‘अधिकार खेर फाल्दैनौं’

माधव घिमिरे, विनोद भण्डारीे

विराटनगर — ‘अरू बेला नाकमुख देख्न नपाए पनि यो बेला ठूला नेतालाई घरआँगनमै पाइयो,’ मोरङको डंग्राहाका ७५ वर्षीय वीरबहादुर तामाङले भने, ‘अघिपछि जे भए पनि चुनावका बेला दिनदिनै नामी–नामी नेताको नमस्कार पाइन्छ।’

पञ्चायतकालदेखि धेरै पटकका निर्वाचनमा मत हाल्दै आएका तामाङलाई गाउँमा के–कति काम भयो भन्नेतिर उति चिन्ता छैन। आफू पनि पटकपटक आन्दोलनमा सहभागी भएको स्मरण गर्ने उनी पहिलेभन्दा केही विकास भइरहेको सुनाउँछन्।

‘बाटो फराकिलो बन्दै छ, बिजुली पाइएको छ,’ गाउँलेमाझ चुनावी गफमा रमाइरहेका तामाङले भने, ‘नेताहरूबाट साह्रै धेरै आस पनि गर्नु हुँदैन, बिस्तारै गर्लान् नि।’ पुरानाले त्यति धेरै गर्न नसके पनि नयाँ पुस्ताका नेताले केही गर्लान् कि भन्ने आस उनको छ। यहाँका सबैजसो मतदाताको मुख्य माग गाउँमा व्यवस्थित सडक, भरपर्दो खानेपानी व्यवस्था, खेतीमा मनग्य सिँचाइ, बिरामी पर्दा सजिलै उपचार अनि पठनपाठन सुविधा हो।

गाउँले बुढापाकासित चुनावकै छलफलमा गफिइरहेका ललित विश्वासचाहिँ नेताहरू गाउँ विकास गर्न पछि परेको सुनाउँछन्। ‘जनताकै लागि काम गर्छौं भन्छन् सधैं,’ उनले भने, ‘तर जितेर गएपछि हामीलाई बिर्सन्छन् कि जस्तो लाग्छ।’ जे भए पनि मतदान गर्न भने नछाड्ने उनको भनाइ छ।

सुन्दर हरैंचा नगरपालिका–२ मृगौलियाका युवा खेम खवास मतदान गर्ने दिन पर्खेर बसेको बताउँछन्। ‘हामी गाउँमा कसैले भोज–भतेर चलाउला र भोट दिउँला भनेर बसेका छैनौं,’ उनले भने, ‘हातमुख जोर्न आफैंले पसिना बगाउनैपर्छ तर कम्तीमा गाउँमा आधारभूत सुविधाको व्यवस्था चाहिँ जसले जिते पनि गरिदिनुपर्छ।’ मतदान गर्नु आफ्नो अधिकार हो भनेर गाउँलेलाई बुझाउने गरेको उनी बताउँछन्।

मृगौलियाकै खवास बस्तीका अगुवा रामनारायण खवासलाई मुख्य पार्टीका राष्ट्रियस्तरका एक नेता गाउँमा आउँदा आफूलाई चिनेर हालखबर सोधेकामा प्रसन्न छन्। ‘सबै उस्तै हुँदैनन् नि,’ उनी भन्छन्, ‘कोही–कोही त आन्दोलनमा सहयोग गरेको भनेर हामीलाई सम्झिरहेका पनि हुँदारहेछन्।’

कहिलेकाहीँ टीभीमा अनुहार देख्ने गरेका नेता एक्कासि बस्तीमा आएर नमस्कार गर्दै हालखबर सोध्दा गाउँलेको मन गदगद हुने उनको अनुभव छ। ‘तर यतिले मात्र दु:ख त जाने होइन,’ खवास भन्छन्, ‘गाउँलेलाई केको दु:ख छ भन्ने ठम्याएर त्यो हटाउने नेतालाई नै सबैले माया गर्छन्।’ तत्काललाई बाढी नियन्त्रण र बस्तीदेखि पूर्वपश्चिम राजमार्गको सलकपुरसम्म जोडिने कच्ची सडकलाई पक्की बनाए पुग्ने गाउँलेको भनाइ छ।

विराटनगर महानगरपालिका–४ मा पर्ने इक्राहीकी उमा पासवान राम्रो काम गर्ने नेतालाई छान्ने बताउँछिन्। ‘को कुन पार्टीको हो भन्ने हामीलाई के वास्ता?,’ उनले भनिन्, ‘गाउँमा बाढी पस्नु भएन, केटाकेटीले राम्ररी पढ्न पाउनुपर्‍यो, बिरामी हुँदा इलाज नगरी मर्नु नपरोस्।’

इक्राहीकै हीरा सहनी आफू पनि भोट हाल्न तयार भएर बसेको बताउँछन्। ‘जे जस्तो भए पनि भोट त हालिन्छ,’ उनले भने, ‘वडाका मान्छे आउँछन्, नगरपालिकाका पनि आउँछन्, ठूला नेतालाई नभेटे पनि उनीहरूलाई समाएर किन विकास नगरेको भनेर सोध्छौं।’

धनपालथान ५ की शोभा यादवलाई चाहिँ सधैं गाउँको विकास गर्छु भन्दै आउने तर पछि बिर्सने नेता देख्दा झर्को लाग्दोरहेछ। ‘तैपनि भोट दिँदै आएका छौं,’ उनले भनिन्, ‘अब यही गाउँपालिका (बुढीगंगा) का मान्छेलाई पनि भोट दिएर जिताएकाले केही विकास हुन्छ कि भन्ने भरोसा छ।’

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको जिम्मामा केन्द्र

कान्तिपुर संवाददाता

हेटौंडा — मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ७ मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ मावि मतदान स्थलका ४, पल्पसा मतदानस्थलका २ र जनज्योति मावि मयूरधाप ‘घ’ केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी पनि महिला मात्र छन्।

सिद्धार्थ मावि केन्द्र ‘क’ मा हेटौंडा सिमेन्टकी अधिकृत सीता गिरी, ‘ख’ मा महिला तथा बालबालिका कार्यालयकी प्रमुख विष्णुकुमारी लामिछाने, ‘ग’ मा उच्च अदालत पाटन हेटौंडा इजलासकी कृष्णशोभा सुवाल र ‘घ’ मा हुलाक कार्यालय प्रमुख सुनीताकुमारी गजुरेल मतदान अधिकृत छन् ।

सकेसम्म दलका प्रतिनिधि पनि महिलालाई नै राख्न दलहरूलाई सुझाएको मतदान अधिकृत लामिछानेले बताइन्। यसैगरी हेटौंडा–२ को मतदानस्थल पल्पसा हलको मतदान केन्द्र ‘क’ मा उच्च अदालत पाटन हेटौंडा इजलासकी सुशीला पाण्डे र ‘ख’ मा जिल्ला वनस्पति कार्यालयकी कार्यालय प्रमुख चन्द्रकला ठाकुर मतदान अधिकृत छन्। जनज्योति मावि मयूरधाप ‘घ’ केन्द्रमा उच्च अदालत पाटन हेटौंडा इजलासकी अञ्जिता सापकोटा मतदान अधिकृत छन् ।

पर्सामा पनि एउटा मतदान केन्द्र पूरै महिलाले सञ्चालन गर्ने भएका छन्। वीरगन्ज–१३ स्थित राधेमाई मतदान केन्द्र महिला कर्मचारीलाई जिम्मा लगाइएको हो। जिल्ला शिक्षा कार्यालयकी स्रोतव्यक्ति मीरा प्रधान मतदान अधिकृत रहेको उक्त केन्द्रमा सहायक मतदान अधिकृतहरू जिल्ला अदालतका कर्मचारीहरू रमा न्यौपाने, मेघा साह, सीता अर्याल सापकोटा, जानकी भट्टराई र देवी पौडेल छन्। मतदान अधिकृत प्रधानले आफूहरूको समूहले मंगलबारबाटै काम गरिरहेको बताइन्।

‘मंगलबारदेखि मतदाता परिचयपत्र वितरण गरिरहेका छौं,’ उनले भनिन्, ‘सर्वदलीय बैठक गर्ने, मतदान केन्द्र बनाउने, आवश्यक सूचनाहरू टाँस्ने काम बुधबार सम्पन्न गरिसकेका छौं।’ ९ सय ३५ मतदाता रहेको उक्त केन्द्रमा सुरक्षाकर्मीसमेत महिला नै खटाइएको प्रधानले जानकारी दिइन्। स्थानीय निर्वाचनमा पनि यो केन्द्र महिलाले नै चलाएका थिए।

यसैबीच मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। जिल्लामा १ सय ६७ मतदानस्थल र ३ सय ५१ मतदान केन्द्र छन्। मतदाता संख्या २ लाख ८९ हजार ५४ छ।

इलाममा पनि इलाम नगरपालिका–४ स्थित रुक्मिणी मतदान केन्द्र महिलाले सञ्चालन गर्दै छन्। गजुरमुखीस्थित महेन्द्रोदय माविकी शिक्षिका सरिता स्याङतान त्यहाँकी मतदान अधिकृत छिन्। उक्त केन्द्रमा खटाइएका आठै कर्मचारी महिला हुन्। ‘महिला मात्र कर्मचारी भएको थाहा पाएर पनि मतदान सञ्चालन गर्ने हिम्मत गरेका छौं,’ स्याङतानले भनिन्, ‘सुरक्षाकर्मी र स्थानीयको सक्रिय सहयोग पाएकाले कठिनाइ नहुनेमा विश्वस्त छौं।’ यसअघि जिल्लाको विकट ठाउँमा पनि मतदान सञ्चालन गर्न गएकाले आफूलाई अप्ठेयारो नभएको उनको अनुभव छ।

यो केन्द्रमा ८ सय २८ मतदाता छन्। केन्द्रलाई नमुना बनाउँदै निर्वाचन सम्पन्न गर्न महिला परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो केन्द्रमा स्याङतानसहित सहायक मतदान अधिकृत विनीता शाह, सहायक कर्मचारीहरू रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरुङ तथा सहयोगी कर्मचारी इन्द्रकला घिमिरे र तारादेवी बस्नेत छन्।

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्