‘कांग्रेससँग सहकार्य हुन्छ’

चितवन — माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच एकीकरणपछि पनि कांग्रेससँग सहकार्य हुने बताएका छन् । चितवन ३ का उम्मेदवार दाहालले बिहीबार आफ्नै गाउँ भरतपुर १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा मतदान गर्दै यस्तो बताएका हुन् ।

‘कांग्रेससँग सहकार्य हुन्छ’

‘पार्टी एकीकरण गर्ने संकल्पसहित वाम गठबन्धन बनेको हो,’ उनले भने, ‘पार्टी एकता हुन्छ, जनताको अघि प्रतिबद्धता गरिसकेका छौं, यो राष्ट्र र जनताको पक्षमा छ, कसैप्रति लक्षित छैन ।’ कांग्रेसप्रति नरम बन्दै उनले कांग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि आउनुपर्ने र विभाजित भएकाहरू एक हुनुपर्ने बताए ।

‘कांग्रेसका नेताहरूसँग म अहिले पनि निरन्तर संवादमै हुन्छु,’ उनले भने, ‘बुधबार मात्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग मेरो कुराकानी भएको थियो ।’ उनले राष्ट्र बनाउन सबै मिलेर जानुपर्ने बताए । ‘विचारको आधारमा कांग्रेस पनि बलियो होस्, कम्युनिस्ट पार्टी पनि बलियो होस्,’ उनले भने, ‘बलिया पार्टी र एकताबद्ध पार्टीले मात्र देशको हित हुन्छ ।’ उनले आफ्नै वडामा मतदान गर्न पाउँदा हर्षित भएको बताए । 
समृद्धिको पहिलो आधार राजनीतिक स्थायित्व भएको बताउँदै उनले नेपालको इतिहासमा कहिल्यै पनि सरकार ५ वर्ष टिक्न नसकेर विकास निर्माणले गति लिन नसकेको औंल्याए । ‘जसको भए पनि गठबन्धनको बहुमत आउनुपर्छ भन्ने हो, यो पटक वामपन्थीकै आउँछ,’ उनले भने । दाहालले प्रत्येक मतदाताले मतदानलाई उत्सवमय बनाएको बताए । ‘संघीयता कार्यान्वयनमा गइसक्यो, हामी अघि बढिसक्यौं’, उनले भने ।

दाहाल पत्नी सीताले छोरी गंगा दाहालको सहयोगमा शान्तिपुर मतदान केन्द्रबाटै मतदान गरिन् । त्यस्तै वनमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर २७ स्थित जानकी माविबाट मतदान गरेका छन् । क्षेत्र नम्बर २ मा कांग्रेसबाट उम्मेदवार रहेका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सहिद स्मृति बहुमुखी क्याम्पसबाट मतदान गरे । उता पूर्वअर्थमन्त्री एवं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले भण्डारास्थित हेल्थपोस्ट भवनमा मतदान गरेका छन् ।

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?