कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आशीर्वाद थाप्दै उम्मेदवार

ठाकुरसिंह थारू

नेपालगन्ज — अरू बेला बेवास्ता गरे पनि निर्वाचन लागेपछि नेताहरू आफैं मतदाता खोज्दै घरघर पुग्छन् । बाँकेका उम्मेदवारहरू पनि यति बेला मतदाताका दैलो चहार्दै छन् । उनीहरू त्यहाँ भोट मात्रै माग्दैनन्, पाको पुस्ताका सामु शिर झुकाएर जितको आशीर्वाद पनि थापिरहेछन् । ज्येष्ठ नागरिकका हात आफैंले आफ्नो टाउकामा तानेर आग्रह गर्छन्, ‘तपार्इंको एक भोटले म जित्दै छु । जितको आशीर्वाद दिनुहोस् ।

आशीर्वाद थाप्दै उम्मेदवार

जिताउनका लागि भोट पनि ।’

बस्तीमा पुगेर आशीर्वाद थाप्नु प्रतिस्पर्धा नै बनेको छ उनीहरूका लागि । नेताहरू झुकेको देख्दा मतदाताले अनेकखाले टिप्पणी गरिरहेका छन् । ‘निर्वाचन सकिएपछि नाक, मुख देख्न पाइने होइन । जितेर गए भेट्नै गाह्रो होला तर भोट माग्न घरमै आइरहेका छन्,’ नेपालगन्ज उपमहानगरपालिका धम्बोझीका रामप्रसाद काँदु भन्छन्, ‘चुनाव लागेपछि दिनमा तीन/चार प्रचार टोली भोट माग्न आइरहेका छन् । उम्मेदवारहरूले टाउको निहुराउँदै आशीर्वाद माग्छन् ।’ 

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकै आइसक्दा उम्मेदवारलाई घरदैलो गर्न भ्याइनभ्याइ छ । उनीहरूले सम्भव भएजति स्थानमा आफैं पुगेर वा प्रतिनिधि पठाएर प्रचारप्रसारलाई तीव्रता दिएका छन् । बाँकेमा कांग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धन, एमाले–माओवादी केन्द्रको वाम गठबन्धन र संघीय समाजवादी फोरमलगायतका दल निर्वाचन स्पर्धामा छन् । प्रतिनिधिसभा क्षेत्र २ मा त्रिपक्षीय भिडन्त छ । प्रतिनिधिसभा क्षेत्र १ र ३ मा भने दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

उम्मेदवारहरू मतदाता आकर्षित गर्न अनेकखाले आश्वासन दिइरहेका छन् । राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन शर्मा आचार्यले आशीर्वाद थाप्ने उम्मेदवार शैलीलाई ‘चुनावी नौटंकीका’ रूपमा टिप्पणी गरे । उनले मतदाताहरूको सहानुभूति पाउन उम्मेदवारले आशीर्वादको सहारा लिएको बताए । ‘चुनाव नभएका बेला मतदाता र सर्वसाधारणलाई भेट्ने संस्कार नेताहरूमा छैन । त्यसैले नेता–मतदाताबीचको दूरी बढदो छ,’ उनले भने, ‘दूरी बढाउने काम नेताहरूबाटै भएको हो । निरन्तर दोहोरो सम्बन्ध कायम राखेको भए यो अवस्था आउने थिएन ।’

उम्मेदवारहरूले गाउँ–गाउँमा पक्की सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत मुद्दाहरू सम्बोधन गर्ने भन्दै भोट मागिरहेका छन् । आफू निर्वाचित भए स्थानीयका सबै समस्या सम्बोधन गर्ने आश्वासन बाँडिरहेका छन् । ‘निर्वाचन आएपछि यो गर्छु, त्यो गर्छु भन्न नेताहरू घरमै आउँछन् । भोटका लागि खुट्टै ढोग्न आउँछन् । तर जितेर गएपछि कहिल्यै फर्कंदैनन्,’ नेपालगन्ज उपमहानगरपालिका कोरियनपुरका शान्ति सिलवाल भन्छिन् । 

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?