आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !

– योजना र बजेट पासै नगरी शिलान्यास – चापाकल वितरण
– दिनहुँ भोजभतेर – भन्सार छलेर भारतीय गाडी प्रयोग
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे । वडाध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमबीच शिलान्यास गरे पनि नगर परिषद्बाट धर्मशाला निर्माण गर्ने योजना भने पारित भएको छैन ।

आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत महिनादेखि नै आचारसंहिता लागिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका प्रवक्ता युवराज अधिकारीका अनुसार आचारसंहिता लागू भएपछि चालु योजनामा परेका बाहेक अन्य कुनै पनि निर्माण कार्य गर्न पाइँदैन । ‘मतदातालाई प्रभाव पार्ने किसिमले कुनै पनि निर्माण कार्य गर्न पाइँदैन,’ उनले भने ।

वडाध्यक्ष चौरसियाका अनुसार आगामी पुस १२ गते बस्ने नगर परिषदको बैठकमा धर्मशाला निर्माण गर्ने योजना पारिनेछ । ‘त्यतिखेर नै बजेट पनि पास गराउँछौं,’ उनले भने, ‘महानगरपालिका र वडाको बजेटबाट धर्मशाला निर्माण गर्ने योजना छ ।’ जानकारका अनुसार चुनावको मुखमा मेयर सरावगीले विभिन्न प्रलोभन दिएर मतदाता आकर्षित गर्न खोजेका छन् । कुल ३२ वडा रहेको महानगरपालिका पर्सा १ र २ नम्बर क्षेत्रमा पर्छ । उनी संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन् । धर्मशाला शिलान्यास गरेकै दिन सरावगीले नगवामा केही व्यक्तिलाई पार्टी प्रवेशसमेत गराएका थिए ।

स्थानीय उमेश यादवका अनुसार नगवामै रहेको मुस्लिम धर्मावलम्बीहरूको इदगाहका लागि मेयरले पर्खाल निर्माण गरिदिने आश्वासन बाँडेका थिए । चुनावको मुखमा मतदाता र ठेकेदार प्रभावित पार्न मेयरले अनेक आश्वासन बाँडिरहेका छन् । उनको यस कार्यको अन्य दलले भने विरोध गरेका छन् ।

आचारसंहिता उल्लंघनमा फोरम मात्र सक्रिय छैन । कांग्रेसले वीरगन्जको सौराहामा मतदाता आकर्षित गर्न चापाकाल वितरण गरेको सूचना आएपछि मुख्य निर्वाचन अधिकृतको टोली तत्काल पुगेर नियन्त्रणमा लियो । वाम गठबन्धनका पर्सा २ का उम्मेदवार पनि आफ्नो अस्पतालको गाडीमै साउन्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन् । चारवटासम्म चारचक्के सवारी प्रयोग गर्न पाइने प्रावधान भए पनि यहाँका प्रत्येक उम्मेदवारले दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेका छन् । अधिकांश उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडी प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । वीरगन्ज भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले उम्मेदवारले चुनावी अभियानमा प्रयोग गरेका केही गाडीले मात्र भन्सार राजस्व तिरेको जनाए । अधिकांश गाडी राजस्व छलेर प्रयोग भइरहेका छन् ।

भारतीय नम्बरको गाडी प्रयोग गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट इजाजत लिनुपर्ने आचारसंहितामा उल्लेख छ । मतदाता लोभ्याउन चुनावी भोजभतेरमा बन्देज लागे पनि अहिले दिनहुँ प्रत्येक क्षेत्रमा भोजभतेर चलिरहेको छ । प्रभावशाली उम्मेदवारले प्रत्येक वडामा बिहान र साँझको खानाको व्यवस्था नै गरेका छन् । चुनावी भतेरमा कुखुरा भन्दा खसीको मासु बढी खपत भइरहेको छ । अहिले आफ्नो मतदाता जोगाउन खर्च केन्द्रित छ । ‘निर्वाचन हुन ६ दिन मात्र बाँकी रहँदा प्रभावशाली उम्मेदवारको दिनको कम्तीमा १५ लाख रुपैयाँ खर्च भइरहेको छ,’ एक राजनीतिक जानकारले भने, ‘अरूको कार्यकर्ता तान्नुभन्दा पनि आफ्नै कार्यकर्ता अरूले नतानोस् भनेर खर्च भइरहेको छ ।’

मौन अवधिको एक दिन अगाडिदेखि तटस्थ मतदाता र विपक्षी दलका कार्यकर्ता खरिद गर्न ठूलो आर्थिक चलखेल हुने जानकार बताउँछन् । छिमेकी मुलुकको प्रभाव देखाउन उम्मेदवारले त्यहाँका सांसद र नेतालाई समेत चुनावी सभामा बोल्न लगाएका छन् । संघीय समाजवादी फोरम नेपालका क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले वीरगन्ज महानगरपालिका १८ सुखचैनामा आयोजना गरेको रात्रिसभामा भारतीय जनता पार्टीका मोज्जफरपुरका सांसद अजय निसाद र राष्ट्रिय जनता दलका साविर हुसैनको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १६, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?