कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

घटे औंठाछाप मतदाता

पूर्ण विके

पोखरा — मनमाया थापालाई संविधानसभाको दोस्रो निर्वाचनको सम्झना ताजै छ। उनले त्यो दिन त्यसै बिर्सन नसकेकी होइनन्। ‘मैले त्यो दिन भोट दिन मतपत्र बुझदा औंठाछाप लगाएकी थिएँ,’ पोखरा–२९ भण्डारढिककी ६१ वर्षीया यी वृद्धाले भनिन्, ‘कर्मचारी र भोट दिन आएकाहरूले खिसी गर।’ उनले बुधबार मतदाता परिचयपत्र लिँदा भने औंठाछाप ठोकिनन्, हस्ताक्षर नै गरिन्।

घटे औंठाछाप मतदाता

संविधानसभाको दोस्रो निर्वाचनपछि आफू साक्षरता कक्षामा सहभागी भएर आफ्नो नाम आफैं लेख्न सक्ने भएको उनले सुनाइन्। ‘नपढेकालाई जसले पनि हेप्ने रहेछ,’ उनले भनिन्, ‘सही गर्न

नजानेको भनेर सबैले खिसी उडाउँथ। बल्ल बूढीमान्छेले पनि लेख्नुहुँदो रहेछ भनेर मक्ख पार्छन्। त्यसले पनि खुसी लाग्दोरहेछ।’

सार्वजनिक कार्यक्रममा कसैले आफूलाई अपमान नगरोस् भनेर नै आफूले हस्ताक्षर गर्न सिकेको उनले सुनाइन्। उनी बिहीबार जनप्रकाश मावि केन्द्रबाट मतदानमा सहभागी हुनेछिन्। भारतीय

सेनाबाट सेवानिवृत्त ७१ वर्षीय भद्रबहादुर गुरुङले हस्ताक्षरबाट मानिसको पहिचानसमेत झल्कने आफूले महसुस गरेको बताए। ‘मैले सिग्नेचर गरेको देख्दा मान्छेहरू छक्क पर्छन्,’ उनले भने,

‘पल्टनमा सिग्नेचर कसरी राम्रो बनाउने भन्ने ध्याउन्न हुन्थ्या। अहिले मेरो सही देख्दा मान्छेहरूले पहिला सरकारी जागिरे हो भनेर पो सोध्ने गर्छन्। त्यसो भन्दा आनन्द आउँछ।’

उक्त मतदान केन्द्रका १० जना निरक्षर मतदातामध्ये ९ जना ६० वर्षमाथिका छन्। एक जना लक्ष्मी परियार भने ४० वर्षीया। आर्थिक अवस्थाका कारण पढ्न नपाएकाले आफूले औंठाछाप

लगाउनुपरेको लक्ष्मीले बताइन्।

‘घरको दु:खले उबेला पढिएन,’ उनले भनिन्, ‘अहिले मान्छेको बीचमा औंठाछाप लगाउँदा खिस्रिक्क पर्नुपर्दा लाज लाग्ने गर्छ। अबचाहिँ सही गर्न भने पनि

सिक्नुपर्ला।’ उनी घरमा रंग लगाउने काम गर्छिन्। क, ख र ग मतदान केन्द्रका १ हजार २ सय ८५ पुरुष र १ हजार ६ सय ४८ महिला गरी २ हजार ९ सय ३३ मतदातामध्ये १० जनाले मात्रै

औंठाछाप लगाएर भर्पाइ गरेको ‘ग’ मतदान केन्द्रकी मतदान अधिकृत बबिता शर्माले बताइन्। शिक्षा कार्यालयकी अधिकृत बबिताले विगतका निर्वाचनमा मतपत्रमा भर्पाइ गर्न औंठाछाप

लगाउनेको संख्या धेरै भए पनि अहिले घटेको बताइन्। उक्त मतदान केन्द्रमा करिब ४ सय मतपत्र बाँड्न बाँकी छ।

पोखरा लेखनाथ–३२ गगनगौंडास्थित गोगन मावि मतदान स्थलको क, ख र ग मतदान केन्द्रमा १ हजार १६ पुरुष र १ हजार २ सय ४८ महिला गरी कुल २ हजार २ सय ६४ मतदाता रहेको

‘ख’ केन्द्रका मतदान अधिकृत किरण श्रेष्ठले बताए। तीमध्ये ४ जनाले मात्रै औंठाछाप गरेर मतपत्र बुझेका छन्। उक्त केन्द्रमा करिब ३ सय मतपत्र बाँड्न बाँकी रहेको उनले जानकारी दिए।


गोगन मावि केन्द्रकी मतदाता ६९ वर्षीया मिठुमाया लामिछानेले पहिले हस्ताक्षर गर्न सक्ने तर अहिले आँखा कमजोर भएकाले हस्ताक्षर गर्न नसकेको सुनाइन्। ‘पहिले नामचाहिँ कनीकुथी लेख्ने

गर्थें,’ उनले भनिन्, ‘अब आँखाको समस्याले औंठाछाप लगाउनै सजिलो लाग्ने रहेछ।’

प्रकाशित : मंसिर २१, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?