ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् । विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ – 'सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।'

नेपालको संविधानअनुसार बिहीबार मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ । प्रधानमन्त्री देउवाले प्रथम चरणको निर्वाचनमा यस्तै आह्वान गरेका थिए ।

- रासस

प्रकाशित : मंसिर २०, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

मतगणनाका लागि धादिङमा कडा सुरक्षा व्यवस्था

हरिहरसिंह राठौर

धादिङ — निर्वाचन आयोगले अति संवेदनशील जिल्लाको सूचीमा राखेको धादिङमा मतगणनाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजनीतिक दलहरुको सहमति र निर्वाचन आयोगको निर्देशनबमोजिम मतगणनास्थलमा कर्मचारी, उम्मेदवार, प्रतिनिधिहरुको समेत निगरानी र आचारसंहिताबमोजिम मतगणना हुने प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले बताए । ‘मतगणनास्थलमा मोबाइल, क्यामरा लैजान कर्मचारीलगायत सबैलाई प्रतिबन्ध छ, पत्रकारहरुलाई निश्चित समयावधि तोकेर प्रवेश दिइनेछ' प्रमुख निर्वाचन अधिकृत कोइरालाले भने, 'मतगणनाको परिणाम सकेसम्म छिटो जानकारी गराइने छौं ।’उनका अनुसार मतगणना स्थलमा सीसीटीभी पनि जडान गरिनेछ ।

जिल्लाका २ निर्वाचन क्षेत्रका मतपेटिका राखिएका कार्यालयहरुमा गत १० गतेदेखि नै कामकाज ठप्प छ । निर्वाचन क्षेत्र नं १ को कार्यालय रहेको जिल्ला भू-संरक्षण कार्यालय र निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको जिल्ला समन्वय समितिको कार्यालय गत १० गतेदेखि नै सुरक्षार्थ घेराबार र ४ तहको सुरक्षा घेरामा छ । कर्मचारीहरु बाहिरै हाजिर गरी घर फर्कने गरेका छन् । निर्वाचन क्षेत्रस्तरीय मतगणनास्थलमा झोलुङ्गे पुलमा प्रयोग हुने कडाखालको फलामे तारजाली राखिएको छ भने उम्मेदवार र प्रतिनिधिहरु साँघुरो स्थानमा बसिसरहेका छन् । ‘उम्मेदवार वा प्रतिनिधिहरुले कुनै पनि हालतमा मतपत्र छुन नसक्ने गरी मतगणना गर्ने व्यवस्था मिलाउने आदेश जारी गरिएको छ,' निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत योगनाथ ढकालले भने, 'बिहीबार ५ बजेदेखि नै मतगणना आरम्भ गर्ने तयारीमा छौं ।’

मतपरिणाम सुन्न ग्रामीण भेगबाट दलका कार्यकर्ताहरु बुधबारदेखि नै सदरमुकाम झर्न थालिसकेका छन् ।

प्रकाशित : मंसिर २०, २०७४ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्