१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सडकमा हरियो स्टिकर नलिने ट्याङकरको रजाइँ, खानेपानी बोर्ड भने उजुरीको पर्खाइमा

प्रशान्त माली

ललितपुर — पानी सप्लायर्सले मापदण्डअनुसार टयांकरले बोक्ने पानीको वर्गीकरणका आधारमा गाडीमा स्टिकर टाँस गर्नुपर्छ । तर गोदावरी कुण्ड क्षेत्रमा स्टिकर मात्र नभई पानी सप्लायर्सको नामसमेत नलेखिएका टयांकरले पानी ढुवानी गरेका छन् ।

बा३ख ११६६ नम्बरको टयांकरको अगाडिपट्टि सिसामा सानो अक्षरले न्यु श्री बटुक भैरव पानी सप्लायर्स लेखिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जारी निर्देशिका अनुसार टयांकरको दुवै साइड र पछाडिको भागमा सप्लायर्सको नाम, फोन नम्बर, प्रयोजन, अनुमतिपत्र र क्षमता उल्लेख गर्नुपर्छ । तर उक्त टयांकरमा निलो रङले मात्र रंगाएको छ ।

उपत्यकामा ५ वटा टयांकर व्यवसायी संघ छन् । उक्त टयांकर खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोमा आवद्ध हो । खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोका अध्यक्ष उज्ज्वल शाक्यले टयांकरमा भर्खर नयाँ पेन्टिङ गरेकाले सप्लायर्सको नामलगायत मापदण्डअनुसार लेख्न पर्ने कुरा नभ्याएको हुन सक्ने दाबी गरे । 

‘उक्त टयांकरका सञ्चालकलाई तत्काल मापदण्ड पुर्‍याउन भन्छु,’ उनले भने । यसले अधिकांश उपभोक्तामाझ टयांकर व्यवसायीले बिक्री गर्ने पानी पिउनयोग्य छ/छैन भन्नेबारेमा अन्योल यथावत् छ । 

गोदावरी कुण्डमा नुहाउनेको संख्या उत्तिकै छ । कुण्डको पानीबाट लामकुण्ड बनेको छ । लामकुण्डमा प्राय: लुगा धुनेको लस्कर देख्न सकिन्छ । बाटोमा फालिएका फोहोर सीधै कुण्डमै मिसिने गरेको छ । कुण्ड लेउले छोप्न मात्र बाँकी छ । पानी वितरण गर्ने स्थानमा पनि साइन बोर्ड राखिएको छैन । पानी फिल्टर नै नगरी कुण्ड छेउमा पाइप जडान गरी सीधै टयांकरमा भर्ने गरेको छ । त्यही पानी टयांकर व्यवसायीले धमाधम सर्वसाधारणको घरघरमा पुर्‍याउने गरेका छन् ।

उपभोक्ताले पिउनयोग्य वा घरायसी प्रयोजनको पानी कुन हो भन्ने जान्न व्यवसायीको विश्वास गर्नुपर्ने बाध्यता छ । खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अनुगमनमा पनि निजी ट्युबवेल तथा टयांकरहरू अवैध भेटिने गरेका छन् । तर कारबाही भने हुने गरेको छैन ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजीव जोशीले मापदण्ड नपुर्‍याउने पानी व्यवसायीका बारेमा उजुरी परेमा कारबाही गरिने बताए । ‘उपत्यकामा सञ्चालित कतिपय खानेपानीका स्रोत दर्ता पनि छैन,’ उनले भने । बोर्डका अनुसार उपत्यकामा ५ वटा टयांकर व्यवसायी संघ छन् । कुनै पनि व्यवसायीलाई नीलो रङको स्टिकर वितरण गरेका छैनन् । टयांकर सेवा सञ्चालनसम्बन्धी निर्देशिका ०७३ अनुसार पिउनयोग्य खानेपानी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड ०६२ बमोजिम मापदण्ड पूरा गरेकाले हकमा नीलो पाउने व्यवस्था छ । 

अहिले बोर्डले पानी सप्लायर्सलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्न मिल्ने गरी हरियो स्टिकर मात्र वितरण गरेको छ । हरियो स्टिकर पनि कतिपय टयांकर व्यवसायीले लिएका छैनन् । बोर्डका प्राविधिक बोधराज दाहालले स्टिकर लिन पटकपटक टयांकर व्यवसायीलाई ध्यान आकर्षण गराइसकेको बताउँछन् । तर उपत्यका खानेपानी स्रोत तथा टयांकर व्यवसायी संघ र उपत्यका खानेपानी टयांकर तथा बोरिङ व्यवसायी संघ कार्यालयमा सम्पर्कमा आए पनि स्टिकर भने लगिनसकेको बोर्डको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?