१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मतदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीको अपिल

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने भएकाले उल्लासमय रूपमा मतदानमा सहभागी हुन अपिल गरेकी छन् ।

मतदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीको अपिल

दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुधबार अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले ‘यस निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभई आर्थिक/सामाजिक रूपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो’ भनेकी छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने बताएकी छन् । ‘नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निर्वाचनमा निर्बिघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न म सहर्ष आहवान गर्दछु’ राष्ट्रपतिको अपिलमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आहवान गरेका छन् । उनले चुनावलाई लोकतन्त्रको सबभन्दा ठूलो उत्सव भनेका छन् । स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । ‘सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएका सबै तयारीलाई सन्तोषजनक रूपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु,’ प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर २०, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?