणी गाउँपालिका ७ गोविन्द मावि नजिकै, दोलखाको भीमसेन नगरपालिका ३ स्थित सडक कार्यालय अगाडि र सोही नगरपालिकाको ६ स्थित चोथाङमा, बागलुङको बडिगाड गाउँपालिका ७ डाँडागाउँमा र ताप्लेजुङको आठराई नगरपालिका ३ हाङपाङस्थित सरस्वती माविको कम्पाउन्डमा फेला परेका शंकास्पद बम नेपाली सेनाले डिस्पोज्ड गरेको थियो । 
ताप्लेजुङ र नुवाकोटमा प्रेसरकुकर बम फेला परेको थियो भने अन्यत्र सकेट बम र विस्फोटक पदार्थ फेला परेका थिए । प्रहरी प्रवक्ता मनोज न्यौपानेले निर्वाचन शान्तिपूर्ण रहेको र सुरक्षाका कारण कतै मतदान प्रभावित नभएको जनाए । 
दोस्रो चरणमा निर्वाचन हुने रूपन्देहीको बुटवल नगरपालिका १० स्थित जंगल र कपिलवस्तुको वाणगंगा नगरपालिका ११ को भित्री सडक खण्डमा आइतबार भेटिएको सकेट बम पनि सेनाले डिस्पोज्ड गरेको थियो ।
प्रहरीले शनिबारयता निर्वाचनविरोधी गतिविधिमा संलग्न भन्दै सयौंलाई पक्राउ गरेको थियो । प्रवक्ता न्यौपानेका अनुसार आइतबारसम्म ४ सय ५१ जना पक्राउ परेका छन् जसमध्ये अधिकांश विप्लव नेतृत्वका माओवादी कार्यकर्ता छन् । त्यस्तै, निर्वाचन सुरक्षा बिथोल्ने गरी पेस्तोल र अन्य हातहतियार बोकेर हिँड्ने र झैझगडामा संलग्न १ सय ६१ जना पक्राउ परेका छन् । अर्काको मत हालेको कसुरमा भोजपुरमा दुई जना र खुकुरी बोकेर बागलुङको मतदानस्थलमा हिँड्ने एक पक्राउ परेका छन् ।
गृह प्रवक्ता शर्माका अनुसार आइतबार रातभर मतपत्रलाई मतगणनास्थलसम्म ओसार्ने काम चल्नेछ । उनका अनुसार पश्चिम, मध्यपश्चिम र पूर्वी पहाड र केही हिमाली जिल्लाको दुर्गम स्थानबाट भने हेलिकप्टरमार्फत मतपत्र ओसारिनेछ । मन्त्रालयका अनुसार कति स्थानका मतपेटिका हेलिकप्टरबाट ओसार्नुपर्ने भन्ने निक्र्याेल भइसकेको छैन ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र बल र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा प्रणाली कायम गरिएको थियो । ३२ जिल्लाका २ हजार ९ सय १९ मतदानस्थलका निम्ति ६४ हजार सेना, ६८ हजार ६ सय ७८ प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र बल र ९८ हजार १ सय ७६ म्यादी प्रहरी खटिएका थिए ।

कहाँ के भयो ?
काठमाडौं (कास)– पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्रममा आइतबार केही स्थानमा झडप भएका छन् भने केही स्थानमा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । 
बझाङका ४ केन्द्रमा बम विस्फोट भएको छ । छविस पाथीभेरा गाउँपालिका ४ मा रहेको जनता आधारभूत विद्यालय बागमाडु मतदान केन्द्रभन्दा ४ सय मिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । छविस पाथीभेरा गाउँपालिका ५ थलारा निमावि व्यासीको मतदान केन्द्र नजिक पनि विस्फोट भएको छ । सदरमुकाम चैनपुर बजार नजिकै रहेको संग्राम सार्दूल गुल्मभन्दा करिब १ सय मिटर नजिकै रहेको सत्यवादी उमावि मतदान केन्द्र नजिकै सडकमा टाइम बम फेला परेको थियो । बुंगल नगरपालिकाको कन्या मावि बटुलसेराको मतदान केन्द्र नजिकै विस्फोट भयो । विभिन्न ठाउँमा विस्फोट भए पनि क्षति नभएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । महिलाको मत हाल्ने विषयमा थलारा गाउँपालिका ८ स्थित शैलेश्वरी निमावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । 
सिन्धुपाल्चोकको बलेफी र सुनकोसी गाउँपालिकामा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीचको झडप रोक्न प्रहरीले हवाई फायर गरेको छ । एजेन्ट बसेका लोकतान्त्रिकका कार्यकर्ताले वाम कार्यकर्तालाई आक्रमण गरेपछि झडप भएको थियो । तीन जना सामान्य घाइते भएका छन् । बलेफीको माङ्खामा भएको झडपमा वडा सदस्य लक्ष्मण अधिकारी घाइते भएका छन् । 
रुकुमको बाफिकोट गाउँपालिका ४ को रत्न मावि केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिका जलाइएको छ । एसिड प्रहार गरी मतपेटिका  जलाइएको हो । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय ३५ वर्षीया कल्पना केसीलाई नियन्त्रणमा लिएको छ । रुकुमकै आठबिसकोट नगरपालिकाको हिमालय मावि मतदान केन्द्रको एक मतपेटिकामा एसिड खन्याउन प्रयास गर्ने ३६ वर्षीया रूपा विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुमका दुवै केन्द्रमा पुन: मतदान हुने भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिकास्थित कुशुमाकर मावि (ख) का मतदान अधिकृत कुमारनाथ न्यौपानेलाई बर्खास्त गरिएको छ । उनले मतपत्रमा हस्ताक्षर नगरी मतदातालाई दिएपछि विवाद भएको थियो । विवादका कारण साढे १ घण्टा मतदान स्थगन भएको थियो । ओखलढुंगाको सुनकोसी गाउँपालिका बलखुमा वाम र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ३ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित : मंसिर ११, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?