त्रिविमा स्मार्ट बोर्ड पठनपाठन सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसमा स्मार्ट बोर्डबाट पठनपाठन गर्ने भएको छ । त्रिविले उच्च शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने क्रममा पठनपाठनमा स्मार्ट बोर्ड प्रयोग गर्न थालेको हो । उसले आफ्ना ६० आंगिक क्याम्पसमा नमुना स्मार्ट बोर्ड कार्यान्वयनका निम्ति बजेटसमेत छुट्याएको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा प्रत्येक आंगिक क्याम्पसलाई एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘उच्च शिक्षालाई प्रविधिमैत्री बनाउन थोरै नै भए पनि एक–एक लाख रुपैयाँ बजेट विनियोजन भएको छ,’ उनले भने । त्रिविले गत वर्षदेखि नै कीर्तिपुरस्थित उपकुलपति कार्यालय, विभिन्न संकाय, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, केन्द्रीय क्याम्पस, केन्द्रीय पुस्तकालयलगायतमा नि:शुल्क वाईफाई जोन लागू गरेको छ । त्यसैगरी स्मार्ट बोर्ड पनि कार्यान्वयन गरिसकेको छ । प्रविधिमैत्री बनाउन त्रिविले नेपाल टेलिकमसित सम्झौता गरेको छ । 

स्मार्ट बोर्ड प्रयोग कार्यान्वयनसँगै हरेक शिक्षकले आफ्नो अध्यापन विषयलाई डिजिटल रूपमा तयार गर्नुपर्ने छ । इलेक्ट्रिक सेतो स्मार्ट बोर्डमा साधारण मार्कर प्रयोग गर्न पाइनेछ । विद्युतीय सूचना प्रविधिमार्फत शिक्षकले पढाएको विषयवस्तु र प्रस्तुतिलाई विद्यार्थीले पेनड्राइभ वा सिडीमा लिन पाउनेछन् । स्मार्ट बोर्ड पठनपाठन विद्यार्थीलाई विषयवस्तु बुझ्न बढी प्रभावकारी हुनेछ ।

शिक्षकले लेखेको विषय सामान्य डस्टरले मेट्न पाउने र मेटाएका सबै विषय मेमोरीमा स्टोर हुने व्यवस्था छ । चाहेको बेला मेटाएको विषय हेर्न पाइनेछ । बोर्डमा शिक्षकले पढाएको सम्पुर्ण विषय रेकर्ड हुने व्यवस्था गरिएको छ । 

उपकुलपति तीर्थ खनियाँले त्रिविको पठनपाठनलाई आधुनिकीकरण गर्ने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोगमा जोड दिइएको बताए । ‘हरेक निकाय सूचना प्रविधिसँग नजिक भइसकेको अवस्थामा त्रिविका आंगिक क्याम्पसलाई स्मार्ट बोर्ड दिने निर्णय भएको हो,’ उनले भने । नमुनाका रूपमा एक–एक स्मार्ट बोर्ड उपलब्ध गराउने र त्यसपछि सबै क्यापस आफैंले थप व्यवस्थापन गर्नेछन् । 

त्रिविले पहिलो चरणमा कीर्तिपुरबाट सुरु गरिएको स्मार्ट बोर्ड पठनपाठन उपत्यकाका १८ आंगिक क्याम्पस र त्यसपछि देशभरिका अन्य आंगिक क्याम्पसमा लागू गर्ने नीति अघि बढाएको छ । त्रिविले पहिलो चरणमा ३९ वटा केन्द्रीय विभागमा स्मार्ट बोर्ड प्रयोग गरिसकेको छ । 

प्रकाशित : मंसिर ११, २०७४ २०:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आक्रमणबाट बचाउन मतपेटिका बोकेर ल्याउने निर्णय, ओसार्न सास्ती

भीमबहादुर सिंह

जाजरकोट — प्रतिनिधि र प्रदेशसभाका लागि आइतबार भएको मतदानको मतपेटिकाहरु सदरमुकाम ल्याउन सास्ती भएको छ । भौगोलिक विकटता र यातायातको पहुँच नहुँदा मतपेटिका सदरमुकाम ल्याउन सास्ती भएको हो ।

दुर्गम गाउँपालिका बारेकोट, जुनीचाँदे र कुशेअन्र्तगतका मतदान केन्द्रबाट मतपेटिका ल्याउन कठिन भएको हो ।

जिल्ला सुरक्षा समितिले कच्ची सडकमा यातायातको साधन प्रयोग नगरी मतपेटिका ल्याउने निर्णय गरेको थियो । यो निर्णयले मतपेटिका ओसार्न थप कठिन बनेको हो ।

तीन दिनसम्म हिंडेर पुगिने दुर्गम गाउँका मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । मतपेटिकालाई विप्लब समूहको एम्बुस तथा आक्रमणबाट सुरक्षित राख्न पैदलमार्गबाटै मतपेटिका ल्याउने रणनीति बनाएको उनले बताए ।

सोमबारसम्म एकसय दुई मतपेटिका सदरमुकाम खलंगा आइपुगेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । भेरी नगरपालिका र शिवालय गाउँपालिका अन्र्तगतका ३४ मतदान केन्द्रका मतपेटिका आइपुगेको गिरीले जानकारी दिए ।

७८ मतदान केन्द्रका मतपेटिका आउँन बाँकी रहेको उनले बताए । मंगलवार दिउँसोसम्म सबै मतपेटिका खलंगा आइपुग्ने अनुमान छ ।

प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्षतर्फका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकको भने कार्यालय नजिकै रहेको बृद्धाश्रम केन्द्रको हलमा राखिएको गिरीले बताए ।

‘मतपेटिका राखेको स्थानमा चौबिसै घण्टा सशस्त्र र नेपाल प्रहरीले पहरा दिने गरेका छन्,’ उनले भने ।

उमेदवारले मतपेटिकाको सुरक्षाका लागि प्रतिनिधि राख्नसक्ने गरी व्यवस्था मिलाइएको गिरीले बताए ।

आइतबार सम्पन्न मतदानका जाजरकोटमा ७२ दशमल्लब ५५ प्रतिशत मत खसेको छ । ८४ हजार मतदाता मध्ये ६१ हजारले मतदान गरेका छन् ।

बारेकोट गाउपालिकाका ९ मतदान केन्द्रबाट मतपेटिका खलंगातर्फ ल्याउदै कर्मचारी तथा सुरक्षाकर्मी । तस्विर : भीमबहादुर सिंह/कान्तिपुर

प्रकाशित : मंसिर ११, २०७४ १९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT