बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं — राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेस गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ । प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो ।

भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको प्रवक्ता यमलाल भुसालले बताए । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले विभागलाई ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण चालु आवभित्रै सक्ने निर्देशन दिएको छ । प्रवक्ता भुसालका अनुसार बैठकमा महानगरपालिकाले रानीपोखरीको मर्मत आगामी पुस मसान्तसभित्रै गरेपछि दोस्रो चरणको सौन्दर्यीकरणको काम पनि चालु आवभित्रै सम्पन्न गरिसक्ने सहमति भएको छ । 

बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटै स्थानीय तहमा तालीमप्राप्त डकर्मीको कमी भएकाले पुस मसान्तभित्रै सबै स्थानीय तहमा सातदिने डकर्मी तालीम सञ्चालन गर्ने निर्णय गरेको छ । तालीमबाट ५४ हजार डकर्मी उत्पादन गर्ने निर्णय पनि बैठकले गरेको छ । सोका लागि सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, घरेलु तथा साना उद्योग विकास समिति, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, गरिबी निवारण कोष, प्राधिकरणअन्तर्गतको जिल्ला समन्वय समिति सचिवालय र सोअन्तर्गत संलग्न विभिन्न गैरसरकारी संस्थालाई जिम्मा दिने निर्णय भएको छ । 

- रासस

प्रकाशित : मंसिर २०, २०७४ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

होटलमा काम गर्ने युवतीको शंकास्पद मृत्यु

कान्तिपुर संवाददाता

धरान — यहाँको एक होटलमा कार्यरत २४ वर्षीया युवती बुधबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । युवतीको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ ।

यहाँको एक होटलमा कार्यरत २४ वर्षीया युवती बुधबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

युवतीको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ । धरान–७ स्थित परेली होटलमा फेला परेकी युवती उदयपुर ठोक्सीला घर भएकी भावना मगर रहेको प्रहरीले बताएको छ । मृतक युवतीलाई बिहान होटलको पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार ती युवतीसँगै ठेगाना नखुलेका प्रदीप शंकर नाम गरेका युवक बेलुका सोही कोठामा सँगै बसेका थिए । ती युवक फरार छन् ।

उनी बिहान करिब ५ बजेतिर होटलको झ्यालबाट भागेको प्रहरीले बताएको छ । युवतीको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको र शंकास्पद मृत्यु भएकाले फरार युवाको खोजीका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होटलका कर्मचारीहरुका अनुसार उनीहरुले अघिल्लो बेलुका धरान–१५ बगरकोटमा प्रदीपको बर्थ डे मनाएका थिए । बर्थ डेको अवसरमा परेली होटलमा बिहान ४ बजेसम्म रक्सी पिएर एकापसमा झगडा समेत गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७४ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्