कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मूलधार बन्दै दूर शिक्षा

औपचारिक शिक्षा नपाएको जीवनमा आयो परिवर्तन
हरि गौतम

रुकुम — चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोका त्यसअघि सामान्य गृहणि थिइन् । विविध कारणवश औपचारिक शिक्षा लिन नपाएकी उनी घरगृहस्थीमा मात्रै सीमित हुनुपरेको थियो । जिल्लामै दूरशिक्षा तथा खुला सिकाइका लागि विद्यालय सुरु भयो, त्यसपछि उनले यसको सदुपयोग गरिन् ।

मूलधार बन्दै दूर शिक्षा

चौरजहारी नगरपालिका २, शीतल माविमा खुला विद्यालय सुरु भएपछि उनी शिक्षाको मूलधारा आइन् । सानोमा धेरै पढ्न नपाएकी रोकालाई खुला विद्यालयबाट एसएलसी पास गरेपछि त्यसपछिको कक्षा पढ्न सजिलो भयो ।

औपचारिक पढाइको बिट मारिसकेकी उनलाई खुला विद्यालयले ठूलो सहयोग गर्‍यो । यसैबाट आफूले थप शिक्षा लिन पाएको उनी बताउँछिन् । ‘विभिन्न कारणले औपचारिक शिक्षाबाट अलग रहेकी म खुला विद्यालयबाट शिक्षाको मूलधारमा आएँ,’ उनले भनिन्, ‘यसपछि अन्य गतिविधि गर्न पनि सजिलो भयो ।’ खुला विद्यालयबाट एलएलसी पास गरेर थप कक्षा पढ्न थालेपछि राजनीतिक सक्रियता बढाएको र त्यसकै कारण आफू नगरपालिकाको उपप्रमुख भएको उनको भनाइ छ । 

शीतल मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बस्नेतको यो हैसियत पनि सोही विद्यालयले नै बनाइदिएको हो । घरायसी र आर्थिक कारणले औपचारिक शिक्षा लिनबाट वञ्चित बस्नेतले पनि खुला विद्यालयबाट एसएलसी पास गरे । ५ वर्षअघि सोही दूरशिक्षा तथा खुला सिकाइअन्तर्गत एसएलसी गरेका बस्नेतले १२ कक्षा पनि पास गरिसकेका छन् । 

हाल सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने हैसियत यसैले बनाइदिएको बस्नेत बताउँछन् । ‘मैले फेरि यसरी आईए पास गरुला भन्ने कहिल्यै सोचेको थिइनँ,’ उनले भने, ‘खुला विद्यालय सुरुपछि एसएलसी गरेर आईए पनि गर्न सकेँ ।’ खुला विद्यालयबाट एसएलसी गरेकै कारण आफू शीतल माविको अध्यक्षसम्म बन्न सकेको उनको भनाइ छ । नत्र अध्यक्ष हुन सक्ने हैसियत हुने थिएन ।

९ वर्षअघि जिल्लामा सुरु भएको खुला विद्यालयको उपज रोका र बस्नेतमात्रै होइनन् । विद्यालयबाट ८ वटा व्याचले परीक्षा दिइसक्दासम्म ४ सय ८ जनाले एसएलसी गरेका छन् । आगामी चैतमा नवौं व्याचले खुला विद्यालयबाट एसइई दिँदै छ । ०६६ देखि सुरुउक्त विद्यालयमा भर्ना भएका ७ सय ४१ मध्ये ५५ प्रतिशत अर्थात् ४ सय ८ ले एसएलसी तथा एसइई गरिसकेको प्रध्यानाध्यापक गणेशप्रसाद रिजालले बताए । यसबाट एसएलसी गरेका सबै शिक्षाको मूलधारमा आएको उनको भनाइ छ ।

औपचारिक शिक्षाबाट वञ्चित भएकाको पूर्व शैक्षिक अनुभवका आधारमा परीक्षा लिइने भन्दै उनले खुला विद्यालयबाट एसएलसी गरेकाले राम्रो गरिरहेको बताए । भौगोलिक विकटता, आर्थिक अभाव, समय अभाव, उमेरलगायत कारणले पढाइ छुटेकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित सुरु गरिएको खुला विद्यालय उद्देश्यमा लम्किरहेको भनाइ उनको छ । ‘खुला विद्यालयमा भर्ना हुने र अन्य विद्यार्थीको परीक्षा एउटै हुन्छ, प्रश्न एउटै हुन्छ, परीक्षा समय एउटै हुन्छ र पनि राम्रै गरिरहेका छन्,’ प्रअ रिजालले भने, ‘खुला विद्यालयले धेरैलाई थप अवसर सृजना गरिदिएको छ ।’ 

खुला विद्यालय भर्ना हुनेको पढाइ वर्षमा ३५ दिनमात्रै हुने गर्दछ । उनीहरूलाई ७ वटा सम्पर्क कक्षामा राखेर पढाउने गरिन्छ । वर्षमा ७ पटक सञ्चालन हुने सम्पर्क कक्षा प्रत्येकपटक ५ दिन पढाइ गरिन्छ । उक्त अवधिमा विद्यार्थी आफैंले गरेको स्वअध्ययनका क्रममा आएका अप्ठ्यारा विषयमा छलफल हुन्छ । विषयगत रुपमै शिक्षकले खुला विद्यालयका अप्ठ्याराको सहजीकरण गर्ने गर्छन् । यस अवधिमा उनीहरूलाई गृहकार्य र परियोजनामा सहभागी गराइन्छ । गृहकार्य प्रत्येक विद्यार्थीले गर्नुपर्छ भने परियोजना कार्य सबै मिलेर समस्याको समाधान गर्ने हो । खुला विद्यालयबाट परीक्षा दिन रुकुमसहित जाजरकोट, सल्यान, दाङ, रोल्पा जिल्ला समेतबाट आउने गरेका छन् । 

 

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?