पाँच करोड हिनामिना आरोपमा तीन पक्राउ

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको झन्डै पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका एक कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पाँच करोड हिनामिना आरोपमा तीन पक्राउ

बैंकको न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले अन्य दुई सहयोगीका साथमा बैंकको खातामा मौज्दात रहनुपर्ने रकम अपचलन गरेको ब्युरोले जनाएको छ । ब्युरोले काठमाडौं नागार्जुन नगरपालिका १ बस्ने दिपिकासहित तेह्रथुम सिम्ले घर भई बालाजु बस्ने प्रकाश घतानी र दोलखा भिमेश्वर नगरपालिका ६ घर भई काठमाडौं ३२ बस्ने रमेशकुमार थापालाई पनि पक्राउ गरेको छ ।

ब्युरोका अनुसार कृषि विकास बैंकको रामशाहपथस्थित कार्यालय र सोही बैंकको न्युरोड शाखाबीच हुने अन्तरशाखा कारोबारको हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई दिपिकाले ४ करोड ९१ लाख रुपैयाँ अपचलन गरेकी हुन् । १३ गते पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत पाटनबाट पाँच दिनको म्याद थप गरेको छ । ब्युरोले उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कारबाही गर्ने तयारी थालेको छ । 

प्रहरीका अनुसार सहायक टेलर दिपिकाले कृषि विकास बैंकमा जम्मा गर्न ल्याएका विभिन्न बैंकको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत सम्बन्धित खातावालाको खातामा जम्मा गर्थिन् । त्यसपछि भुक्तानी जेनेरेट गरिएको रिपोर्ट इडिट गरी सोही चेकलाई पुन: इलक्ट्रोनिक चेक क्लियरेन्स गरेर आफ्नो र आफन्तको खातामा चेकको रकम जम्मा गर्ने गरेको खुल्न आएको छ । 

ब्युरोका अनुसार यसरी जम्मा गरेको अवैध रकम दिपिकाले सुनचाँदी किन्न खर्चेकी थिइन् । पक्राउ परेका प्रकाश घतानीको खातामा समेत दिपिकाले अवैध रकम जम्मा गर्ने र उक्त रकमबापत घतानीले सुनका गरगहना दिने गरेको खुलेको छ । त्यस्तै रमेशकुमार थापाले भने अवैध रकम जम्मा गर्ने काममा दिपिकालाई सहयोग गरेको खुलेको छ ।
 

 

प्रकाशित : मंसिर १६, २०७४ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?