विस्फोट कसले गरायो ?

oo गृह भन्छ– निर्वाचनविरोधी तत्त्व oo प्रहरी भन्छ– विप्लव समूह
जनकराज सापकोटा

काठमाडौं — निर्वाचन लक्षित गरी देशैभर शृंखलाबद्ध विस्फोटका घटना भइरहँदा पनि गृह मन्त्रालयले विस्फोटन कसले गराएको हो भन्ने स्पष्ट पारेको छैन । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटन गराउनेलाई ‘निर्वाचनविरोधी तत्त्व’ को संज्ञा दिए पनि त्यस्ता तत्त्व को–को हुन् भन्ने खुलाएनन् ।

विस्फोट कसले गरायो ?

उनले यति मात्रै भने, ‘यो विषयमा अनुसन्धान भइरहेको छ, पछि कुरा गरौंला ।’

स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै विस्फोटका घटना गराउनेलाई हेर्ने दृष्टिकोण राजनीतिक सहमतिका आधारमा राख्ने भन्दै तत्काललाई केही नबोल्न सचेत गराएका छन् । निर्वाचन सुरक्षा तयारी पूरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गृहसचिव सापकोटाले सुरक्षा थ्रेट बढेको महसुस गरेको बताए तर कुन समूहका कारण त्यस्तो भइरहेको छ भन्ने प्रश्न बारम्बार पन्छाउने प्रयास गरे । प्रहरीले विस्फोट नेकपा विप्लव समूहले गरेको भन्दै उसका कार्यकर्ता गिरफ्तार गरे पनि गृह मन्त्रालय भने आधिकारिक रूपमा यो समूहको नाम लिने पक्षमा देखिएको छैन । नेपाल प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न आरोपमा बुधबारसम्म विप्लव समूहका ६ सय जनालाई पक्राउ गरिसकेको छ । यसबाहेक पनि ३ सय ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीका अनुसार बुधबारसम्म ६१ थान हातहतियार, २ सय ८३ राउन्ड गोली, २ हजार २ सय ८८ डेटोनेटर, करिब १३ केजी बारुद, ५ सय ८० पटाका र केही सकेट बम बनाउने सामग्री तथा सकेट बम बरामद भएका छन् । कास्कीबाट ३, संखुवासभा, भोजपुर, सिरहा र उदयपुरबाट विस्फोटन तथा गोली प्रहारमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरी कारबाही थालेको छ । 
प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं डीआईजी मनोज न्यौपानेले विस्फोटका घटना विप्लव समर्थित कार्यकर्ताले गराएको बताए । त्यस्तो विस्फोट पार्टीको केन्द्रीय नीतिअन्तर्गत भएको थियो कि पार्टीका कार्यकर्ताले व्यक्तिगत वा समूहगत स्वार्थमा भएको थियो भनेर उनले प्रस्ट पारेनन् । सञ्चारकर्मीको प्रश्नमा उनले निर्वाचनविरोधी गतिविधिमा बाधा पुर्‍याउनेहरू अपराधी भएको बताए । कान्तिपुरको छुट्टै प्रश्नमा भने उनले विस्फोटका घटनामा विप्लव समूहको हात रहेको बताए । उनले भने, ‘एकाधबाहेक अधिकांश विस्फोटका घटनामा सोही पार्टीको हात देखिन्छ । यसमा मुख खोल्न गाह्रो मान्नुपर्ने अवस्थै छैन ।’

निर्वाचन सुरक्षा सुदृढ : गृह 
गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । गृह प्रवक्ता मोहनकृष्ण सापकोटाले आम मतदातालाई निर्धक्क र निर्भयसाथ मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै भने, ‘केन्द्रदेखि जिल्लाका मतदानस्थलसम्म चुस्त र दुरुस्त सुरक्षा व्यवस्थापन गराउन निर्देशन दिइसकिएको छ ।’ सापकोटाले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, म्यादी प्रहरी गरेर २ लाख जनशक्ति खटिएको जानकारी गराए । उनले १० देखि ३ मिनेटभित्र जुनसुकै स्थानमा पुग्ने गरी सुरक्षाकर्मीको क्विक रेस्पोन्स टिम राखिएको बताए । गृह मन्त्रालयको संयोजकत्वमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै गृह सचिवले भने, ‘निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं ।’

नेपाल प्रहरीले ७२ हजार प्रहरीमध्ये ९० प्रतिशतलाई निर्वाचन सुरक्षामा फिल्डमा खटाएको जनाएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहेको छ । मतदानस्थलमा सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति, हातहतियार तथा साधन स्रोत परिचालन गरिसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा मोबाइल टोली र पैदल गस्ती टोली देशैभर खटिने पनि प्रहरीले जाएको छ । त्यस्तै वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा रिजर्भ टोलीको पनि व्यवस्था गरिएको छ । प्रहरीले सुरक्षा अवस्था र मतदाताको संख्याका आधारमा सुरक्षाकर्मीहरूको संख्या निर्धारण गरेको छ । प्रहरीले एउटा बुथको सुरक्षार्थ बढीमा ५६ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । 

प्रहरीले खबर संकलनका लागि देशैभर सादा पोसाकका प्रहरी परिचालन गरेको छ भने आकस्मिक सहायताका लागि केन्द्र र सबै प्रदेशहरूका हेलिकप्टर तयारी हालतमा राखेको छ । प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी सकिएको छ । मतदाता र उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन ।’

प्रकाशित : मंसिर २०, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?