कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी सुरक्षा चुस्त

-एकीकृत सुरक्षा परिचालन -खुला सीमामा संयुक्त गस्ती -निर्धक्क मतदान गर्न आग्रह -विस्फोटमा संलग्न पक्राउ
लक्ष्मी साह, कमल पन्थी

बारा/गुलरिया — जिल्ला सुरक्षा समितिले निष्पक्ष र भयरहित मतदानका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म नेपाली सेनालगायतका सबै सुरक्षा निकाय एकीकृत ढंगले परिचालित भएका छन् ।

चुनावी सुरक्षा चुस्त

जिल्ला सुरक्षा समितिले निष्पक्ष र भयरहित मतदानका लागि सुरक्षा व्यवस्था कडा पारेको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको बारामा मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म नेपाली सेनालगायतका सबै सुरक्षा निकाय एकीकृत ढंगले परिचालित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार सबै ठाउँको मतदानका लागि ४ हजार कर्मचारीसमेत खटिइसकेका छन् । भारतीय नम्बर प्लेटका गाडी, सीमावर्ती क्षेत्रमा जाँच र मदिरा पसलमा कडाइ गरिएको छ । ३ सय ३ मतदानस्थलका ४ सय ७५ मतदान केन्द्रमध्ये १ सय २८ संवेदनशील र ६६ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । बिहीबार हुने मतदानका लागि खुला सिमानामा सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । ३ लाख ४९ हजार ९ सय ४६ मतदाता रहेको जिल्लामा सेनाको टोली गाउँगाउँ पुगिसकेको छ । स्थानीय चुनावमा सुरक्षा जोखम खासै नभए पनि यो पटक चुनौती थपिएको विश्लेषण गरिएको छ ।

जिल्लाको पूर्व–पश्चिम राजमार्गसँगैको जंगल छेउछाउको बस्तीमा सुरक्षा जोखिम छ । त्यस्तै सीमावर्ती गाउँहरूमा सुरक्षा जोखिम बढेकाले सबैतर्फ सेना, सशस्त्र र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी मानन्धरले बताए ।
सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । ‘कलैयालगायत आसपास र भारतीय सिमानासँग जोडिएका ठाउँ संवेदनशील मानिएकाले त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रमुख जिल्ला अधिकारी मानन्धरले भने, ‘सिम्रौनगढ नगरपालिका, कलैया उपमहानगरपालिका, देवताल, पचरौता, फेटा, आदर्शकोतवाल, सुवर्ण, फेटा, प्रसौनी, परवानीपुर, निजगढ, रतनपुरी, सिङगौल, मधुवन, मनहर्वालगायत गाउँपालिकाका मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखेका छौं ।’ निर्वाचनको सम्पूर्ण सुरक्षाका लागि राजनीतिक दल र समकक्षी भारतीय अधिकारीसँग समन्वय गरी भरपर्दो सुरक्षा बन्दोबस्त मिलाइएको एक प्रहरी अधिकृतले बताए । प्रहरीले शान्तिपूर्ण चुनावका लागि फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानसमेत थालेको जनाएको छ ।


खुला सीमा चुनौती
बर्दियासित जोडिएका सीमा नाका सिल गरिए पनि सुरक्षा चुनौती घटेको छैन । सीमा बन्द गरिएको ४२ घण्टा नबित्दै भारतीय नम्बर प्लेटका सवारी साधन मुर्तिहालगायतका नाका हुँदै जिल्ला भित्रिएपछि चुनौती बढेको छ । सीमा क्षेत्रमा घनाजंगल छ । जिल्लाका चित्लहवालगायत चोरी नाकाबाट पनि त्यस्ता सवारी र भारतीय नागरिक भित्रिएपछि स्थानीय प्रशासनले सुरक्षा कडाइका लागि निर्देशन दिएको जनाएको छ । जंगल भएका खुला सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति न्यून छ । मुख्य नाकामा कडाइ गरिए पनि अन्य चोरी नाकामा सुरक्षाकर्मीको उपस्थिति नहु‘दा सहजै आउजाउ हुने गरेको छ ।
खुला नाकाको दुरुपयोग नहोस् भन्दै बर्दिया प्रहरीले भारतीय सुरक्षा बल (एसएसबी) लाई थप कडाइ गर्न आग्रह गरेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए । ‘सीमामा अफवाह बढी हुन्छ । भारतीय सवारी साधन प्रवेश भएका छैनन्,’ उनले भने, ‘संवेदनशील क्षेत्रमा सादा पोसाकका प्रहरी तैनाथ गरिएको छ ।’ दुई सातायता दुवै मुलुकका सुरक्षाकर्मीले संयुक्त गस्ती पनि थालेका छन् । एसएसबी र नेपाल प्रहरीको टोली भारतसँग जोडिएको ८७ किमि सीमामा नियमित गस्ती गरिरहेको भारत मुर्तिहास्थित एसएसबीका कम्पनी कमान्डर डीएसपी मिठुन सरकारले बताए ।


निर्धक्क हुन आग्रह
निर्वाचन सुरक्षाका दृष्टिले संवेदनशील जिल्लाको सूचीमा रहेको रूपन्देहीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । खुला सीमा, सीके राउतको प्रभाव, निर्वाचनविरोधी समूहका गतिविधि र तीव्र राजनीतिक प्रतिस्पर्धाका कारण जिल्ला संवेदनशील सूचीमा परेको हो ।
विशेष सुरक्षा संयन्त्र अपनाएर सुरक्षा मजबुत बनाएको र मतदातालाई निर्धक्क मतदान गर्न आउने वातावरण तयार गरेको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले बताए । करिब ६० किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको रूपन्देहीमा सीमापारिबाट हुन सक्ने घुसपैठ रोक्न नाका बन्द गरिएको छ । जिल्लाको मुख्य नाका बेलहियासहित सहायक ६ वटा नाका सिल गरिएको हो । सबै नाकामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
‘नेपालतर्फको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्,’ प्रमुख जिल्ला अधिकारी मैनालीले भने, ‘भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी खटाएको छ ।’ साताअघि दुवै देशका सुरक्षा प्रमुखको बैठकले निर्वाचनका बेला सुरक्षा चुस्त पार्ने सहमति गरेका थिए । जिल्लाका ७५ मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । ४२ संवेदनशील छन् । ती स्थलमा थप सुरक्षा व्यवस्था मिलाएको प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले बताए । निर्वाचन बिथोल्न लागेको आरोपमा अहिलेसम्म १४ जना पक्राउ परेका छन् ।


घरमा बम
प्यूठान नगरपालिका ४ जुम्रीस्थित माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा समानुपातिक उम्मेदवार राधा अधिकारीको घर अगाडि बम फेला परेको छ । सेनाले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक गोबद्र्धन थापाले बताए । यसरी बम राख्नु गैरमानवीय व्यवहार भएको राधाका पति प्रभात केसीले बताए ।


विस्फोटमा संलग्न पक्राउ
धनुषा प्रहरीले बम विस्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । मंसिर ९ गते राति साढे ८ बजे जनकपुरको रंगभूमि मैदान बाह्र बिगाहामा प्रेसरकुकर बम विस्फोट गराउने धनुषाधाम ५ का ५३ वर्षीय रहमद राइनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । पक्राउ परेका राइनलाई बुधबार जिल्ला अदालत धनुषाबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोको निवासलाई केन्द्रित गर्दै गराइएको विस्फोटमा संलग्न रहेको आरोपमा राइनलाई पक्राउ गरिएको हो । विस्फोटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनायो । बिहीबार हुने निर्वाचनका लागि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
१५ हजार सुरक्षाकर्मी परिचालन
प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणमा मतदान हुने प्रदेश ७ का ५ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । शान्तिपूर्ण ढंगले मतदान सम्पन्न गराउन सुरक्षा तयारी मजबुत पारिएको हो । मतदातालाई ढुक्कसँग मतदान गर्न प्रदेश ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले आग्रह गरेका छन् ।
दोस्रो चरणमा प्रदेश ७ का कैलाली र कञ्चनपुरसँगै डडेलधुरा, डोटी र अछाममा मतदान हुँदैछ । ५ वटै जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘छिटफुट घटनाले तर्साउन खोजिएको हो,’ एआईजी नेपालले भने, ‘ढुक्क भएर मतदान गर्नुस्, कतै केही डरत्रास छैन ।’ उनले कैलाली र कञ्चनपुरबाट मात्रै नेकपाका ६ कार्यकर्तालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
बुधबार सुरक्षा निकायका प्रदेश प्रमुखद्वारा संवेदनशील मानिएका मतदानस्थलको निरीक्षण गरिएको उनले बताए । नेपालका अनुसार अछामको रामारोशन र कमलबजार, डोटीको बोक्टान तथा कैलालीको टीकापुरसँगै पहाडी क्षेत्रमा रहेका सुगरखाल र पन्डौनका मतदानस्थलको निरीक्षण गरिएको छ ।
कञ्चनपुरबाहेकका जिल्लामा ५५ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको एआईजी नेपालले बताए । उनका अनुसार डोटीमा २५, अछाममा १३, डडेलधुरामा १२ र कैलालीमा ५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।
५ जिल्लामा मतदान सुरक्षाका लागि १५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । ‘यसका साथै मतदानको दिन हेलिकप्टर र पैदल गस्तीसमेत गरिनेछ,’ उनले भने, ‘संवेदनशील मतदानस्थल नजिक थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिनेछ ।’
कैलाली र कञ्चनपुरसँग जोडिएका सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मुख्य नाकाहरू सिल गरेर यात्रु आउजाउमा रोक लगाइएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?