आक्रमणबाट बचाउन मतपेटिका बोकेर ल्याउने निर्णय, ओसार्न सास्ती

भीमबहादुर सिंह

जाजरकोट — प्रतिनिधि र प्रदेशसभाका लागि आइतबार भएको मतदानको मतपेटिकाहरु सदरमुकाम ल्याउन सास्ती भएको छ । भौगोलिक विकटता र यातायातको पहुँच नहुँदा मतपेटिका सदरमुकाम ल्याउन सास्ती भएको हो ।

आक्रमणबाट बचाउन मतपेटिका बोकेर ल्याउने निर्णय, ओसार्न सास्ती

दुर्गम गाउँपालिका बारेकोट, जुनीचाँदे र कुशेअन्र्तगतका मतदान केन्द्रबाट मतपेटिका ल्याउन कठिन भएको हो ।

जिल्ला सुरक्षा समितिले कच्ची सडकमा यातायातको साधन प्रयोग नगरी मतपेटिका ल्याउने निर्णय गरेको थियो । यो निर्णयले मतपेटिका ओसार्न थप कठिन बनेको हो ।

तीन दिनसम्म हिंडेर पुगिने दुर्गम गाउँका मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । मतपेटिकालाई विप्लब समूहको एम्बुस तथा आक्रमणबाट सुरक्षित राख्न पैदलमार्गबाटै मतपेटिका ल्याउने रणनीति बनाएको उनले बताए ।

सोमबारसम्म एकसय दुई मतपेटिका सदरमुकाम खलंगा आइपुगेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । भेरी नगरपालिका र शिवालय गाउँपालिका अन्र्तगतका ३४ मतदान केन्द्रका मतपेटिका आइपुगेको गिरीले जानकारी दिए ।

७८ मतदान केन्द्रका मतपेटिका आउँन बाँकी रहेको उनले बताए । मंगलवार दिउँसोसम्म सबै मतपेटिका खलंगा आइपुग्ने अनुमान छ ।

प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्षतर्फका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकको भने कार्यालय नजिकै रहेको बृद्धाश्रम केन्द्रको हलमा राखिएको गिरीले बताए ।

‘मतपेटिका राखेको स्थानमा चौबिसै घण्टा सशस्त्र र नेपाल प्रहरीले पहरा दिने गरेका छन्,’ उनले भने ।

उमेदवारले मतपेटिकाको सुरक्षाका लागि प्रतिनिधि राख्नसक्ने गरी व्यवस्था मिलाइएको गिरीले बताए ।

आइतबार सम्पन्न मतदानका जाजरकोटमा ७२ दशमल्लब ५५ प्रतिशत मत खसेको छ । ८४ हजार मतदाता मध्ये ६१ हजारले मतदान गरेका छन् ।

बारेकोट गाउपालिकाका ९ मतदान केन्द्रबाट मतपेटिका खलंगातर्फ ल्याउदै कर्मचारी तथा सुरक्षाकर्मी । तस्विर : भीमबहादुर सिंह/कान्तिपुर

प्रकाशित : मंसिर ११, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?