कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

४५ जिल्लामा आज निर्वाचन

राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

४५ जिल्लामा आज निर्वाचन

दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् । 

संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताएका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा पुर्‍याउने प्रयत्न स्वरुप केही विष्फोटका घटनाहरु भएपछि सुरक्षा सतर्कता बढाइएको छ । ‘एकाध घटनाहरुबाट नडराई निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरुलाई आयोग हार्दिक अनुरोध गर्दछ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने ‘नेपाल सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेकोप्रति आयोग विश्वस्त छ ।’ 

प्रतिनिधिसभाको निर्वाचन विगतमा पटकपटक भए पनि संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार प्रदेशसभाहरुको निर्वाचन भने मुलुकमा पहिलो पटक हुन लागेको हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ । दुईवर्ष अगाडि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ । ०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तहको रहने उल्लेख छ । त्यस अनुसार पुन: संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन् । बाँकी दुईवटा तहको चुनाव एकै साथ तर दुई चरणमा भइरहेको छ । 

प्रतनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रसंख्या पनि संविधान अनुसार नयाँ ढंगले पुन: संरचना गरिएको छ । संविधानसभा निर्वाचनमा २ सय ४० वटा रहेको निर्वाचन क्षेत्र यतिबेला प्रतिनिधिसभाको हकमा घटाएर १ सय ६५ बनाइएको छ । संविधान अनुसार प्रतिनिधिसभाको क्षेत्रसंख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्या अनुसार प्रतिनिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रको सीमा निर्धारण गरेको थियो । प्रमुख आयुक्त यादवले संविधान कार्यान्वयनको पहिलो खुडकिलोको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र त्यही क्रममा बाँकी दुई तहको निर्वाचन हुन लागिरहेकाले आममतदातालाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरे । ‘नेपाली जनतामा निहित नोपालको सार्वभौमसत्ता र राजकीयसत्ताको अधिकारको प्रयोग मतपत्रको माध्यमबाट गर्नुहोस, अब यस्तो मतदानको अवसर पाँच वर्षपछि मात्रै आउनेछ,’ उनले भने ‘तपाईले रोजेको उम्मेदवार र मनपराएका राजनीतिक दललाई मतदान गर्न समय छुट्याएर सहभागी हुनहोस ।’ उनले यस निर्वाचनबाट संविधान कार्यान्वयन भइ संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे । 

०६४ र ०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्यहरुले नै व्यववस्थापिका संसद सदस्यका रुपमा भूमिका खेलेका थिए । त्यसअघि ०४६ सालमा प्रजातन्त्र पुन: स्थापना यता ०४८, ०५१ र ०५६ मा २ सय ५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्थे । वि.स २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । ०५९ साल जेठ ८ गते तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरी कात्तिक २७ गते निर्वाचनको मिति घोषणा गरेका थिए । तर, संसद विघटनको मौका छोपेर तात्कालिन राजा ज्ञानेन्द्र शाहले त्यही वर्ष असोज १८ गते साशन सत्ता आफ्नो हातमा लिएपछि चुनाव हुन सकेन । राजाको कदमविरुद्ध आन्दोलनरत ७ राजनीतिक दल र सशस्त्रयुद्ध गरिरहेका माओवादीबीच ०६२ साल मसिंरमा भएको १२ बुँदे सहमतिको जगमा भएको जनआन्दोलने ०६३ साल बैशाख ११ गते विघटित प्रतिनिधिसभाको पुन: स्थापना भएको थियो । तात्कालिन राजा ज्ञानेन्द्रले साशकीय अधिकार जनतामा फिर्ता मात्रै गरेनन् । पदच्यूत भए । मुलुकमा गणतन्त्र आयो ।  

१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले संविधान बनाउन नसकेपछि  र ०७०सालमा पुन: संविधानसभा निर्वाचन भएको थियो । त्यसैले बनाएको संविधान अनुसार यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक साशन व्यवस्थामा प्रवेश गरेको छ । 

तीनवटा मतपत्र, चार स्थानमा मतदान 
दुईवटा निर्वाचन प्रणालीबाट एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले मतदाताको हातमा तीनवटा मतपत्र पर्नेछ । एकजना मतदाताले तीनवटा मतपत्र मार्फत ४ ठाउँमा मतदान गर्नुपर्ने छ । यसअघि दुईवटा संविधानसभा निर्वाचनमा दुईवटा मतपत्रको अभ्यास गरिएको थियो । तीनवटा मतपत्रको अभ्यास पहिलो पटक हो ।  प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ अलग अलग पानामा मतपत्र बनाइएका छन् । भने समानुपातिक निर्वाचन प्रणाली तर्फ एउटै पानामा दुईवटै सभाको मतपत्र रहेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसिले चिन्ह छापिएका मतपत्र, प्रदेशसभाका लागि कालो मसीले चिन्ह छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसिले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभा तर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभामा भाग लिएका दलहरको निर्वाचन चिन्ह रहने छ । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिक तर्फ एउटै पानाको मतपत्रमा तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् । मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको त्यसपछि प्रदेशसभाको र अन्त्यमा समानुपातिक तर्फको मतपत्र पाउने छन् । क्रमश: स्वस्तिक चिन्ह लगाउँदै फरक फरक मतपेटिकामा मत खसाल्नुपर्ने व्यवस्था मिलाइएको छ । 

परिचयपत्र नभए विकल्प
आयोगले विगतमा गरिएको अभ्यास जस्तै मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ । त्यस्ता व्यक्तिले फोटो सहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउने छन् । प्रमुख निर्वाचन आयुक्त यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानून बमोजिम सजाय हुने बताए । 

मतदान सकिएपछि गणना 
आयोगले बिहीबार साँझ मतदान सकिएलगत्तै पहिलो र दोस्रो चरणका दुवै निर्वाचनको मतगणना प्रारम्भ हुने जनाएको छ । आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले मतदानस्थल र गणकहरुको छनौट भइसकेको बताए । ‘पहिलो चरणको गणना तत्कालै प्रारम्भ हुनेछ । दोस्रो चरणको भने गणनास्थलमा मतपेटिका संकलन भए लगत्तै,’ उनले भने ‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले सर्वदलीय बैठक गरी गणनाका लागि आवश्यक सहमति जुटाई प्रारम्भ गर्न सक्नेछन् ।’ सबैतिरको गणना सदरमुकाममा निर्धारण गरिएका स्थलमा मात्रै हुनेछ । मतपेटिका संकलनमा समय लाग्ने भएकाले दोस्रो चरणका धेरै स्थानको गणना शुक्रबारबाट मात्रै प्रारम्भ हुनसक्छ । तर, सदरमुकाम आसपास र सुगम स्थानका निर्वाचन क्षेत्रहरुको गणना बिहीबार रातिबाटै सुरु हुने प्रवक्ता ढकालले बताए । 

आयोगले आवश्यक स्थानको व्यवस्था गरी प्रतिनिधिसभाको प्रत्यक्ष, प्रदेशसभाको प्रत्यक्ष र दुवैसभाको समानुपातिकको मतगणना एकैसाथ सुरु गर्न सकिने निर्देश गरेको छ ।  तर, स्थान र गणकको अभाव भए पहिले प्रत्यक्ष तर्फको र त्सपछि मात्रै समानुपातिकको गणना थाल्न आयोगले भनेको छ । प्रत्यक्ष तर्फ पनि एकैसाथ दुवैसभाको गणना थाल्न नसकिए पहिले प्रतिनिधिसभाको गनिनुपर्ने आयोगले निर्देश गरेको छ । आयोगले प्रत्यक्ष तर्फ दुवैसभाको ४ दिन र समानुपातिकको गणना ८ दिनभित्र सकि सक्ने लक्ष्य राखेको छ । 

प्रकाशित : मंसिर २१, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?