यसरी एकसातादेखि मतपेटिका कुर्दै छन् उम्मेदवार र कार्यकर्ता

कृष्ण थापा

नुवाकोट — नजिकै सडक छ । सहकारी डिभिजन कार्यालयको मुलढोकामा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीभाइलाई गफिइरहेका युवाहरु छन् । बाहिर चिसो सिरेटो चलेको छ । उनीहरु हिटर तापिरहेका छन् । भित्र बरण्डामा दुई बन्दुकधारी प्रहरी पहरा दिइरहेका छन् । बाहिर सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । पल्लो भवनबाट चौबिसै घण्टा सेनाले बन्दुक तेर्स्याएर बसेको छ ।

यसरी एकसातादेखि मतपेटिका कुर्दै छन् उम्मेदवार र कार्यकर्ता

कार्यालयभित्र पस्ने मुलढोकामा नेपाल प्रहरी र म्यादी प्रहरी आँखा झिमिक्कै नगरी बसेका छन् । निन्द्रा जसलाई बढी लाग्छ नजिकै रहेको बिस्तरा पल्टाएर सुत्छन् । पार्टीले जिम्मेवारी ठूलो दिएको छ उनीहरुलाई ।

‘त्यो जिम्मेवारी हामी पूरा गर्दैछौ,’ वाम गठबन्धनबाट मतपेटिका कुर्न बसेका मुक्तिराम तामाङले भने, ‘पालैपालो गरेर बसेका छौं ।’ उनीहरुको साथमा दुईजना साथी छन् । नजिकै बसेका छन् लोकतान्त्रिक अर्थात् कांग्रेसका साथीहरु ।

उनीहरु पनि चिसोबाट जोगाइन सँगै एउटै हिटर ताप्दै थिए । नजिकै दुइवटा छुट्टाछुटै विस्तारा उल्टाएर राखिएको छ । उनीहरु पनि निन्द्रा लागेपछि पालै पालो सुत्ने गरेको बताए । उनीहरुलाई दोस्रो चरणको निर्वाचन कहिले सकिएला र मतगणना होला भन्ने चिन्ता छ ।

दुवै पार्टीका कार्यकर्ता मतपेटिका कुर्न रातसाँझ भनेका छैनन् । बेलाबेलामा उनीहरुका नेता तथा उम्मेदवार अवलोकन गर्न आउँछन् । उनीहरुले ३ सय ९६ मतपटिका रेखदेख गरिरहेका छन् ।

त्यसैगरी दुईसय मिटर दक्षिण दूरीमा कोष तथा लेखा नियन्त्रक कार्यालय छ । त्यही कार्यालयमा बाहिर सेना, कार्यालयमा सशस्त्र र नेपाल प्रहरी र म्यादी छन् । पहिलो तल्लोको मतपेटिका शिल गरिएको ढोका नजिक ओछ्यान लगाएर पाटीका कार्यकर्ता र उम्मेदवार स्वयं ढोकामा बसेका छन् । निन्द्रा लागेपछि उनीहरु पालैपालो सुत्छन् । चिसो सिरेटो यहाँ छैन । उनीहरु कम्वल, स्लिपिङ व्यागसहित मतपेटिका कुरिरहेका छन् । जनमतको कदर आफैंले गर्नुपर्छ ठानेर उनीहरुले जनताका मताधिकार जोगाउन बसेका छन् ।

‘जनताले दिएको अधिकार कुरेर बसिराको छु,’ निर्वाचन क्षेत्र नम्बर २ 'ख' का उम्मेदवार हिरानाथ खतिवडासहित दुई जनाले ३ सय ८४ वटा मतपेटिका कुर्दै भने । कांग्रेसका जीवन महर्जन पनि साथमै बसे । उनलाई पनि जनताको नासो कुर्नु परेको बताए ।

‘निन्द्रा नलागुन्जेल बस्छु,’ उनले भने,‘निन्द्रा लागेपछि साथी बोलाउनु पर्ला ।’ कांग्रेस पार्टीको सूचीमा मतपेटिका कुर्ने धेरै छन् । तर, कुर्न भने एकजना मात्रै देखिए । निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नं. १ को सिल गरेको ढोकामा प्लाई हालेर किल्ला ठोकेको छ । तर बाहिर झ्यालबाट भने बाक्सा छर्लङ्ग देखिन्थ्यो ।

प्रकाशित : मंसिर १६, २०७४ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?