सुरक्षा तयारी पूरा : गृह

सोमबारसम्म ९ सय ५१ पक्राउ
जनकराज सापकोटा

काठमाडौं — गृह मन्त्रालयले निर्वाचन सुरक्षाको अन्तिम तयारी सकिएको जनाएको छ । नेपाल प्रहरीले पनि देशैभरका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको बताएको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सबै मतदान केन्द्र र त्यस वरपरका क्षेत्र समेट्ने गरी सुरक्षाकर्मी तैनाथ भइसकेको जानकारी दिए ।

सुरक्षा तयारी पूरा : गृह

दुवाडीले निर्वाचन सुरक्षाका लागि रिजर्भ फोर्स र क्विक रेस्पोन्स टिम तयारी हालतमा रहेको बताए । देशैभरका निर्वाचनस्थलमा तत्काल सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा प्रबन्ध गरिएको पनि दुवाडीले जनाए ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले हवाई गस्तीसमेत गर्ने भएको छ । त्यसका लागि नेपाली सेनाका सातै पृतनामा एक–एक हेलिकप्टर तयारी हालतमा राखिनेछ । काठमाडौं उपत्यकाका निर्वाचन सुरक्षामा भने अवस्था हेरी हेलिकप्टर र हवाईजहाज गरेर पाँचवटासम्म परिचालन हुनेछन् । गृह प्रवक्ता दुवाडीले आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत परिचालन गर्ने तयारी गरिसकिएको बताए । निर्वाचन सुरक्षामा कुनै कसुर बाँकी नराखिने उल्लेख गर्दै दुवाडीले भने, ‘निर्वाचनविरोधी हर्कत गर्नेलाई नियन्त्रणमा लिने र दोषी पक्राउ गर्ने क्रम जारी छ ।’

प्रहरी प्रवक्ता मनोज न्यौपानेले सबै मतदान केन्द्रको सुरक्षामा प्रहरी पुगिसकेको जानकारी दिए । उनले मतदान केन्द्र र वरपरको सम्पूर्ण सुरक्षा तयारी सकिएको उल्लेख गर्दै भने, ‘प्रहरीले सम्पूर्ण तयारी सकिसकेको छ । निर्वाचन सुरक्षामा कुनै कसुर बाँकी राखिनेछैन ।’ प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आशंकामा सोमबार साँझसम्म ९ सय ५१ जनालाई पक्राउ गरेको छ । जसमध्ये ५ सय ९५ जना विप्लव माओवादीका कार्यकर्ता छन् । प्रहरी प्रवक्ता न्यौपानेले देशभरका ५२ स्थानबाट विस्फोटक पदार्थ फेला परेको र निर्वाचन प्रचारप्रसारका क्रममा ११ सवारी साधन तोडफोड भएको समेत बताए । 

प्रहरीले निर्वाचनअघि फेला परेका अधिकांश बम नक्कली भएको जनाएको छ । झोला र बट्टा मानिस आवतजावत हुने ठाउँमा राख्ने र त्यसबाट आतंक सिर्जना हुने देखिएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता न्यौपानेले नक्कली बमबाट त्रास फैलाउने काम धेरै भएको बताए । ‘धेरैजसो नक्कली बम भेटिएका छन्,’ उनले भने ।  निर्वाचन नजिकिँदै गर्दा राजधानीलगायत देशका विभिन्न स्थानमा उम्मेदवार लक्षित विस्फोटका शृंखलाबद्ध घटना भएका छन् । आइतबार र सोमबार दिनभर गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले १० जिल्लाको सुरक्षा अनुगमन गरेको थियो । यो टोलीले गुल्मी, सल्यान, प्यूठान, इलाम, दाङ, तेह्रथुम, सिरहा, रौतहट, उदयपुरलगायत १० जिल्लाको सुरक्षास्थिति अनुगमन गरेको थियो । टोलीले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग सुरक्षास्थितिबारे छलफल र परामर्श गरेको थियो । गृह प्रवक्ता दुवाडीले भने, ‘सबै निर्वाचन क्षेत्रमा आवश्यक कडा सुरक्षा व्यवस्था मिलाइसकिएको छ । मतदाता ढुक्क भए हुन्छ ।’

काठमाडौंमा तयारी पूरा 
प्रहरी परिसर काठमाडौंले निर्वाचन सुरक्षाको अन्तिम तयारी सकिएको जनाएको छ । काठमाडौंका ३ सय २० वटै मतदान केन्द्र र त्यस वरपरको सुरक्षाका निम्ति प्रहरी खटिइसकेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । उनका अनुसार सबै मतदान केन्द्रको सुरक्षामा ५२ सय प्रहरी खटिएका छन् । 

प्रहरीले सोमबार पनि विप्लवका सक्रिय कार्यकर्ता रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । अहिलेसम्म चुनाव बिथोल्ने आशंकामा प्रहरी परिसर काठमाडौंले विप्लव माओवादीका ४२ कार्यकर्ता पक्रिसकेको छ । एसएसपी धानुकले भने, ‘निर्वाचन सुरक्षामा कडाइ गरिएको छ । निर्वाचनविरोधी कुनै पनि तत्त्वलाई छाडदैनौं ।’

प्रकाशित : मंसिर १९, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?