मतदान गर्न फर्किनेको ताँती

अखण्ड भण्डारी, राजकुमार कार्की

खनियाखर्क (सिन्धुली) — ‘रिजर्भ’ लेखिएको बस बुधबार दिउँसो खनियाखर्कको एउटा खाजा पसल अघिल्तिर रोकियो । एक युवाले अघि–अघि लागेर सबैलाई आउन इसारा गरे । समूहमा खाजा खान बसेका सप्तरीका रामनारायण यादवले भने, ‘पार्टीको खाइँदैछ ।’

सामाजिक सञ्जालमा चिनजानका राजनीतिक कार्यकर्ताले राखेको सूचना उनले पछ्याए । त्यसमा लेखिएको थियो, ‘सप्तरी फर्कन चाहनेहरूले फलाना नम्बरमा सम्पर्क गर्नुहोला । बसमा आउने, जाने, खाने व्यवस्था गरिएको छ ।’ उनले त्यसमै फोन गरे । राजनीतिक आस्था सोधियो । मिल्यो । उनलाई कोटेश्वर बोलाइयो । उनीजसरी नै भेला पारिएका व्यक्तिले बस भरिभराउ थियो । उनीहरू गाडी व्यवस्था गर्ने दललाई मतदान गर्ने विश्वास दिलाएर सित्तैमा गाउँ फर्किइरहेका थिए ।

बीपी राजमार्गमा काठमाडौंतिरबाट जाँदा सबैभन्दा डाँडामा पर्ने यो सानो सुन्दर बजारमा १ घण्टा बस्दा ‘रिजर्भ’ लेखिएका दुई दर्जनभन्दा बढी बस पार भए । ती सबैमा भरिएका यात्रु भोट हाल्न गाउँ फर्किइरहेका थिए । अर्को बसबाट झापा दमक जाँदै गरेका लक्ष्मण हुमागाईंले सुनाए, ‘घर जान बिहानै कोटेश्वर आएको, कुनै गाडीमा टिकटै पाइएन । होस् भनेर फर्किन लागेको चिनेको साथी भेट्टाएँ । उनी पार्टीले व्यवस्था गरेको बसमा आउन लागेका रहेछन् । मलाई पनि त्यसमै जाउँ भने । सित्तैमा आउन पाइयो । मिलीजुली बसेर आइँदैछ ।’

पूर्वी जिल्लाहरूलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो र सजिलो यस मार्गबाट घर फर्कनेको चाप तीन दिनयता गुणौं बढेको छ । सिन्धुलीका जिल्ला ट्राफिक प्रमुख चन्द्र श्रेष्ठका अनुसार अरू दिन औसत दुई हजारका हाराहारीमा चारपाङ्ग्रे यात्रुवाहक सवारी यस रुटमा चल्छन् । बुधबार बिहानदेखि साँझ ७ बजेसम्म करिब ९ हजार गाडी यहाँबाट अघि बढेका छन् । मंगलबार ६ हजार ६ सय र सोमबार ७ हजार ६ सय गाडी सिन्धुली हुँदै पूर्वतिर गएको उनले जानकारी दिए । यस रुटबाट जाने हरेक गाडीको नम्बर सिन्धुली बजारमा ट्राफिकले इन्ट्री गर्ने गरेको छ । ‘आवागमनलाई चुस्त बनाउन सक्दो पहल गरेका छौं’, उनले भने, ‘सकेसम्म नरोकी परैबाट नम्बर टिप्ने गरिएको छ ।’

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मतदान गर्न घर फर्किनेको लहरले चुनावप्रति बढ्दो उत्साहलाई संकेत गरेको बताए ।

‘संविधान कार्यान्वयनले पूर्णता पाउने र देश संघीयतामा जाने मुख्य खुडकिलो यही चुनाव भएकाले मतदातामा उत्साह मात्र होइन, उमंग रहेको पाइएको छ,’ उनले भने, ‘बीपी राजमार्ग ताप्लेजुङसम्म जान प्रयोगमा आउँछ । पूर्वको ठूलो भूगोल समेटिने भएकाले यहाँ चाप बढ्नु स्वाभाविकै हो । यहाँबाट जानेको सुरक्षा र सहजतामा हामीले सक्दो प्रयास गरेका छौं ।’

कतिपय मतदाता काम छाडेर हिँडेका पाइए भने कतिपय कार्यालयमा आग्रह गरी बिदा लिएर घर फर्किइरहेका थिए । स्थानीय तहको निर्वाचनमा एकमतको हारजित र गोलाप्रथासमेत भएकाले त्यस्तै भएर आफूलाई पछि थकथक नलागेस् भनी गाउँ गइरहेको विराटनगरका बीएन चौधरीले बताए । उनी राजधानीमा व्यवसाय गरेर बस्छन् । आफूमात्र होइन, टोलका चिनेजानेका धेरै जना धमाधम फर्किइरहेको उनले जानकारी दिए ।

‘छोटो दूरी भएकाले समयमै पुग्न सकिन्छ, त्यही भएर निर्वाचनको अघिल्लो दिन मात्र आएको,’ कमलामाई नगरपालिका–२ को चियाबारीमा खाना खाँदै गर्दा भेटिएका चौधरीले भने, ‘मत हाल्न पाउनु अधिकार हो, मौकाको सदुपयोग किन नगर्ने ? यस्तो मौका सधैं आउँदैन ।’ उनले मत हालेर राम्रो उम्मेदवारलाई जिताउने र घरमा भेटघाटसमेत हुने भएकाले यसलाई ‘चाडका रूपमा लिएको’ खुसी हुँदै सुनाए ।

सुनसरी तरहराका कृष्ण थापाको भनाइ उस्तै छ । वृद्ध उमेरका उनी मतदान गर्नकै लागि राजधानीमा बसेर गरिरहेको औषधि उपचारलाई थाँती राखेर गाउँ फर्किएका हुन् । ‘निर्वाचनमा मतदान गर्ने हो । भोलिपल्ट यही बाटो भएर फर्किएपछि समयमै फेरि पुगिहालिन्छ,’ उनले भने, ‘अर्कोपल्ट कसले देखेको छ र मतदान गर्न पाइन्छ कि पाइँदैन ?’

पूर्वका ताप्लेजुङदेखि रौतहटसम्मका जिल्लाबाट काठमाडौं आउजाउ गर्न बीपी राजमार्ग प्रयोगमा आउँछ । दोस्रो चरणमा चुनाव भइरहेका उदयपुर, खोटाङलगायत जिल्ला जान यही राजमार्ग प्रयोग गरी खुर्कोटबाट मध्यपहाडी लोकमार्गतर्फ लाग्नुपर्छ । त्यसतर्फ जाने गाडीको चाप पनि उत्तिकै बाक्लो रहेको प्रहरीले जनाएको छ ।

तीन दिनयता यात्रुवाहक सवारीको संख्या अत्यधिक बढेकाले दिउँसो मालवाहक सवारीलाई केही समय रोक्नुपरेको जिल्ला ट्राफिक प्रमुख श्रेष्ठले जनाए । ‘भाडाका सवारी साधन त छँदै छन्, रिजर्भ गरेर आउने गाडी पनि उत्तिकै छन्,’ उनले भने, ‘मतदान गर्नकै लागि आएको भनेका छन् । त्यही भएर हामीले सक्दो शक्ति परिचालन गरेर तिनलाई सहजतापूर्वक गन्तव्यतर्फ पठाइरहेका छौं ।’

बुधबार मध्यरातबाट मतदान सम्पन्न नहुन्जेलका लागि राजमार्ग बन्द गरिने भए पनि बीपीमा भिन्दै नियम छ । यस राजमार्गमा यसअघिदेखि नै साँझ ७ बजेबाटै दुर्घटना संवेदनशीलतालाई हेरी स्थानीय प्रशासनले यातायात चल्न दिँदैन । निर्वाचनका बेला त्यही नियम कायम राखिएको छ ।

त्यसैले छिटोछिटो पार हुन साँझपख तीव्र गतिमा हुइँकिने गाडीको बाक्लो चाप देखिइरहेको थियो ।

प्रकाशित : मंसिर २१, २०७४ ०७:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दोस्रो चरण आज

मतदाता परिचयपत्र नभए पनि विकल्प िमतदान सकिएलगत्तै गणना
राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लामा हुँदैछ । प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका १ सय ६५ सिटमध्ये ३७ र प्रदेशसभा प्रत्यक्षतर्फका ३ सय ३० मध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भइसकेको छ । 

दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना थाल्ने तयारी छ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणमा तराईका सबै र पहाडका जिल्लामा मतदान हुन लागेको हो । प्रमुख दलका अधिकांश शीर्ष नेता दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् । 
संविधानअनुसार केन्द्रीय संसद् र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुनेछ । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशमा गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्य संख्या फरक हुनेछन् । दुवै चरणमा दुइटै सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान एकसाथ गरिँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताएका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा पुर्‍याउने प्रयत्नस्वरूप केही विस्फोटका घटना भएपछि सुरक्षा सतर्कता बढाइएको छ । ‘एकाध घटनाबाट नडराई निर्भीकतापूर्वक मतदान गर्न मतदातालाई आयोग हार्दिक अनुरोध गर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेको प्रति आयोग विश्वस्त छ ।’
प्रतिनिधिसभाको निर्वाचन धेरै पटक भइसके पनि संविधानसभाले जारी गरेको संविधानअनुसार संघीय संरचनाका प्रदेशसभाहरूको निर्वाचन भने पहिलो पटक भइरहेको छ । 

निर्वाचनपछि ७ वटा प्रदेशसभामा प्रदेश सरकार गठन हुनेछन् । २०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी ३ तहको रहने उल्लेख छ । त्यसअनुसार पुन:संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन् । बाँकी दुई तहको चुनाव एकैसाथ तर दुई चरणमा भइरहेको छ । 
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्र संख्या पनि संविधानअनुसार नयाँ ढंगले पुन:संरचना गरिएको छ । संविधानसभा निर्वाचनमा २ सय ४० निर्वाचन क्षेत्र रहेकामा प्रतिनिधिसभाको हकमा घटाएर १ सय ६५ बनाइएको छ । संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रको सीमा निर्धारण गरेको थियो । 
प्रमुख आयुक्त यादवले संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र त्यही क्रममा बाँकी दुई तहको निर्वाचन भइरहेकाले आम मतदातालाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरे । ‘नेपाली जनतामा निहित नेपालको सार्वभौमसत्ता र राजकीय सत्ताको अधिकार प्रयोग मतपत्रको माध्यमबाट गर्नुहोस्, अब यस्तो मतदानको अवसर पाँच वर्षपछि मात्रै आउनेछ,’ उनले भने, ‘तपार्इंले रोजेको उम्मेदवार र मन पराएका राजनीतिक दललाई मतदान गर्न समय छुट्याएर सहभागी हुनुहोस् ।’ उनले यस निर्वाचनबाट संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुन:संरचना व्यवहारमै लागू भएर संक्रमणकालको अन्त्य हुने विश्वाससमेत व्यक्त गरे ।
०६४ र ०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्यहरूले नै व्यवस्थापिका संसद् सदस्यका रूपमा भूमिका खेलेका थिए । त्यसअघि ०४६ सालमा प्रजातन्त्र पुन:स्थापनायता ०४८, ०५१ र ०५६ मा २ सय ५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ०५६ मा प्रतिनिधिसभा निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । ०५९ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरी कात्तिक २७ गते निर्वाचनको मिति घोषणा गरेका थिए । तर, संसद् विघटनको मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यही वर्ष असोज १८ गते शासनसत्ता आफ्नो हातमा लिएपछि चुनाव हुन सकेको थिएन । राजाको कदमविरुद्ध आन्दोलनरत ७ राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेका माओवादीबीच ०६२ साल मंसिरमा भएको १२ बुँदे सहमतिको जगमा भएको जनआन्दोलनले ०६३ साल वैशाख ११ गते विघटित प्रतिनिधिसभाको पुन:स्थापना गरेको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र पदच्युत भएका थिए । 
१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले संविधान बनाउन नसकेपछि र ०७० सालमा पुन: संविधानसभा निर्वाचन भएको थियो । त्यसैले बनाएको संविधानअनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको हो ।

कसरी गर्ने मतदान ? 
तीनवटा मतपत्र, चार स्थानमा मतदान 
दुईवटा निर्वाचन प्रणालीबाट एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले मतदाताको हातमा तीनवटा मतपत्र पर्नेछन् । मतदान ४ ठाउँमा गर्नुपर्ने छ । यसअघि दुवै संविधानसभा निर्वाचनमा दुईवटा मतपत्रको अभ्यास गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग–अलग मतपत्र छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै पानामा दुईवटै सभाको मतपत्र छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फका लागि हल्का हरियो रंगको मसीले उम्मेदवारका चिह्न छापिएको मतपत्र छ । प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको बेग्लै मतपत्र हुनेछ । समानुपातिकतर्फको मतपत्रमा हल्का रातो मसीले चिह्न छापिएका छन् जसमा एउटै पानामा दुवै सभाका मतचिह्न छन् । माथिल्लो भाग (मतपत्र १) मा प्रतिनिधिसभा र तल्लो भाग (मतपत्र २) मा प्रदेशसभामा भाग लिएका दलहरूको निर्वाचन चिह्न छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा तलमाथि आफूले चाहेको दललाई मतदान गर्ने व्यवस्था मतपत्रमा छ । मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको, त्यसपछि प्रदेशसभाको र अन्त्यमा समानुपातिकतर्फको मतपत्र पाउने छन् । क्रमश: स्वस्तिक चिह्न लगाउँदै बेग्लाबेग्लै मतपेटिकामा मत खसाल्ने व्यवस्था मतदान केन्द्रमा मिलाइएको छ ।

मतदाता परिचयपत्र नभए विकल्प
आयोगले विगतमा झैं मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ । त्यस्ता व्यक्तिले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउनेछन् । प्रमुख निर्वाचन आयुक्त यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरे कानुनबमोजिम सजाय हुने बताए ।

मतदान सकिएपछि गणना 
आयोगले बिहीबार साँझ मतदान सकिएलगत्तै पहिलो र दोस्रो चरणका दुवै निर्वाचनको मतगणना थालिने जनाएको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालले मतदानस्थल र गणकहरूको छनोट भइसकेको बताए । ‘पहिलो चरणको गणना तत्कालै प्रारम्भ हुनेछ । दोस्रो चरणको भने गणनास्थलमा मतपेटिका संकलन भएलगत्तै,’ उनले भने, ‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सर्वदलीय बैठक गरी गणनाका लागि आवश्यक सहमति जुटाई प्रारम्भ गर्न सक्नेछन् ।’ 
सबैतिरको गणना सदरमुकाममा निर्धारण गरिएका स्थलमा मात्रै हुनेछन् । मतपेटिका संकलनमा समय लाग्ने भएकाले दोस्रो चरणका धेरै स्थानको गणना शुक्रबारबाट मात्रै प्रारम्भ हुन सक्छ । तर, सदरमुकाम आसपास र सुगम स्थानका निर्वाचन क्षेत्रहरूको गणना बिहीबार रातिबाटै सुरु हुने प्रवक्ता ढकालले बताए । 
आयोगले आवश्यक स्थानको व्यवस्था गरी प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाको प्रत्यक्ष र दुवै सभाको समानुपातिकको मतगणना एकैसाथ सुरु गर्न सकिने निर्देश गरेको छ । तर, स्थान र गणकको अभाव भए पहिले प्रत्यक्ष र त्यसपछि मात्रै समानुपातिकको गणना थाल्न आयोगले भनेको छ । प्रत्यक्षतर्फ पनि एकैसाथ दुवै सभाको गणना थाल्न नसकिए पहिले प्रतिनिधिसभाको गनिसक्न आयोगले निर्देश गरेको छ । आयोगले प्रत्यक्षतर्फ दुवै सभाको ४ दिन र समानुपातिकको गणना ८ दिनभित्र सक्ने लक्ष्य लिएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT