सीमा सुरक्षा कडा पार्न निर्देशन

– भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधन दुवैतर्फ अधिकतम चेकजाँच
– संयुक्त गस्ती र निगरानी बढाइयो
चन्द्रशेखर अधिकारी

काठमाडौं — निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए ।

सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो ।

निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । चेकजाँच कडा पारिएको छ । निगरानी बढाइएको छ । सेनाको निगरानी पनि छ,’ गृह अधिकारीले स्पष्ट पारे । 

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्राय: सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो । ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् । तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं ।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ । सीसीटीभीमार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए ।

 नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ । सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए । ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने । पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन् । नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन् । 

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था फितलो देखिएपछि सुरक्षा रणनीति नै परिवर्तन गरिएको हो । राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सादा पोसाक सुरक्षाकर्मी परिचालन, सूचना संकलन र विश्लेषण गरेर नै नयाँ रणनीति तय गरिएको बताइएको छ । ‘सेनाले आफ्नो जिम्मेवारी चौबीसै घण्टा खटेर निर्वाह गरिरहेको र त्यसका लागि सबै पक्षमा निगरानी गर्ने मात्र हो,’ फिल्ड अनुगमन सक्रिय पार्ने काम भएको सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालले भने, ‘हामी निकै चनाखोसाथ अघि बढेका छौं । यसमा अन्य निकाय पनि उत्तिकै सक्रिय छन् ।  निर्वाचन सुरक्षा मजबुत छ ।’

निर्वाचनका लागि सबै खाले संयन्त्र चुस्त बनाउने क्रममा सीमा नाकालाई पनि ध्यान दिइएको हो । १९ गतेदेखि तीन दिनसम्म नाका नै पुरै बन्द हुनेछन् । दुवै देशमा निर्वाचन हुँदा सीमामा संयुक्त गस्ती गर्ने प्रचलन पनि छ । संयुक्त टोलीमा नेपालका तर्फबाट सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसबी) का सुरक्षाकर्मी एकै लाममा मिसिएर हिँडेको अधिकारीले जनाए ।

प्रकाशित : मंसिर १८, २०७४ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको चुनावी प्रचारप्रसार : कहाँ छन् मदन भण्डारी ?

सुरेश न्यौपाने

काठमाडौं — २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ । प्रयोगमा ल्याइएका तुल ब्यानर, पोस्टर र श्रव्य–दृश्यलगायतका कुनै पनि प्रचारप्रसार सामग्रीमा भण्डारी देखिँदैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रयोगमा ल्याएका पोस्टरलगायतका निर्वाचन सामग्रीमा पनि अध्यक्ष ओली र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको देखिन्छ । जबकि ०४८ यताका प्रत्येक चुनावमा त्यो ठाउँ पूर्वमहासचिव मदन भण्डारीले लिँदै आएका थिए । यस अवधिमा एमाले दुई वटा संविधानसभा निर्वाचन, तीनवटा संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनमा भाग लिइसकेको छ । यी सबै चुनावका प्रचार सामग्रीमा भण्डारीलाई प्रमुखताका साथ स्थान दिइँदै आएको थियो । केही महिनाअघिको स्थानीय तहको चुनावमा समेत भण्डारीका तस्बिर र विचार प्रयोग गरिएका थिए । तर, यसपटक न त भण्डारी देखिन्छन् न त उनका विचारहरू नै । छापा सामग्री, अडियोदेखि भिडियो सबैतिर अध्यक्ष ओली नै छाएका देखिन्छन् ।

किन चटक्कै बिर्सियो त एमालेले पूर्वमहासचिव भण्डारीलाई ? ‘जुन जतिबेला प्रभावकारी हुन्छ, त्यही प्रयोग गर्ने हो । त्यसैले यसपटकको चुनावमा अध्यक्ष र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको छ,’ एमाले निर्वाचन परिचालन समितिका प्रवक्ता तथा पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘उम्मेदवारहरूलाई चिनाउनुपर्ने भएकाले यस्तो भएको हो, जुन आकर्षक बन्छ, त्यही प्रयोग हुन्छ । अन्य कुनै विशेष कारण छैन ।’ त्यसैगरी वाम गठबन्धनका रूपमा चुनावमा गएका कारण पनि पार्टी अध्यक्ष र उम्मेदवार केन्द्रित प्रचार सामग्री प्रयोग गरिएको रिमालले बताए ।

नेपाली कांग्रेस र तत्कालीन वाममोर्चाको संयुक्त आन्दोलनकै परिणामस्वरूप ०४६ सालमा प्रजातान्त्रिक आन्दोलनले सफलता हात पारेको थियो । त्यतिबेला छरिएर रहेका कम्युनिस्ट दलहरूलाई एक ठाउँमा ल्याएर वाममोर्चाको गठन गर्न र नेपाली कांग्रेससँग संयुक्त आन्दोलनमा जान स्व. भण्डारीले विशेष पहल गरेका थिए । उक्त राजनीतिक परिवर्तनपछिको आमनिर्वाचनमा भण्डारी काठमाडौं १ र ५ बाट निर्वाचित भएका थिए । क्षेत्र १ मा उनले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई नै पराजित गरेका थिए । त्यो जितले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै उनको छवि उज्यालिएको थियो ।

माओवादीसँग गठबन्धन निर्माण गरेका बेला मदन भण्डारीलाई समेत ल्याउँदा ‘कम्युनिस्ट’ देखिने भएकाले पनि एमालेको चुनावी अभियानमा पछिल्लो बद्लाव आएको हुन सक्ने समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले बताए । ‘सबैभन्दा पहिले वाम गठबन्धनले दिएको ‘समृद्धि र स्थायित्व’ राजनीतिबाट अलग राख्न जबज र भण्डारीलाई बिर्सिएको हो भन्ने प्रश्नको निवारण गरिनुपर्छ । यदि त्यो हो र कसैले समृद्धि र स्थायित्व राजनीतिविहीन एजेन्डा हो भनेर दाबी गर्छ भने गलत हो,’ मिश्रले भने, ‘राजनीतिबाट अलग गरेर त्यस किसिमको लक्ष्य सम्भव छैन ।’

प्रकाशित : मंसिर १८, २०७४ ०१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्