कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनरागमनको आस

परासी — कांग्रेस छाडेर मधेस अभियानमा लागेका पूर्वमन्त्री जेपी गुप्ताले शनिबार एउटा फोटो ट्वीट गरे । फोटोमा गलाभरि सयपत्री माला र शिरमा ढाकाटोपी लगाएर ट्रिपरमाथि चढेका हृदयेश त्रिपाठी झुकेर मतदातालाई नमस्कार गरिरहेका थिए ।

पुनरागमनको आस

गुप्ताले यो फोटोमाथि टिप्पणी गर्दै लेखेका छन्, ‘हृदयेश त्रिपाठीको यो रूप देख्दा अब चुनावमा पुरुष महिला र महिला पुरुष बन्नमात्र बाँकी छ ।’

लामो समय मधेसवादी राजनीति गरेर एमालेको चुनाव चिह्नमा स्वतन्त्र समूहका रूपमा चुनाव लडिरहेका हृदयेश त्रिपाठीले अहिले यो प्रश्न झेलिरहेका छन्, ‘हिजो जसको विरोधमा यत्रो राजनीति गरियो अहिले त्यसमै किन ?’ हृदयेश भन्छन्, ‘मलाई मधेसवाद के हो, के होइन भनेर कसैले सिकाउनु पर्दैन, मधेसका लागि आवश्यक छ/छैन मलाई थाहा छ । यति वर्षको संघर्षपछि मैले मधेसको मुद्दालाई देशको मुद्दा बनाएँ, अब त्यसको समाधानका रूपमा राष्ट्रिय रूपको गठबन्धन नभई सम्भव छैन । अरू दल पनि अब यसको समाधान नगरी हुँदैन भन्नेमा पुगेका छन् ।’

प्रदेश निर्माणका क्रममा टुक्रिएर दुई जिल्ला बनेको पश्चिम नवलपरासीको क्षेत्र १ मा वाम गठबन्धनको समर्थनमा हृदयेश चुनावी मैदानमा उत्रिएका छन् । सदरमुकाम परासीबाट करिब दस किलोमिटर दक्षिणको बजार बेलासपुरमा आयोजित सभामा शुक्रबार त्रिपाठी भोजपुरीमा भाषण गर्दै थिए, ‘चुनाव पनि एउटा आन्दोलन हो । यो मधेस आन्दोलनकै एउटा अंग हो ।’ पश्चिम नवलपरासीको क्षेत्र २ का वाम गठबन्धनका उम्मेदवार माओवादी नेता घनश्याम यादवका लागि भोट माग्न आएका त्रिपाठीले भने, ‘कांग्रेस र एमाले उस्तैउस्तै हुन्, कांग्रेसले यतिका वर्ष हामीलाई सगोत्री बनेर ठग्यो । अहिले एमालेले हाम्रा कुरा सुन्छु भन्छ भने त्यसमा समस्या के छ ?’

२०४८, ०५१, ०५६ र ०६४ का निर्वाचनमा निर्वाचित त्रिपाठी ०७० मा भने पराजित भए । यो क्षेत्रमा त्रिपाठीका मुख्य प्रतिस्पर्धा कांग्रेसका किसान नेता देवकरण जयसवालसँग छ । गाउँमा सन्तु प्रधानका नामले परिचित जयसवालसँग त्रिपाठीको यो तेस्रो भेट हो । ०६४ मा त्रिपाठीले १ सय ६३ मतले पराजित गरेका जयसवालले ०७० मा त्रिपाठीलाई ६ हजार ३ सय मतले पराजित गरेका थिए ।

यसपालि एमाले र माओवादीको समेत समर्थन आफूलाई रहेकाले जित्नेमा ढुक्क भएको त्रिपाठी बतााउँछन् । ‘कांग्रेससँग चुनाव लड्ने कुनै मुद्दा नै छैन, त्यही भएर वाम गठबन्धनले जित्यो भने बोर्डर बन्द हुन्छ भनेर जनतामा भ्रम फैलाइरहेका छन्,’ त्रिपाठीले भने । मधेसवादी दलका कार्यकर्ताहरू भेटिँदा आफूसँग सल्लाह लिने गरेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘म उनीहरूको संरक्षण गर्नेछु । त्रिपाठीले आफ्नो स्वतन्त्र समूह मधेसवादी दलमा नफर्किने र एमालेमा पनि समाहित नहुने स्पष्ट पारे । उनले भने, ‘नयाँ दल बन्न सक्छ ।’

त्रिपाठीका प्रतिद्वन्द्वी देवकरण जयसवाल राष्ट्रियस्तरमा ठूलो नाम भएका नेता नभए पनि स्थानीय तहमा लोकप्रिय मानिन्छन् । उनको प्रचारमा गाउँका कार्यकर्ता आफ्नै खर्चमा हिँडिरहेका छन् । ‘हृदयेशजी मधेसको मुद्दा छोडेर एमालेमा जानुभयो, जयसवालजी पैसावाला मान्छे होइन तर इमानदार हो । त्यसैले कार्यकर्ताहरू स्वत:फूर्त रूपमा आफ्नै तेल हालेर, खाना खाएर हिँडिरहेका छौं,’ क्षेत्रका कांग्रेस कार्यकर्ता नारायण भण्डारीले भने ।

डुबान र सीमा समस्या रहेको सुस्ता क्षेत्रका जयसवाल यस विषयमा सक्रिय छन् । सुस्ता क्षेत्रमा तटबन्ध निर्माणमा भूमिका निर्वाह गरेका उनी सुस्तामा सीमा मिचिएको बारे पनि मुखर भएर बोल्छन् । ‘सुस्ताको कुरा धेरै उठाउँछु भनेर संसदमा मलाई माइनस गर्ने काम पनि गरियो,’ उनी भन्छन् । त्रिपाठी भने यसलाई कूटनीतिक समस्या भन्दै त्यसैअनुसार समाधान गर्नुपर्ने बताउँछन् । 

त्रिपाठीले मधेसको मुद्दा छाडेका कारण पनि आफ्नो जित सुनिश्चित भएको उनी बताउँछन् । सुस्ता क्षेत्रको मतमा जयसवालको प्रभाव भए पनि एमाले पकड मानिने बर्दघाट क्षेत्र यही क्षेत्रमा थपिएका कारण प्रतिस्पर्धा हुने मानिएको छ । 

पश्चिम नवलपरासीको क्षेत्र २ मा भने यसपालि तीन पूर्वराज्यमन्त्रीबीच भिडन्त छ । कांग्रेसबाट पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेल, माओवादीका पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव र राजपाबाट पूर्वशिक्षा राज्यमन्त्री गोविन्द चौधरी प्रतिस्पर्धामा छन् । 

०५१ र ०५६ मा यस क्षेत्रबाट निर्वाचित भएका कँडेल ०७० मा एमालेका वैजनाथ चौधरीसँग झिनो मतले पराजित भएका थिए । त्यसबेला कांग्रेसकै गुणनिधि तिवारी विद्रोही थिए । यस पटक तिवारी कांग्रेसबाटै प्रदेशसभामा उम्मेदवार छन् । ‘त्यसबेला म नै पार्टीको जिल्ला सभापति थिएँ, मैले नै साथीहरूलाई मिलाउन नसक्दा समस्या भएको थियो, यसपालि हामी सबै मिलेका छौं,’ राजमार्गको बजार सुनवलदेखि केही उत्तरको पीपलटोलको कोणसभामा भेटिएका कँडेलले भने । 

प्रकाशित : मंसिर १८, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?