१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४५ जिल्लामा मतदान सुरु

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।

४५ जिल्लामा मतदान सुरु

दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।

प्रकाशित : मंसिर २१, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?