भाइरलको प्रकोपबाट एक महिनामा १२ को मृत्यु

औषधिसहित स्वास्थ्यकर्मी परिचालन, प्रभावित क्षेत्रमा औषधि अभाव
राजबहादुर शाही

मुगु — जिल्लाभर भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । भाइरल ज्वरोका कारण एक महिनाको अबधिमा १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । छायाँनाथ नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका केही बस्तीमा कडा भाइरल ज्वरो फैलिएको छ । घरघरै बिरामी थला परेका छन् ।

भाइरलको प्रकोपबाट एक महिनामा १२ को मृत्यु

भाइरल ज्वरोबाटै यो साता रिघा गाउँका ६५ बर्षीय बिउरासर पाण्डे, ४४ बर्षीय बिष्णु जैसी र ७५ बर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ बर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ । कार्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाड गाउँका ५९ बर्षीय सिहबहादुर बुढा, खमाले कवाकी ४२ बर्षीय मागी रोकाया, पैखुगाउँका ५६ बर्षीय धनसिंह थापा र ६५ बर्षीय दलसुर थापाको मृत्यु भएको थियो । मंसिर पहिलो साता छायाँनाथ रारा नगरपालिकास्थित श्रीनगर गाउँकी ६५ बर्षीया कलादेबि मल्ल, इमा गाउँका ७५ बर्षीय बउदे खडा, ढुम गाउँकी ७२ बर्षीय लालशोभा बुढा र जउमति सेजुवालको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । कार्यालयका अनुसार सोरु गाउँपालिकाको नार्थपु जडेपानी गाउँका ६२ बर्षीय छत्तबहादुर मल्ल, फोतु लिब्रु गाउँकी ७० बर्षीय फुल्ती बुढा र ६० बर्षीय हरिनी दमाईको भाइरल ज्वरोले ज्यान गएको हो ।

जिल्लाभरी ज्वरोका कारण १२ जनाको मृत्यु भएको कार्यालयका एचए बलीबहादुर बुढाले बताए । मृत्यु हुनेहरुमा अधिकाश दमका रोगी भएको उनको भनाई छ । करिव डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरल ज्वरो फैलिंदा गाउँका अधिकांश बिरामी छन् । बिरामीलाई स्यहारसुसार गर्ने समेत मान्छे नभएको रिघा गाउँकी कुसुमकली उपाध्यायले बताइन् । औषधि नपाउँदा ज्यान बचाउन मुश्किल भएको उनको भनाई छ ।

नगरपालिकाको करिव तीन सय घरधुरी रहेको भामबाडा गाउँमा पनि अधिकांश घरमा बिरामी छन् । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिगंटा लाग्ने, बान्ता आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण बिरामीमा देखिने गरेका छन् । अधिकांशको उपचार अभावमा ज्यान गएको हो । भाइरल ज्वरो फैलिएका क्षेत्रमा स्वास्थ्य केन्द्र भएपनि औषधि नभएको स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरोले सबैभन्दा बृद्धबृद्धालाई असर गरेको कार्यालयले जनाएको छ ।

भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट अहेव ज्ञानसिह बुढासहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित प्रभावित क्षेत्रमा खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । मौसम परिर्वतनसंगैको चिसो, फोहर वातावरण, दुषित खाना र पानीका कारण भाइरल ज्वरो फैलिएको चिकित्सकको भनाई छ । जिल्लामा महामारी नियन्त्रणका लागि निकासा भएको दुई लाख रकमको औषधि खरिद गरि प्रभावित क्षेत्रमा पठाइएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए ।

प्रकाशित : मंसिर १७, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?