कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंकाे मतगणना ५ ठाउँमा हुने, गणनास्थलमा सिसी टिभी र तारजाली राखिने

सबै निर्वाचन क्षेत्रकाे तयारी पूरा

काठमाडौं — काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।

काठमाडौंकाे मतगणना ५ ठाउँमा हुने, गणनास्थलमा सिसी टिभी र तारजाली राखिने

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत एवं काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वारमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग
मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले भने, 'विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।'

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, 'मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।'

आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, 'आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्‍यो भने राम्रो हुँदन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्‍यो ।'

सबै तयारी पुरा
सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।

अधिृकत पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । पोखरेलले भने, 'दशवटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।'

पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्‍याउने तयारी छ ।

दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक/एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् ।

काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क)मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या छ लाख ३० हजार ४६० छन् ।

आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ ।

(रासस)

प्रकाशित : मंसिर २०, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?