१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चुनावले बढायो पेट्रोलियम र झन्डाको व्यापार

पोखरा — पोखरा २६ विजयपुरका राम गुरुङ अहिले बिहानदेखि बेलुकासम्म निर्वाचनको प्रचारमा हिँड्न व्यस्त छन्। बिहानैदेखि मोटरसाइकलमा हिँड्दा दैनिक ३/४ लिटर पेट्रोल खपत हुने उनले बताए।

 

‘आफूले भनेजस्तो उम्मेदवारलाई जिताउन घरदैलो गर्ने बेला यही हो,’ उनले भने, ‘त्यसैले अहिले प्रत्येक दिन बिहानैदेखि रातिसम्म मोटरसाइलकमै गुड्नुपर्ने अवस्था छ। त्यसैले दिनमा ४/५ लिटर पेट्रोल सकिन्छ।’

पोखराको रामबजारमा फेन्सी पसल सञ्चालन गरेका उनले अन्य समयमा महिनामा १० लिटर पेट्रोलले पुग्ने गरेको उनले बताए। निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी प्रचारप्रसारमा २/३ वटा जिप र १२/१५ वटा मोटरसाइकल दैनिक प्रयोग हुने गरेको उनले बताए। 

आफूले सक्षम उम्मेदवारलाई विजयी गराउन उम्मेदवारी दर्ता गराएको दिनदेखि नै घरदैलो र प्रचारप्रसारमा खटिएको पोखरा चाउथेका ४५ वर्षीय श्रीकृष्ण पोखरेलले बताए। मोटरसाइकलमा हिँड्ने गरे पनि आफंैले पेट्रोलको खर्च जुटाउँदै आएको उनले बताए। एकैपटक १३ लिटरसम्म मोटरसाइकलमा पेट्रोल हालेपछि ३/४ दिनसम्म ढुक्क हुने गरेको उनले सुनाए। ‘मन परेको उम्मेदवारलाई जिताउने बेला यही हो भनेर खटिएको छु,’ उनले भने, ‘यस्तो बेलामा आफ्नो तर्फबाट पनि खर्च त गर्नै पर्‍यो नि।’ 

आफूले फाइवरको झोलाको होलसेल व्यापार गर्दै आए पनि उम्मेदवारले झन्डा बनाउन फाइवर झोलाको प्रयोग गर्न थालेपछि झोलाको मूल्य बढेको पोखरा न्युरोडका झोलाका होलसेल व्यापारी वीरेन्द्र पन्थले बताए। एक केजी झोलाको बजार मूल्य २ सय ३० रुपैयाँमा आफूले बेच्दै आए पनि अहिले प्रति केजीको १५ रुपैयाँ बढी लिनुपरेको उनले बताए। आफूले विभिन्न पार्टीको गरेर १० हजार हाराहारी झन्डा तयार गरेर प्रदान गरेको नयाँ बजारमा स्क्रिन प्रिन्ट गर्दै आएका सुरज थापाले बताए। पार्टीको झन्डा बनाउने कामले गर्दा अन्य काम गर्न नपाइएको उनले जानकारी दिए। 

‘झन्डा बनाउने चटारो बढेकाले रातिसमेत खटिने गरेको छु,’ उनले भने, ‘चुनावपछि झन्डा प्रिन्ट नहुने भएकाले काम थाती राख्ने कुरा पनि भएन।’

प्रकाशित : मंसिर १२, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?