विदेशिने भन्छन्–गाउँमै मजदुरी गर्न पाइयोस्

खगेन्द्र अवस्थी

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका ५ का शंकर धामी बुधबार बैतडीको जुलाघाट नाकाबाट भारत छिर्दै गरेका भेटिए । कात्तिकमा खेतीपाती सकेर कामको खोजीमा भारत जाने धामी यो वर्ष महिना दिन ढिलो गएका हुन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न फर्खेकाले भारत जान ढिला भएको बताउँछन् । ‘गहुँ छरेर कात्तिक अन्तिममा जाने समय हो, भोट दिएर जाने इच्छाले ढिलो भयो,’ उनले भने, ‘निर्वाचनको मुखमा मताधिकार प्रयोग नगरी जान मन लागेन, मन परेको उम्मेदवारलाई मत दिएँ ।’ स्थानीय तहको निर्वाचनका बेला भारतमै हुँदा भोट हाल्ने अवसर गुमेकाले योपटक भोट हाल्न पर्खिएको उनी बताउँछन् । पहिलो चरणको निर्वाचन सकिएपछि प्रतिनिधि र प्रदेशसभा उम्मेदवारलाई भोट दिन पर्खेकाहरू मत परिणाम नआउँदै भारततिर हिँडेका हुन् ।

बैतडी, बझाङ, बाजुरालगायत हुम्ला, मुगु, कालिकोटका सर्वसाधारण जुलाघाट नाकाबाट भारत पस्छन् । दोस्रो चरणको निर्वाचनका लागि तराईका सीमा बन्द भएपछि प्रदेश ६ का उच्च पहाडी जिल्लाबाट भारत जाने बैतडी हुँदै हिँडेका हुन् । यहाँका अधिकांश युवा र बयस्क निर्वाचनअगावै भारत पसेका थिए । पहिलो चरणको निर्वाचन सकिएपछि कामको खोजीमा भारत जानेको संख्या झनै बढेको छ । रोजगारीका लागि भारत गएका कारण मतदान कम भयो । निर्वाचन आयोगले बैतडीमा ९२ हजार मत खस्ने अनुमान गरे पनि ७६ हजार ३ सय ४३ मात्र खसेको छ । 

उनीहरूले आम्दानीको माध्यम नहुँदा भारत जान बाध्य भएको भन्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । आफ्नै ठाउँमा मजदुरी गर्न सहजै नपाइने बनाउँदै १६ वर्षदेखि भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गर्दै आएका पुर्चौडीकै परमल बोहराले बताए । ‘यहाँ काम पाइँदैन, घर चलाउन भारत नगई हुँदैन,’ बोहराले भने, ‘हामीलाई मजदुरी गर्न दिए पनि हुन्थ्यो, भोट दिएका नेताले रोजगारी पाइने काम गरुन् ।’

स्थानीय तह निर्वाचनपछि गाउँमै सिंहदरबारको नारा सुनेका सर्वसाधारणले कुनै सुविधा पाएको अनुभूति नभएको भन्दै बिस्तारै नयाँ निर्वाचित हुने नेताले रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता हटाउने आशा गरेका छन् । 

‘पाखोबारीमा अन्न उत्पादन हुँदैन, मजदुरी नगरी चुलो बल्दैन ।’ बझाङको बित्थडचिर गाउँपालिका ६ का राईभान बोहराले भने, ‘गाउँको चुनावमा जितेकाले अहिलेसम्म केही गरेको देखिएन, आउँदो वर्ष फर्कँदा गाउँमै काम गर्ने अवस्था मिलोस् ।’

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लिखित प्रतिबद्धता माग्दै बाढीपीडित

‘दाताबाट प्राप्त लत्ताकपडामात्र छन्, कसरी जाडो काट्ने ?’
कृष्णप्रसाद गौतम

नेपालगन्ज — देविका जैसीको पाँच जनाको परिवार साढे तीन महिनायता राप्तीसोनारी–२ पाटेचौरस्थित सिद्ध साइकुमारी सामुदायिक वनको जग्गामा टहरो हालेर बसेको छ । बाढीले विस्थापित उनले दलका उम्मेदवारलाई तत्काल स्थायी बास व्यवस्था गरिदिन माग गर्दै आएकी छन् ।

देविका जैसीको पाँच जनाको परिवार साढे तीन महिनायता राप्तीसोनारी–२ पाटेचौरस्थित सिद्ध साइकुमारी सामुदायिक वनको जग्गामा टहरो हालेर बसेको छ । बाढीले विस्थापित उनले दलका उम्मेदवारलाई तत्काल स्थायी बास व्यवस्था गरिदिन माग गर्दैआएकी छन् ।

‘घाँसपातले बारेको टहरामा राति शीत चुहिरहन्छ । रूघाखोकी र ज्वरोले सताइरहेको छ,’ उनले भनिन्, ‘यस्तोमा बालबालिकालाई कसरी जोगाउने ? भोट माग्न आएकालाई यही प्रश्न गरिरहेका छौं ।’ उनीमात्र होइन, सामुदायिक वनमा बस्दै आएका १ सय ३ बाढीपीडित परिवारले दलका प्रतिनिधिसँग तत्काल स्थानान्तरणको माग गरेका छन् ।

पीडितको अस्थायी शिविर रहेको स्थान बाँकेको निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेशसभा ‘क’ मा पर्छ । अधिकांश दलका उम्मेदवार त्यहाँ पुगिसकेका छन् तर सबैले आश्वासनमात्र दिएको उनीहरूले बताए । राप्ती किनारको टिकुलीपुरमा साउन २७ को बाढीले घर भत्काएपछि अस्थायी शिविरमा आएका जाडो लागेसँगै झन् सास्ती भोग्दै छन् । केही गैरसरकारी संघसंस्था र दाताले दिएका लुगाको भरमा गुजारा गर्दै आएका उनीहरू टहरामा हावा र शीतले सताएको बताउँछन् । ‘सबै घर स्याउलाले बारेका छौं,’ हरिभक्त पौडेलले भने, ‘दाताबाट प्राप्त लत्ताकपडामात्र छन्, कसरी जाडो काट्ने ?’

स्थानीयका अनुसार बालबालिका र वृद्धवृद्धामा रूघाखोकी, ज्वरो, निमोनियाँ, दमलगायत समस्या देखिन थालेको छ । सरकारले प्रतिव्यक्ति २ हजार १ सय रुपैयाँ र घर भत्किएकालाई १० हजार राहत दिएबाहेक अरू नपाएको उनीहरू बताउँछन् । स्थानीयका अनुसार यस वर्ष नदीले ठूलो क्षति पुर्‍याएकाले धान उत्पादनसमेत ५० प्रतिशत घटेको छ । विस्थापितका बालबालिका टिकुलीपुरस्थित नेपाल आधारभूत विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।

स्थायी घर नहुँदासम्म आफूहरू बिचल्ली पर्ने मञ्जु विकले बताइन् । उनका अनुसार एक संस्थाले मोटर, ट्यांकी र पाइप दिएपछि खानेपानीको जोहो भने भएको छ । ‘अधिकांश टहरा ठूलो हावा चल्नासाथ ढल्ने खालका छन्, सुत्केरी र बिरामीको बिचल्ली छ,’ विकले भनिन्, ‘२ हजार १ सय रुपैयाँ दिएर गएका सरकारी अधिकारी फेरि आएनन् ।’ त्यति बेला मुखसमेत देखाउन नआएका नेताले अहिले भोट माग्न विभिन्न आश्वासन बाँडिरहेको उनले सुनाइन् । उम्मेदवारले स्थायी बसोबासको लिखित प्रतिबद्धता नजनाए भोट नहाल्ने पीडित लक्ष्मी शाही बताउँछिन् । ‘बाढीअघि पनि नदी किनारमै रहेका हामीलाई नेताले सुरक्षित स्थानमा सार्ने आश्वासन दिएका थिए,’ उनले भनिन्, ‘तर बाढीपछि बेवास्ता गरे, अहिले तिनीहरू नै भोट माग्न आएका छन् ।’

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT