कहाँ चुके सुरक्षा निकाय ?

जनकराज सापकोटा

काठमाडौं — राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।

कहाँ चुके सुरक्षा निकाय ?

कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,’ स्रोत भन्छ, ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ । ‘बलियो सुरक्षा व्यवस्था छ भन्नेमा जनता आश्वस्त नभएका कारण स्थानीय तहको निर्वाचनमा भन्दा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खस्यो,’ राजनीतिक विश्लेषकहरू भन्छन्, ‘सुरक्षा व्यवस्था अझै कमजोर भयो भने दोस्रो चरणमा झनै कम मत खस्न सक्नेछ ।’

पहिलो चरणको निर्वाचन अवधिभर धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइँदा पनि राजधानीको सुरक्षा व्यवस्था कमजोर देखिएको हो । पहिलो चरणको निर्वाचनलगत्तै काठमाडौंमा उच्च सुरक्षा सतर्कता नबढाइएकाले नेकपा (विप्लव) समूहले त्यसैको फाइदा उठाएको प्रहरी अधिकारी बताउँछन् ।

राजधानी भित्रिने नाकामा कडा सुरक्षा जाँच र उपत्यकामा विप्लव समूहमाथि कडा निगरानी बढाइँदा पनि एकपछि अर्को विस्फोटका घटना कसरी सम्भव भयो त ? राजधानीमा विस्फोट गराउन प्रयोग भएका विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा जम्मा गरिएको प्रहरी स्रोतको दाबी छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार राति मात्रै उपत्यकाका १८१ स्थानमा सुरक्षा जाँच र खानतलासी गरिएको थियो । काठमाडौंका ११४, ललितपुरका ३९ र भक्तपुरका २८ स्थानमा आइतबार साँझदेखि सोमबार बिहानसम्म दुई चरणमा खानतलासी गरिएको थियो । प्रहरीले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका जगाती, फर्पिङ, नागढुंगा, जर्सिङपौवा, टोखा, मुड्खु, भैंसेपाटीलगायत सबै नाकामा जाँचपडताल कडा पारेको छ ।

प्रहरीको जाँच र खानतलासी प्रभावकारी नहुनाले पनि सुरक्षा स्थिति कमजोर बनेको पूर्वडीआईजी केशव अधिकारी बताउँछन् । उनका अनुसार प्रविधिबिना हातैले गरिने छामछुमबाट केही हात नपर्ने उनको भनाइ छ । उपत्यकामा करिब ९ लाख हाराहारी सवारीसाधन रहेको र त्यति धेरै सवारीको जाँच प्रविधिबिना प्रहरीले मात्र गर्नै नसक्ने उनको तर्क छ । ‘ढिलो गरी सुरु गरिएको सुरक्षा जाँच र पर्याप्त सूचना अभावले विस्फोटका घटना रोकिन नसकेका हुन्,’ उनी भन्छन् ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहमाथि प्रहरीको निगरानी बढेपछि उसले पछिल्ला दिनमा भाडाका अपराधी प्रयोग गरेर विस्फोट गराइरहेको छ । तर भाडाका मान्छे को हुन् र तिनीहरू कसरी परिचालित भइरहेछन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

विप्लव समूहलाई हेर्ने प्रस्ट दृष्टिकोण नहुनाले पनि प्रहरीले उच्च मनोबलका साथ काम गर्न सकिरहेको छैन । ‘गृह मन्त्रालयले प्रस्ट निर्देशन नदिँदा सुरक्षा निकाय अलमलमा छन्,’ पूर्वडीआईजी अधिकारी भन्छन्, ‘उनीहरूले तत्काल सही एक्सन लिन सकिरहेका छैनन् ।’ स्थानीय तहको निर्वाचन क्रममा पनि ठूलो संख्यामा विप्लव माओवादीका नेता–कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये अधिकांशमाथि सार्वजनिक अपराधमा मुद्दा चलाइयो । तर सबैजसो चुनावलगत्तै केही हजार धरौटी बुझाएर छुटे । ‘त्यसरी छुटेकाहरूको मनोबल पछिल्लो निर्वाचनमा झनै उच्च भएको देखिन्छ,’ अधिकारी भन्छन्, ‘स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराइयो भनेर सुरक्षा निकायले पनि आसन्न चुनावलाई गम्भीरतासाथ ध्यानपूर्वक हेरेनन् र अहिलेको स्थिति आइपर्‍यो ।’

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशी भने प्रहरीको उच्च सुरक्षा सतर्कताका कारण विस्फोटका घटनामा कमी आएको दाबी गर्छन् । ‘यति धेरै जाँच र खानतलासी नभएको भए अझै धेरै पडकिन्थ्यो,’ उनले भने ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त नेपाली सेनाले पनि आफ्नो गस्ती र निगरानी बढाएको छ । तेस्रो घेरामा रहेर काम गर्ने सेना विस्फोटक पदार्थ भेटिएका क्षेत्र पुगिरहेको छ । सेनाको निगरानी र गस्ती जारी रहेको सैनिक प्रवक्ता नैनराज दाहालले बताए ।

सोमबार चपलीमा भएको विस्फोटको घटनालगत्तै महानगरीय प्रहरी कार्यालयले निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको भन्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विशेष सुरक्षा योजना तयार पारी मोबाइल गस्ती, कर्डन एन्ड सर्च, पुल र नाकामा चेकजाँच, उम्मेदवारका लागि अंगरक्षकको व्यवस्था र सादा पोसाकमा प्रहरी परिचालन गरिएको उल्लेख छ । महानगरीय प्रहरी कार्यालयले सुरक्षाका निम्ति तालिम प्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मंसिर १ यता निर्वाचनविरोधी गतिविधिमा संलग्न ४२ जना पक्राउ परेकामा ३८ जनामाथि मुद्दा चलाइएको कार्यालयले जनाएको छ । त्यस्तै उपत्यकाका तीनै जिल्लाबाट मंसिर १ यता १६८४ जनालाई शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै पक्राउ गरिएको छ । तीमध्ये ५५० माथि मुद्दा चलाइएको छ । ११३४ जनालाई सोधपुछपछि छोडिएको छ ।

यी हुन्– ७ कारण

१. गुप्तचर संयन्त्र फितलो हुनु

२. सुरक्षा निकायबीचको समन्वय

कमजोर रहनु

३. पहिलो चरणमा धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइनु

४. जाँच र खानतलासी प्रभावकारी नहुनु

५. विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा हुनु

६. विस्फोटमा भाडाका अपराधी प्रयोग हुनु

७. विप्लव समूहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु

थापा लक्षित विस्फोट, १२ घाइते

काठमाडौंको चपलीमा सोमबार भएको विस्फोटमा घाइते भएका कांग्रेस उम्मेदवार गगन थापा उपचारपछि शुभेच्छुकसँग ।तस्बिर : कबिन अधिकारी/कान्तिपुर

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाको चपलीमा नेपाली कांग्रेसबाट काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापालाई लक्षित गरी सोमबार दिउँसो बम विस्फोट गराइँदा उनीसहित १२ घाइते भएका छन् । पिठ्युँ र कानमा सामान्य चोट लागेका थापा उपचारपछि फर्किएका छन् । त्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख डा. प्रतापनारायण प्रसादका अनुसार विस्फोटमा परेकामध्ये श्याम श्रेष्ठ र काजी श्रेष्ठ गम्भीर छन् । छर्राका कारण रक्तनलीमा समस्या देखिएकाले श्यामलाई मनमोहन कार्डियाथोरासिक एन्ड भास्कुलर सेन्टर भर्ना गरिएको छ । काजीको घुँडाको जोर्नी फुटेको छ ।

रिमोट कन्ट्रोल बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटलगत्तै महानगरीय प्रहरी परिसरले चपली र महाराजगन्ज क्षेत्रबाट शंकास्पद ४० जनालाई पक्राउ गरेको छ । तीमध्ये १२ विप्लव समर्थक रहेको प्रहरीले जनाएको छ । शुक्रबारयता राजधानीमा भएको यो आठौं विस्फोट हो ।

आवाजसँगै मुस्लो उड्यो

-सुमन बस्नेत, प्रत्यक्षदर्शी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भंगालमा कार्यकर्ता साढे १० बजे जम्मा भएर घरदैलो गर्ने कार्यक्रम थियो । सोहीअनुसार तपस्थली वृद्धाश्रममा जम्मा भएर कांग्रेस कार्यकर्ताले घरदैलो सुरु गरे ।

केही दिनअघि गगन थापा गोरखा गएकाले त्यहाँ केही घरमा भोट माग्न पुग्न बाँकी थियो । त्यसकारण चाँडै ५०/६० घरमा घरदैलो कार्यक्रम सिध्याएर ३ बजे सिफल चौरमा अन्तिम चुनावी सभा गर्ने कार्यक्रम थियो । भंगाल पुग्नुअघि एकजना मतदाताको घरमा फूलमाला लगाएर उनी भंगालतर्फ अघि बढे । त्यहाँ अलिकति माथि पुगिसकेर प्रदेशसभाका उम्मेदवार साधुराम खड्कासँग केही कार्यकर्ता सेल्फी खिच्न थाले । गगन दाइ भने अघि बढे । प्रत्येक दिन उनको घरदैलोको फोटो खिच्ने मेरो जिम्मेवारी भएका कारण म अधिकांश समय उनकै वरपर हुन्थें । त्यसकारण म तस्बिरहरू क्यामेरामा कैद गर्दै अघि बढ्दै थिएँ ।

अलि पर पुगेपछि अचानक ठूलो आवाज आयो । घरका सिसाहरू गल्र्याम्म खसे । पछाडि हेर्दा धूवाँ र मुस्लो देखियो । सबै चिच्याएको आवाज मात्र सुनियो । एकअर्कालाई कसैले देखेन । रुवाबासी र चिच्याएको मात्र सुनियो । कोही कसैलाई सम्हाल्ने अवस्थामा थिएनौं । सबै धूलो र मुस्लो उडेपछि एकअर्काका मुखमा हेर्न थाले । तर, केही बोल्ने आँट कसैमा थिएन । गगन दाइ भने छेउमा उभिएका थिए ।

गगनका ढाडमा ढुंगा लागेकाले उनी केहीबर चल्न सकेनन् । कार्यकर्ता भागाभाग गरेको केहीबेरपछि देखियो । एकछिनपछि हेर्दा त राजकाजी श्रेष्ठ भुइँमा लडेको देखें । उनी रगताम्मे अवस्थामा थिए । एकजना साथीले निधार र खुट्टा समातेका थिए । यी सबै दृश्य देखेर गगन थापा अगाडि उभिएर रोइराख्नुभएको थियो । श्याम श्रेष्ठको पाखुरामा ढुंगा छिरेको थियो । उनलाई तत्कालै अस्पताल लगियो । रेणु बरुवाल बहिनी टाउको र खुट्टामा चोट लागेर ढलेकी थिइन् । उनी स्कुटरमा आएकी थिइन् । बमले स्कुटर र उनलाई उछिट्याएको रहेछ । बासिक नयाँ टोल सुधार समितिका अध्यक्ष पूर्ण श्रेष्ठको हातमा चोट लागेको थियो । अन्य घाइतेलाई पनि तत्कालै शिक्षण अस्पताल दौडाइयो । त्यो बेलासम्म म गगन दाइसँगै थिएँ । त्यसपछि गगन दाइलाई पनि उनकै गाडीमा अस्पताल लगियो । उनको ढाड र बायाँ कानमा चोट लागेको छ ।

(कुराकानीमा आधारित)

जिल्लाहरूमा पनि विस्फोट

कपिलवस्तु (कास)– कांग्रेसका क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्यलाई लक्षित गरी आइतबार राति २ स्थानमा बम प्रहार भएको छ । बुद्धभूमि नगरपालिका–९ बरकलपुर नजिक र ३ नम्बर वडाको रनगाईस्थित पुलमा पेट्रोल बम प्रहार गरिएको हो । आचार्यलाई लक्षित गरी राति १० बजे प्रहार गरिएको बम कांग्रेस नेता चन्द्रभान थारू चढेको लु१च ७१७५ नम्बरको बलेरो जिपको पछाडि लागेको थियो । जिपका सिसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

आचार्य प्रचार सकेर राति ११ बजेतिर घर फर्कंदा रनगाई पुलमा पनि विस्फोट गराइएको थियो । विस्फोटले क्षति भएन । निर्वाचनको ४ दिनअघि आफूलाई लक्षित गरी विस्फोट गरिएको भन्दै उनले खेद व्यक्त गरेका छन् । ‘प्रचारमा हतोत्साहित गर्न खोजेको देखियो,’ उनले भने ।

बर्दिया क्षेत्र १ अन्तर्गतको बाँसगढी नगरपालिका–५ मा नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार केशव पौडेललाई लक्षित गरी विस्फोट गरिएको छ ।

सोमबार साढे ६ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । पौडेलको घरसँग जोडिएको नालामा बम विस्फोट भएको हो । नालाको पक्की ढलमा क्षति पुगेको एसपी जनक भट्टराईले बताए । पौडेलले आफूलाई लक्षित गरी बम विस्फोट गराइएको जनाए । ‘घरभित्र छिर्दै गर्दा बम विस्फोट भयो,’ उनले भने, ‘दुई सेकेन्डले मात्र ढिलो भएको भए ज्यानै जान सक्थ्यो ।’

सर्लाहीमा पनि बम हानियो

सर्लाहीमा प्रचारमा कुदेको उम्मेदवारको जिपलाई लक्षित गरी सोमबार बम प्रहार भएको छ । क्षेत्र ३ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहको प्रचारमा प्रयोग भएको जिप गुडेको बाटोमा बम विस्फोट गराइएको हो । हजारियाबाट क्षेत्रीय सडक हुँदै कर्मैयातर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गभन्दा तीन किलोमिटर दक्षिण खोल्साजस्तो ठाउँमा विस्फोट भएको प्रहरीले जनायो । विस्फोट जिपभन्दा केही टाढा भएकाले खासै क्षति भएन । बम विस्फोटका बेला ना२च २०१९ नम्बरको जिपमा चालक मात्र थिए ।

प्रकाशित : मंसिर १९, २०७४ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?