रामेछापमा सबै वाम

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको प्रतिनिधि सभा १ र प्रदेशसभाका २ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।

रामेछापमा सबै वाम

आइतबार बिहान सकिएको मतगणनाको नतिजा अनुसार वाम गठबन्धनबाट उम्मेदवार वनेका माओवादी नेता एवं विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ४२ हजार १ सय १६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम) ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेशसभा क मा वामगठबन्धनबाट उम्मेदवार भएका एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल २२ हजार ३  सय ६९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका रत्नबहादुर कार्कीले १६ हजार ५८ मत प्राप्त गरेका थिए । प्रदेशसभा ख मा पनि एमालेका कैलाशप्रसाद ढुंगेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीतबहादुर थापामगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।  

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ माओवादीले सञ्चालन गरेको भूमिगत युद्धमा सामेल थिए । भूमिगत अवधिमा पार्टीको विभिन्न पदमा रहेर कार्य गरेका उनी २०७० सालको संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । प्रदेशसभामा निर्वाचित पौडेल पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका र ढुंगेल यसअघि ३ वटा निर्वाचनमा पराजय भोगेका नेता हुन् । 

विजयपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले निर्वाचनमा जादा जनतासँग गरिएका बाचा र प्रतिवद्धता पुरा गर्न जिम्मेवार भूमिका निर्वाह गर्ने बताए । संविधानको कार्यान्वयन गर्दै देशमा व्याप्त अस्थिरता र अराजकतालाइ अन्त्य गर्ने प्रतिवद्धता समेत जनाएका छन् । युद्धकालमा भएका दोरम्बा, देउराली र चुचुरे घटनामा साहदात भएका सहिदहरुलाई सम्झदै श्रेष्ठले भने, 'सहिदले देखाएको बाटोमा हिँड्दै आर्थिक सामाजिक मुद्दाहरुको समाधान गर्नका लागि अव अघि बढ्छु ।'
 
प्रदेशसभा क मा विजयी शान्तिप्रसाद पौडेलले निर्वाचनको बेला जनतासँग गरेको बाचा पुरा गर्ने बताएका छन् । उनले पुष्पलालको बलिदान सम्झेर जनताको साथ र सहयोगमा जिल्लाका विकास निर्माणको काम गर्ने वचन दिए । कानून निर्माणदेखि राज्यको स्रोतलाई पारदर्शी रुपमा परिचालन गरी नागरिकसँग हातेमालो गर्दै काम गर्ने उनले प्रतिवद्धता गरे । 

यसैगरी प्रदेशसभा ख बाट निर्वाचित कैलाशप्रसाद ढुंगेलले ५ वर्ष भित्र जिल्लामा कालोपत्रे सडक, आधुनिक अस्पताल र प्राविधिक शिक्षालयको व्यवस्थापन गर्नका लागि जनताले भारी बोकेको उल्लेख गरे ।

प्रकाशित : मंसिर २४, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?